
झापा / पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग सम्बन्ध सुधार गरेका केपी शर्मा ओलीको गृह जिल्लामा चीनले लगानी गर्न थालेको छ ।
नाकाबन्दीका बेला ओलीले भारतको विकल्प चीन हुन सक्ने बताएसँगै उनकै गृह जिल्लामा चीनले लगानीमा बढी चासो दिएको हो । नदी नियन्त्रणदेखि औद्योगिक क्षेत्रसँगै विश्वकै अग्लो मूर्ति पनि चीनकै लगानीमा झापामा बन्दै छ ।
विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने गरेका ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन् । त्यसमाथि उनकै गृह नगर दमकमा भने योजनाका चाड्ग छन् । ओलीकै अग्रसरतामा निर्माण गरिएका योजनामा चिनियाँ लगानी हुने छ । त्यसमध्ये दमकमा बन्ने चाइना नेपाल औद्योगिक क्षेत्रका लागि ६४ अर्ब लगानी समेत स्वीकृत गरिएको छ । नेपाली पक्षले चीनियाँ राष्ट्रपति सिजीङ्ग पीङ्गको आसन्न भ्रमणका बेला शिलान्यास गराउने तयारी गरेको छ । यसको पुष्टि औद्योगिक पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले समेत गरेका छन् । थापाका अनुसार पीङ्ग औद्योगिक क्षेत्र शिलान्यासमा आउन उत्साहित छन् । ‘नेपाली पक्षले तयारी पुर्याउन सके चीनका राष्ट्रपतिको भ्रमण हुन सक्ने छ’ थापाले भने–‘यसमा सरकारको भूमिका बढी रहने छ ।’
दमक, कमल गाउँपालिका र गौरादह नगरपालिकामा २ हजार २ सय बिगाहमा बन्ने औद्योगिक क्षेत्र सबै चिनियाँ लगानीमा बन्न लागेको उनले बताए । यसका लागि दोस्रो जग्गाको मुआब्जा वितरणका लागि काम सुरु हुने चरणमा छ । यस्तै, दमकको उत्तरी क्षेत्रमा निर्माण हुने भनिएको विश्वको सबैभन्दा अग्लो बुद्धको मूर्ति र बौद्ध विश्वविद्यालयमा पनि चिनियाँ लगानी रहने छ । तर, यसमा भने चीनसँगै दक्षिण कोरिया, म्यानमार, भियतनामजस्ता मुलुकको पनि लगानी रहने छ । ओलीले अघिल्लो वर्ष चीन भ्रमणका क्रममा गरेको समझदारी अनुरुप झापाका सबै नदीको तटबन्ध चिनियाँ सरकारले गरिदिने भएको छ । त्यसका लागि चिनियाँ प्राविधिकसहितको टोलीले अनुगमन प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाएको छ । झापाका ९ वटा नदीको तटबन्धको काम यसै वर्षबाट चीनले गरिदिँदै छ ।
दमक बहुमुखी क्याम्पसका पूर्व प्रमुख उत्तम भट्टराईले विगतका निर्वाचनका क्रममा ओलीले पहुँच भएर पनि काम गर्न नसकेको भनेर गरिएको आलोचना यसपटक भने पुरा गरेको उल्लेख गरे । ‘दमकवासीले कहिले कल्पना नगरेको दक्षिण एसियाकै ठूलो औद्योगिक क्षेत्र दमकमा बन्दै छ’ भट्टराईले भने–‘अब ओलीले पूर्वाधार मात्रै नभएर समग्र मुलुकको दु्रत विकासमा केन्द्रीत हुनुपर्छ ।’ उनले प्रधानमन्त्री ओलीले भारतसँग मात्रै निर्भर रहने विगतका परम्परालाई तोड्दै चीनसँग सम्बन्ध विस्तार गरेको उल्लेख गरे । ‘भारतले नाकाबन्दी लगायो, चीनले इन्धन दियो’ भट्टराईले भने–‘अब चीनले ओलीकै गृह क्षेत्रको विकासमा चासो राख्नु स्वभाविक पनि हो ।’
ओलीकै पहलमा निर्माण हुने औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण सकेर मुआब्जा वितरणको काम धमाधम भइरहेको छ । पार्क बनाउनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दमकमा सम्पर्क कार्यालय राखेर जग्गाधनीलाई भुक्तानी दिइरहेको छ । पार्क बनाउनकै लागि ९ सय ४२ बिगाह जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटका नाममा आइसकेको छ । लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले मुलुकको महत्वपूर्ण मानिएको औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तीको काम सकिए पनि अब मुआब्जाको काम भने बाकीँ रहेको बताए। ‘अब स्थानीयस्तरमा बनेको मूल्यांकन समितिले तोके बमोजिम हामीले भुक्तानी दिएका छौं’ उनले भने–‘कतिपय जग्गाधनी नभेटिएका कारणले समेत काममा समस्या भएको छ ।’
यस्तै, दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्तिको डिपीआर तयार भएको छ । ५ सय ४२ फिट अग्लो बुद्धको मूर्तिका लागि जग्गा अधिग्रहण र प्राप्तीको काम भइरहेको छ । १५ अर्ब ७५ करोडको लागतमा निर्माण हुन लागेको यो परियोजना २ सय ६५ बिगाहमा रहने छ । तर निर्माण स्थलमा सामुदायिक वन भएकाले प्राप्तीमा कठिनाई भइरहेको छ । वन क्षेत्र संघ, प्रदेशको साझा अधिकारका रुपमा संविधानमा ब्याख्या गरिएकाले जग्गा प्राप्तीमा कठिनाई भएको दमक नगरपालिकाले जनाएको छ । ‘साझा अधिकारका रुपमा व्याख्या गरिएकाले यसका लागि संघीय सरकारको निर्णय आवश्यक हुन्छ’ नगरपालिका स्रोतले भन्यो–‘ त्यसकारण यसको प्राविधिक काम भने अझै बाकीँ नै छ ।’
लुम्बिनीसम्म आएका पर्यटकलाई दमकसम्म ल्याउने गरी मूर्तिसँगै बुद्ध विश्वविद्यालय र पाठशाला, ध्यान केन्द्र समेत रहने छन् । नगरपालिकाका अनुसार अब दातासँगको छलफलपछि त्यसको काम अघि बढ्ने छ । तर, वन क्षेत्र भएका कारण जग्गा प्राप्तीमा केही समस्या परेको छ ।
झापाका सबैभन्दा बढी क्षति गर्ने रतुवा, कन्काई, बिरिङ्गसहितका नदीको तटबन्धका लागि चिनियाँ अधिकारी १० दिनसम्म नदीको अध्ययन सकेर फर्किएका छन् । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले चिनियाँ अधिकारीहरुले नदीको अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको बताए । ‘चिनियाँले तत्काल काम सुरु गर्ने तयारी गरेका छन्’ उनले भने–‘ त्यसका लागि प्राविधिक तयारी हुँदै होला ।’ प्राविधिकसहितको टोलीले दमकको मावा नदीबाट निन्दासम्म पुगेर अध्ययन अवलोकन र छलफल गरेको थियो ।
टोलीले झापा भएर बग्ने कन्काई, बिरिङ, कमल, सतासी, रतुवा, मावालगायत नौवटा नदीको प्रारम्भिक सर्वेक्षण गरी तटबन्धनका साथै, खोला नदी कटानको स्थायी समाधान खोज्ने छ । प्रधानमन्त्रीका जनसम्पर्क तथा विकास कार्यक्रम विज्ञ होमबहादुर थापाले चिनियाँ अध्ययन टोलीले नदीहरुको अध्ययन सकेर नेपाल सरकारलाई प्रतिवेदन बुझाएको बताए ।
इलामसँगको सीमा नजिकैदेखि भारतसँगको सीमा नजिकैको महादेवसम्मका ठाउँमा नेपाल र भारतका प्रतिनिधि पुगेर खोलाको अवस्थाको अध्ययन गरेका थिए । चीनस्थित चाइना कम्युनिकेसन कम्पनीका प्रतिनिधिहरूको टोलीले त्यहाँका खोला नदीहरुबाट बर्सेनी हुने क्षतिका बारेमा जानकारी लिएको थियो । नदीहरूको कटान र डुबान समस्या समाधानका लागि आवश्यक तटबन्धन र खोलाका कारण बगरमा परिणत भएको जमिनको सदुपयोगका विषयमा समेत प्रारम्भिक सर्वेक्षण गरेको थियो ।
अध्ययन गरिएका खोलाहरुको दुवैतर्फ ३० देखि ३५ किलोमिटरसम्म स्थायी बाँध निर्माणको लक्ष्य रहेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इञ्जिनियर अरविन्द गुप्ताले बताए । झापाका नदीहरूमा मात्र यस्ता प्रकारको बाँध ५ सय किलोमिटरको हाराहारीमा निर्माण हुनेछन् । झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाले झापाका नदीहरुमा चिनियाँ पक्षले बाँध निर्माण तथा तटबन्धनपछि पाँच हजार बिगाहको हाराहारीमा जमिन उकास हुने बताए । ‘खोलामा तठबन्ध लगाएपछि नदी ट्रयाकमा आउने छ’ उनले भने–‘ अनि बगरमा परिणत भएको पाँच हजार बिगाह जग्गा उकासमा आउने छ ।’janasamsadonline