काठमाडौं– लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
जिम्बावेको जितमा रिचमन्ड मुतुम्बामी २८ बलमा ४ छक्का र १ चौका सहित ४० रनमा अविजित रहे । त्यस्तै रेयान बर्लले ३६ बलमा २ छक्का र ३ चौका सहित ४१ रनमा अविजित रहँदै टोलीको जित पक्का गरे । एक समय १० ओभरमा ६४-५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई छैटौं विकेटका लागि बर्ल र मुतुम्बामीले ६९ रनको अविजित साझेदारी गर्दै जित पक्का गरे ।
लेग स्पिनर सन्दीपले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रेजिस चकवालाई आरिफ शेखबाट शून्यमा क्याच आउट गराए । सन्दीपले तेस्रो ओभरको पहिलो बलमा तिनोटेन्डा मुतोम्बोडजीलाई इशान पाण्डेबाट शून्यमै क्याच गराए । चार बल पछि सन्दीपले आफैं क्याच लिदै कप्तान सन विलियम्सलाई पनि शून्यमा आउट गरे । पाँचौ ओभरको पहिलो बलमा ब्रायन चारीलाई दीपेन्द्रले उत्कृष्ट डाइरेक्ट रन आउट गर्दै १९ रनमा पेभिलिएन फर्काएपछि जितको संभावना देखिएको थियो। त्यस्तै कप्तान पारस खड्काले १० औं ओभरको अन्तिम बलमा टिमिकेन मारुमालाई १२ रनमा बोल्ड आउट गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान पारस खड्काले २ ओभरमा १० रन खर्चेर १ विकेट लिए । पहिलो डेब्यू खेल खेलेका कुशल मल्लले ३ ओभरमा २८ रन खर्चिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन जोडे । कप्तान सन विलियम्सको १७ ओभरको तेस्रो बलमा तेन्दाइ चतराबाट क्याच आउट हुनुअघि दीपेन्द्रले ३३ बलमा ५ चौका प्रहार गरे । तल्लोक्रमका सोमपाल कामीले १४ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । विकेटकीपर विनोद भण्डारी ११ रनमा नट आउट रहे ।
दोस्रो ओभरको अन्तिम बलमा ओपनर इशान पाण्डे ४ रनमा आउट भएका थिए । तेन्दाई चतराको बलमा लामो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि इशानले ८ बलमा १ चौका प्रहार गरे । सातौ ओभरको चौथो बलमा आरिफ शेख ११ बलमा १ चौका सहित ८ रनमा क्याच आउट हुन पुगे । आठौं ओभरको तेस्रो बलमा रयान बुर्लको बलमा कप्तान पारस खड्का गलत सट खेल्दै १८ रनमा क्याच आउट भए । पारसले २२ बलमा ३ चौका प्रहार गरे ।
त्यस्तै डेब्यू खेल खेलेका युवा अलराउन्डर कुशल मल्ल २ रनमा आउट भए । नेभिल मड्जिवको १६ औं ओभरको दोस्रो बलमा ठूलो सटको धुनमा सन्दीप जोरा १७ रनमा क्याच आउट भए । जिम्बावेका लागि कप्तान सन विलियम्सले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । वेलिंगटन मसाकाड्जा,नेभिल मड्जिव,तेन्दाइ चतरा र रयान बर्लको १-१ विकेट रह्यो । नेपालले शनिवार सिंगापुरसँग खेल्नेछ ।(हाम्रो खेलकुद)