
काठमाडौं – साविकको उपविजेता बंगलादेश साफ यू-१८ च्याम्पियन्सिपको फाइनलमा प्रवेश गर्ने टोली बनेको छ ।
शुक्रबार हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा भुटानमाथि ४-० को फराकिलो जित दर्ता गर्दै बंगलादेशले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । सुरुवाती मिनेटमा भुटानले केहि दवाव कायम गरेपनि बंगलादेशले त्यसपछि लगातार गोल गरेको थियो । पहिलो हाफमा नै ३-० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको हो ।
बंगलादेशका लागि पहिलो हाफमा मोहमद मराज होसेन, फयसल अहमद र तनवीर होसेनले गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा वैकल्पिक खेलाडी दीपक रोयले गोल गर्दै जित पक्का गरे ।
बंगलादेशले अब दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारत र माल्दिभ्स आज ३ बजे खेल्नेछन् । फाइनल आइतबार हुनेछ । नेपाल भने प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको थियो । भुटानसँग ३-० को हार र माल्दिभ्ससँग १-१ को बराबरीमा रोकिएपछि प्रशिक्षक चेतनारायण श्रेष्ठले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिइसकेका छन् ।