कृषि र किसान

स्वदेश फर्किए पछि सामुहिक फुलखेती

दमौली । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गर्नुभएको हो । उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गर्नुभएको छ ।

पहिलो चरणमा छ रोपनी जग्गा भाडामा लिएर फूलखेती थालिएको सूर्यकुमार श्रेष्ठले बताउनुभयो । “विदेशबाट फर्किएर के गर्ने भन्नेमा दोधारमा थियांै, सबै साथीको सल्लाहपछि फूलखेती थालेका हौँ,” उहाँले भन्नुभयो ।

वडा कार्यालयमार्फत चार दिनको फूल खेतीसम्बन्धी तालीम लिएपछि काम गर्ने हौसला मिलेको उहाँको भनाइ छ । आउँदै गरेको तिहारलाई लक्षित गरी फूल लगाइएको श्रेष्ठले बताउनुभयो । नेपालमा फूल पर्याप्त नहुँदा भारतबाट वर्षेनी फूल आयात गर्नुपर्ने बाध्यता रहेकोले शुक्लागण्डकी नगरपालिकालाई फूलमा आत्मनिर्भर बनाउन फूलखेती गरिएको उज्ज्वल श्रेष्ठले जानकारी दिनुभयो ।

“नगरपालिकामा बाहिरबाट फूल ल्याउन नपरोस् भनेर फूलखेती गरेका हौँ,” उहाँले भन्नुभयो, “विस्तारै क्षेत्रफल वृद्धि गरेर ठूलो मात्रामा खेती गर्ने लक्ष्य राखेका छौं ।” सामूहिक फूलखेतीमा लाग्नुभएका महेन्द्र श्रेष्ठले विदेशको दुःखभन्दा स्वदेशमै केही गर्नुपर्छ भनेर फूलखेतीमा आवद्ध भएको बताउनुभयो ।

युवा गाउँमा बेरोजगार भयौं भनेर त्यसै बस्नुभन्दा व्यावसायिक रुपमा केही काम गर्न सके देशमै आत्मनिर्भर बन्न सकिने उहाँको भनाइ छ । पहिलो चरणमा तिहारलाई लक्षित गरी रु एक लाखको लगानीमा फूलखेती शुरु गरिएको र अहिलेको नाफाले अझै धेरै जग्गा भाडामा लिएर फूलखेतीलाई अझ विस्तार गर्ने सोचाई रहेको उहाँले जानकारी दिनुभयो ।

चितवनबाट रु ६० हजारमा पाँच हजार सयपत्री फूलको बिरुवा ल्याएर रोपिएको छ । “अर्को वर्षदेखि आफै बिरुवा उत्पादन गर्ने योजना बनाएका छौं,” उहाँले भन्नुभयो । शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले विदेशबाट फर्किएर स्वदेशमै आत्मनिर्भर बन्न थालेको व्यवसायलाई वडाको तर्फबाट पनि सहयोग रहने बताउनुभयो । “फूलखेतीले नगरपालिकालाई आत्मनिर्भर बनाउन सकियो भने वर्षेनी ठूलो मात्रामा फूल ल्याउनुपर्ने बाध्यता अन्त्य हुन्छ,” रेग्मीले भन्नुभयो ।कृषि पत्रिका अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button