विचार

पुँजी सञ्चयले सर्वहारालाई दरिद्रतामा धकेलिदिन्छ

– अनुवाद : भेषराज भुसाल

धनी र गरिबका बीचको ध्रुवीकरण पुँजी सञ्चयको सामान्य नियम हो ।

पुँजी सञ्चयका पुँजीपति वर्ग र सर्वहारा वर्गका निम्ति सर्वथा भिन्न परिणाम हुने गर्दछन् । बुर्जुवा वर्गका निम्ति पुँजी सञ्चयको प्रक्रिया पुँजीको वृद्धि र केन्द्रीकरण तथा उसको सम्पत्तिको विस्तारको प्रक्रिया हुने गर्दछ । सर्वहारा वर्गका निम्ति पुँजी सञ्चयको प्रक्रिया एउटा यस्तो प्रक्रिया हो जसमा ‘मेसिनहरूले मजदुरहरूलाई विस्थापित गरिदिन्छन् ।’ एउटा यस्तो प्रक्रिया जसमा बेरोजगारहरूको लाम बढ्दै जान्छ । मजदुरहरूको शोषण बढ्दै जान्छ र पूरै मजदुर वर्गको जीवनदशाहरू दिनप्रतिदिन खराबभन्दा खराब हुँदै जान्छ । पुँजीवादी समाजमा पुँजी सञ्चयका क्रममा अमीर र गरिबका बीचमा ध्रुवीकरण कसैको इच्छाले रोक्न सक्दैन । समाजको एउटा किनारामा सम्पत्ति सञ्चय हुने गर्दछ भने अर्को किनारामा ‘गरिबी सञ्चय’ माक्र्सले भन्नुभएको छ, ‘यो पुँजी सञ्चयको निरपेक्ष र सामान्य नियम हो ।’७

माक्र्सद्वारा त्यस नियमबाट पर्दा हटाइदिनु अत्यन्त महत्वपूर्ण छ । यसले हामीलाई बनाउँछ सर्वहारा वर्गका दशाहरू र जीवनदशाहरू पुँजीवादी उत्पादन सम्बन्धहरूबाट निर्धारित हुने गर्दछन् । पुँजीवादी व्यवस्थामा उत्पादनको विकास सर्वहारा वर्गलाई गरिबीको कारण बन्न जान्छ ।

राष्ट्रिय आयाम सर्वहारा वर्गको हिस्सा लगातार घट्दै जानु सापेक्षिक गरिबीको कारण बन्दछ ।

राष्ट्रिय आय एक वर्षमा पूरै समाजको नयाँ सिर्जित मूल्यको कुल योग हुने गर्दछ । पुँजीवादी समाजमा राष्ट्रिय आय पहिले दुई भागमा बाँड्ने गरिन्छ– एक भाग मजदुरहरूको ज्यालामा जाने गर्दछ र अर्को भाग जुन अतिरिक्त मूल्यका रूपमा पुँजीपतिले लुट्ने गर्दछन् । पुँजीवादी विकासका क्रममा मजदुरहरू र पुँजीपतिहरूमा जाने आयका हिस्साहरूमा के हुने गर्छ ?

राष्ट्रिय आय पूर्ण रूपमा मजदुरद्वारा उत्पादन गरिन्छ र विस्तारित पुनरुत्पादनको प्रक्रियामा लगातार बढिरहन्छ । पुँजीवादमा घटिरहन्छ र पुँजीपति वर्गलाई जाने अतिरिक्त मूल्यको हिस्सा बढिरहन्छ । यस्तो परिघटनालाई सर्वहारा वर्गको सापेक्षिक दरिद्रीकरण भनिन्छ । अमेरिकी सरकारद्वारा जारी आँकडाहरूका अनुसार राष्ट्रिय आयमा अमेरिकी मजदुरहरूको ज्यालाको हिस्सा १८४३ मा ४५.८ प्रतिशत थियो । १८६६ मा ४३.५ प्रतिशत, १८९१ मा ४२.७ प्रतिशत, १९३८ मा ३७ प्रतिशत, १९४५ मा ३३.३ प्रतिशत र १९५६ मा २९.७ प्रतिशत थियो ।

उपरोक्त तथ्याङ्कबाट हामी देख्न सक्छौँ– लगातार घट्दै गयो जब कि पुँजीपति वर्गले हड्पिएको सम्पत्ति लगातार बढ्दै गयो । श्रमदशाहरू र जीवनदशाहरूमा निरन्तर ओरालो लाग्नाले सर्वहारा वर्गलाई पूर्ण दरिद्रीकरणमा धकेलिदन्छ ।

पुँजीवादी समाजमा सर्वहाराको सापेक्षित दरिद्रीकरण मात्र होइन, पूर्ण दरिद्रीकरण पनि हुने गर्दछ । जस्तो कि लेनिनले भन्नुभएको थियो, ‘मजदुरहरूको पूर्ण दरिद्रीकरण हुन जान्छ अर्थात् उनीहरू गरिबभन्दा गरिब हुँदै जान्छन् । उनीहरूको जीवन अझै दुःखदायी हुँदै जान्छ । उनीहरूको भोजन अत्यन्त खराब हुँदै जान्छ । पेटभर पनि हुँदैन र उनीहरू छाप्रामा र झोपडीका साना कोठाहरूमा भेडाबाख्राजस्तै रहनु पर्दछ ।’८

सर्वहाराका पूर्ण दरिद्रीकरणका प्रमुख अभिव्यक्तिहरू यसप्रकार छन् :

पहिलो, ठूलो सङ्ख्यामा बेरोजगार मजदुरहरूको उपस्थिति । पुँजीवादी समाजमा मजदुरहरूका अगाडि बेरोजगारीको खतरा सदैव रहिरहन्छ। बेरोजगार हुनेबित्तिकै उनीहरूको आयस्रोत हराउने गर्दछ । उनीहरूको जीवनयापन एउटा गम्भीर समस्या बन्न पुग्छ । यो सर्वहाराको भौतिक जीवनदशाहरूमा ओरालो लाग्नुको एउटा महत्वपूर्ण सङ्केत हो । अमेरिकामा १९४५ मा बेरोजगारहरूको सङ्ख्या ११ लाख थियो । १९५५ मा २६.५४ लाख, १९६८ मा २८ लाख र १९७१ मा बढेर ५० लाख हुन गयो । इङ्ग्ल्यान्डमा पनि बेरोजगारहरूको अवस्था अत्यन्त गम्भीर थियो । बेरोजगार मजदुरहरूको सङ्ख्या १९५२ मा ५ लाख थियो जुन फरवरी, १९७२ मा बढेर १६ लाखभन्दा धेरै भइसकेको थियो ।

दोस्रो, वास्तविक ज्यालामा ओरालो लाग्नु । कुनै पनि पुँजीवादी देशमा रोजगार मजदुरहरूको हालत पनि योभन्दा राम्रो हुँदैनथ्यो । मजदुरहरूको ज्याला प्रायः श्रमशक्तिको मूल्यभन्दा धेरै हुने गर्दछ जसबाट मजदुरहरूको निम्ति जीवनयापनको सामान्य स्तर बनाइराख्न कठिन हुने गर्दछ । कहिलेकहीँ पुँजीपतिसँग सङ्घर्ष गरेर साङ्केतिक ज्यालामा थोरै वृद्धि हुन सक्थ्यो परन्तु पुँजीवादी देशहरूमा हुने व्यापक मुद्रा अपचलनका कारण मुद्राका रूपमा ज्यालामा वृद्धि प्रायः दामहरूमा भएको वृद्धिभन्दा पछाडि नै रहन्थ्यो । अन्ततः वास्तविक ज्यालामा त केवल कुनै वृद्धि हुँदैनथ्यो बरु प्रायः यो पहिलेभन्दा पनि थोरै हुन जान्थ्यो ।

उदाहरणका निम्ति अमेरिकी सरकारका तथ्याङ्कअनुसार डिसेम्बर १९६९ देखि डिसेम्बर १९७० का बीचमा मेन्युफेक्चरिङ मजदुरहरूको ज्याला २.६ प्रतिशतले बढ्यो । त्यसै अवधिमा उपरोक्त मूल्य सूचकाङ्कमा ५.५ प्रतिशतले वृद्धि भयो । यसतरह मेन्युफेक्चरिङ मजदुरहरूको वास्तविक ज्यालामा २.९० प्रतिशतले कम हुन गयो । यसका अतिरिक्त पुँजीवादी देशहरूमा लाग्ने थुप्रै करहरूद्वारा श्रमजीवी जनताको आयको राम्रो हिस्सा लैजाने गर्दथे । अमेरिकी सरकारको आँकडाअनुसार १९४० देखि १९७० का बीचका ३० वर्षहरूमा करहरूको मात्रा १६ गुणाले बढ्न गयो । १९४० मा अमेरिकामा कुल निजी ऋण (घर धितो राख्ने र उपभोक्ता ऋणसमेत) १९७.८ अर्ब डलर थियो अर्थात् प्रतिव्यक्ति औसत १,१३३ डलर । यो १९७० को अन्त्यसम्म बढेर ५७७.९ अर्ब डलर अर्थात् प्रतिव्यक्ति औसत २,८३२ डलर हुन गयो । १९७० मा ऋण र ब्याजको भुक्तानमा अमेरिकी जनताको वार्षिक आयको लगभग २२.३ प्रतिशत जाने गर्दथ्यो । कर, ऋण र ब्याजको भुक्तानमा अमेरिकी जनताको वार्षिक आयको लगभग आधा हिस्सा जाने गर्दथ्यो ।

तेस्रो, खराब जीवनदशाहरू । वास्तविक ज्याला थोरै हुनुका कारण पुँजीवादी देशहरूका मजदुरको खराब जीवनदशाहरूमा गुजारा गर्नु पर्दथ्यो । खासगरी आवासीय परिस्थितिहरू अत्यन्त खराब हुने गर्दछन् । पुँजीवादी समाजमा उत्पादनका अराजक अवस्थाहरू र औद्योगिक उत्पादन तथा जनसङ्ख्याको अन्धाधुन्द संकेन्द्रण हुनाले केही सहरको आकार निरन्तर बढ्दै जान्छ र मजदुरहरूको अवस्था खराब हुन जान्छ। माक्र्सले भन्नुभएको थियो, ‘कुनै औद्योगिक सहर वा व्यापारिक सहरमा पुँजी सञ्चयको दर जति तीव्र हुन्छ शोषणका निम्ति उपलब्ध मानव सामग्री त्यति नै तीव्रतासँग खिचिने गर्दछ र त्यसका रिहाइसका निम्ति उपलब्ध अस्थायी स्थितिहरू त्यति नै खराब हुने गर्दछन् ।’९ माक्र्स र एङ्गेल्सले आफ्ना कृतिहरूमा पुँजीवादी समाजमा मजदुरहरूको आवासीय स्थितिमा ओरालो लाग्नेबारेमा कैयौँ स्थानमा टिप्पणी गर्नुभएको छ र लन्डनजस्ता ठूला सहरका छाप्रा– कटेरा बस्तीहरूको हदै खराब अवस्थाको विवरण दिनुभएको छ । आज पनि पुँजीवादी देशहरूका ठूला सहरहरूमा फोहोर बस्तीहरूको सङ्ख्या बढिरहेको छ । अमेरिकाको सबभन्दा ठूलो सहर न्युयोर्कमा १९५० मा १६.६४ लाख मानिस फोहोर बस्तीहरूमा रहन्थे । १९५७ मा यो सङ्ख्या २५.७२ लाख पुगेको थियो । १९५९ मा अमेरिकाको कुल जनसङ्ख्या करिब १८ करोड थियो जसमध्ये २.२ करोड मानिस सहरहरूका फोहोर बस्तीहरूमा र गरिब ४.४० करोड मानिस त्यस्ता घरहरूमा बस्ने गर्दथे जसको हालत अत्यन्त नाजुक थियो ।

कारखानाहरूबाट निक्लिएका बिसैला ग्याँसहरू, कुडाकचरा र प्रदूषित पानीले मजदुरहरूको आवासीय अवस्थालाई खराबभन्दा खराब बनाइदिन्थे र उनीहरूको स्वास्थ्यलाई नराम्रो प्रभाव पर्न जान्थ्यो । उद्योगहरू जति नै विकसित हुने गर्दछन् त्यति नै सहरी प्रदूषण बढ्ने गर्दछ । धनी पुँजीपतिहरू श्रमजीवी जनसङ्ख्यालाई सहरहरूमा कष्ट झेल्नका लागि छाडेर सहरहरूको बाहिरी सिमानामा हरियालीबाट घेरिएका महलहरूमा बस्न सक्थे ।

पुँजीवादी देशहरूका केही ठूला सहरहरूमा जहाँ वायु प्रदूषणको समस्या गम्भीर छ, प्रत्येक सहरबासी सासका साथ धेरै मात्रामा बिसैला ग्याँसहरूभित्र लिने गर्दछ । यी सहरहरूमा श्वासप्रश्वाससम्बन्धी अन्य रोगहरूबाट पीडित मासिनहरूको सङ्ख्या अत्यन्त धेरै छ र त्यसबाट मर्नेहरूको सङ्ख्या पनि त्यति नै धेरै छ । युरोप, अमेरिका र जापानमा यसप्रकारको समस्याका कारण कामबाट हटाइने मजदुरहरूको सङ्ख्या बढिरहेको छ ।

अमेरिकामा जहाँसम्म चिकित्सा सुविधाहरूको प्रश्न छ, ‘अस्पतालहरूको कारक पूरै खुलेका हुन्छन् तर ती बिरामीहरूका निम्ति होइन जसले त्यसको शुल्क बुझाउन सक्दैनथे ।’ एकपल्टका निम्ति दर्ताशुल्क मध्यम आय भएका मजदुरहरूको एक दिनको ज्यालाको एक तिहाइबराबर हुने गर्दछ । अपेन्डिसाइटिसको शल्यक्रियाको शुल्क दुई महिनाको ज्यालाभन्दा पनि धेरै हुने गर्दछ । एउटा साधारण मजदुरको परिवारलाई प्रसूतिको शुल्क जुटाउनका निम्ति कैयौँ महिना पहिलेदेखि बचत गर्नुपर्दछ । १९६५ देखि १९७२ सम्म अस्पतालहरूको शुल्कमा औसत १९.३ प्रतिशतले वार्षिक दरले बढ्यो । अधिकांश मजदुर बिरामी भए पनि काम गरिरहन्थे किनकि उनीहरूले डाक्टरलाई देखाउने खर्च बहन गर्न सक्दैनथे र असमायिक नै मर्ने गर्दथे ।

चौथो, अत्यधिक साधनश्रम र अत्यन्त तल्लो स्तरका कार्यदशाहरू । उद्योगहरूमा प्रेषितीकरण र स्वचालितको विकासका साथै न केवल मजदुर मेसिनहरूका साथ जोडिएका कलपुर्जाहरूमा बदलिइरहन्थे र श्रमसघनता पनि अत्यधिक बढेको थियो । एउटा अमेरिकी अटोमोबाइल मजदुरका शब्दमा ‘प्राचीन युनान र रोमन साम्राज्यमा अभागी नाविक पनि हावा अनुकूल हुँदा चप्पु राखेर केहीबेर सुस्ताउन सक्थ्यो परन्तु अब कनबेथर बेल्टका नजिक उभिएको मजदुरलाई सास फेर्नसमेतको फुर्सद मिल्दैन जब एकपछि अर्को मेसिनका पुर्जा अगाडि आएको आयै गर्दछन् ।’ मजदुरको शोषणका निम्ति ‘त्वरण प्रणाली’ अपनाउनाले अमेरिकी कारखानाहरूमा केही मजदुरको आठदेखि दस वर्ष काम गरिसकेपछि श्रम गर्ने क्षमता हराउन पुग्छ । अधिकांश मजदुरहरू चालीस वर्ष पुग्दानपुग्दै कामको तीव्र गतिसँग तालमेल मिलाउन सक्दैनन् । कामको तीव्रता र सुरक्षा सुविधाको अभावका कारण दुर्घटनाहरू त आम हुने गर्दछन् । अमेरिकी सरकारलाई स्वीकार गर्नैपर्यो– कमसे कम ८५ प्रतिशत मजदुर लगातार चोटपटक लाग्ने खतरा मोनेरै काम गर्दछन् । हरेक वर्ष अमेरिकामा ३ देखि ५ प्रतिशतसम्म मजदुरहरू दुर्घटनामा मारिन्छन् वा घाइते हुन्छन् । यसतरह पुँजीवादी देशहरूमा विज्ञान र औद्योगिक प्रगति, मजदुर वर्गको लगातार बढ्दो गरिबी र अस्तव्यस्तताको मूल्यमा हासिल हुने गर्दछ ।

जस्तो कि उल्लिखित तथ्यहरूबाट स्पष्ट हुन्छ, यो निर्विवाद छ कि पुँजीवादी देशहरूमा श्रमजीवी तप्काको दरिद्रीकरण हुने गर्दछ । बुर्जुवा वर्ग र सर्वहाराको लाइनमा लुकेका त्यसका दलाल केही अस्थायी, स्थानीय र आंशिक प्रगतितर्फ इशारा गरेर सर्वहाराको दरिद्रीकरणको सत्यलाई झूटो साबित गर्ने थोत्रा कोसिसहरू गरिरहन्छन् ।

सर्वप्रथम हामीले सर्वहाराको दरिद्रीकरणको प्रश्नलाई वर्गीय दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्दछ । पहिले त ती मजदुर अभिजातहरूलाई गणनाबाट बाहिर गर्नुपर्दछ जुन पुँजीपतिका हातमा बिकिसकेका छन् । मुठ्ठीभर मजदुर अभियान पुँजीपति वर्गको टुकुडामा पालिँदै साँच्चै नै उच्च स्तरको जीवन बिताउँछन् । वास्तवमा तिनीहरू मजदुर हरूका लाइनमा रहेका हुँदैनन् बरु सर्वहारा वर्गका गद्दार हुने गर्दछन् ।

सर्वहाराको दरिद्रीकरणको मुद्दालाई ऐतिहासिक र ठोस दृष्टिकोणबाट विश्लेषण गर्नुपर्दछ । यद्यपि अलगअलग समयमा अलगअलग देशहरूमा जीवनस्तर एकै नासको हुँदैन, त्यसकारण अतीतलाई वर्तमानसँग सीधासीधा तुलना गर्नु कुनै हालतमा ठीक हुँदैन । अस्तित्वमा वादशाहहरूलाई पनि तेलका ल्याम्पबाट नै काम चलाउनु पर्दथ्यो । आज पुँजीवादी देशहरूका अधिकांश मजदुरले बिजुलीको प्रकाश प्रयोग गर्दछन् । यद्यपि यस्तो भन्न सकिन्न– मजदुर हरूसँग बिजुलीको प्रकाश छ, त्यसकारण गरिबी छैन । के यो दाबा गर्नु हास्यास्पद हुँदैन, आज एउटा मजदुरको जिन्दगी वादशाहको भन्दा राम्रो छ ।

सर्वहाराको दरिद्रीकरणको मुद्दालाई समग्र दृष्टिकोणबाट हेर्नु पर्दछ । अर्थात् मजदुरहरूको जीवनदशाहरूको आंकलन कुनै एक कारखाना, कुनै क्षेत्रविशेष वा समयविशेषको आधारमा गर्नु हुँदैन । मजदुर वर्गको जीवनदशाहरूको आंकलन एउटा लामो अवधिका आधारमा गर्नुपर्दछ । अर्को शब्दमा केवल रोजगारमा रहेका मजदुरहरूको जीवनदशाहरूको मात्र होइन, बेरोजगार र अर्धबेरोजगार मजदुरहरूका जीवनदशाहरूलाई पनि हेर्नु पर्दछ । केवल साम्राज्यवादी देशहरूका मजदुरहरूको जीवनदशाहरूको मात्र होइन, उपनिवेशिक र नवऔपनिवेशिक देशहरूका मजदुर हरूका जीवनदशाहरूलाई पनि हेर्नुपर्दछ । मजदुर हरूका जीवनदशाहरूलाई भ्रामक पुँजीवादी समृद्धिको समयमा मात्र होइन, आर्थिक सङ्कटको समयमा पनि हेर्नु पर्दछ । त्यसपछि यो देख्न कठिन हुनेछैन– अलग– अलग कारखानाहरू र इलाकाहरू साथै कुनै खास समयमा मजदुरहरूका जीवनदशाहरूमा केही सुधार भएको होस् तर पूरै सर्वहारा वर्गको दिनप्रतिदिन बिग्रँदै गइरहेको छ ।

सर्वहाराले नै पुँजीवादको चिहान खन्छ ।

पुँजी सञ्चयको प्रक्रिया एउटा यस्तो प्रक्रिया हो जसमा पुँजीपति अझ अमीर हुँदै जान्छ तथा सर्वहारा झन् गरिब हुँदै जान्छ । यो एउटा यस्तो प्रक्रिया पनि हो जसमा पुँजीवादी उत्पादन सम्बन्धहरू र उत्पादक शक्तिहरूको अन्तरविरोध पनि उत्तरोत्तर धेरै पेचिला हुँदै जान्छन् । पुँजीवादी अर्थव्यवस्थाको विकासप्रक्रियामा छरिएर रहेका, अलग–अलग र साना परिमाणका निजी उत्पादन ठूला परिमाणका सामाजिक उत्पादनमा बदलिन्छन् । पुँजीवादमा सामाजिक उत्पादनको विकासका दुईवटा पक्ष हुन्छन् : पहिलो हो– पुँजीवादी कारखाना निजी कालीगढको वर्कसपभन्दा भिन्न हुन्छ । कालीगढले आफ्नो वर्कसपमा एक्लै पनि उत्पादन प्रक्रिया पूरा गर्दछ । पुँजीवादी कारखानामा दसौँ–सयकडौँ, हजारौँ मजदुर विभिन्न वर्कसपहरू र विभागहरूमा बाँडिएका हुन्छन् उनीहरू पुँजीपति र उसका दलालहरूका आदेशअनुसार श्रम विभाजन र सहकार्यको माध्यमबाट मालहरूको उत्पादन गर्दछन् । दोस्रो हो– श्रम विभाजन लगातार विकसित हुने गर्दछ । उत्पादन अधिकाधिक विशिष्टीकरण हुँदै जान्छ । सामाजिक उत्पादनमा विभिन्न विभाग र उद्यम एकअर्कासँग जोडिने र परस्पर निर्भर हुने गर्दछन् । श्रमको सामाजिक विभाजन र एउटा कारखानाको भित्र यसको विभाजनबाट उत्पादन ‘ व्यक्तिगत कार्यहरूको शृङ्खलाबाट सामाजिक कार्यहरूको शृङ्खलामा बदलिन पुग्छन् । उत्पादन व्यक्तिगत उत्पादनहरूबाट सामाजिक उत्पादनमा बदलिन पुग्छन् ।’१० खराब मेसिनहरू, मोटरहरू, सुर्ती कपडा र छालाका जुत्ता धेरै नै मजदुरहरूको संयुक्त श्रमका उत्पादन हुने गर्दछन् । कसैले यो भन्न सक्दैन ‘ यो मेरो उत्पादन हो ।’

उत्पादनको प्रकृति सामाजिक हुने गर्दछ तर उत्पादनका साधन र सामाजिक श्रमका उत्पादनहरूमा समाजको स्वामित्व हुँदैन । तिनमाथि पुँजीपतिको नै स्वामित्व हुने गर्दछ । यसप्रकार सामाजिक उत्पादन र पुँजीवादी निजी स्वामित्वका बीच अन्तरविरोध खडा हुने गर्दछ । यो पुँजीवादको मूलभूत अन्तरविरोध हो । पुँजीवादी निजी स्वामित्व ठूलो परिमाणको सामाजिक उत्पादनको विकासलाई खराब तरिकाले अवरोध गर्दछन् । पुँजीवादी उत्पादन सम्बन्धले उत्पादक शक्तिहरूको विकासलाई अधिकाधिक अवरोध गर्ने गर्दछ र तिनका खुट्टाका नेल बन्न जान्छन्। केवल निजी स्वामित्वको ध्वंस र समाजवादी सामूहिक स्वामित्वको स्थापना तथा पुँजीवादी उत्पादन सम्बन्धहरूलाई हटाएर समाजवादी उत्पादन सम्बन्धहरूको स्थापना गरेर नै यस मूलभूत अन्तरविरोधको हल गर्न सकिन्छ । यसकारण पुँजीवादको अन्त्य र समाजवादको उत्कर्ष ऐतिहासिक विकासको अपरिहार्य प्रवृत्ति हो जसलाई कसैको इच्छाबाट बदल्न सकिँदैन ।

पुँजीवादलाई हटाएर समाजवाद स्थापनाको ऐतिहासिक प्रक्रिया स्वतःस्फूर्त ढङ्गबाट सम्पन्न हुन सक्दैन । पुँजीवादी व्यवस्थाबाट उठाइरहेका बुर्जुवा वर्ग सामाजिक परिवर्तनलाई हरहालतमा रोक्ने कोसिस गर्नेछ । त्यो परिवर्तन ल्याउनका लागि यस्तो एउटा सामाजिक शक्ति हुनु अनिवार्य हुन्छ जसले बुर्जुवा वर्गको प्रतिरोधलाई कुल्चिन सकोस् । त्यो सामाजिक शक्ति हो सर्वहारा वर्ग । सर्वहारा उन्नत उत्पादक शक्तिहरूका प्रतिनिधि हुन् । यिनीहरू शोषित–उत्पीडित छन् तर पनि यिनीहरू सर्वाधिक चेतना सम्पन्न र सबभन्दा उत्कट क्रान्तिकारी चरित्र भएको वर्ग हो । माक्र्सवादी शिक्षाबाट लैस भएर यो वर्ग निश्चित रूपबाट पुँजीवादी व्यवस्थालाई उखेलेर फाल्नका निम्ति जुर्मुराएर उठ्नेछ । ‘सामाजिक उत्पादन र पुँजीवादी आधिपत्यको अन्तरविरोध सर्वहारा र पुँजीपति बुर्जुवा वर्गका बीचको अन्तरविरोधको रूपमा अभिव्यक्त हुने गर्दछ ।’११ पुँजी सञ्चयको प्रक्रिया सर्वहारा तीव्र रूपमा परिपक्व हुँदै जान्छ त्यसको फौजको लाइन बढ्दै जान्छ ।

पुँजी सञ्चय र विस्तारित पुनरुत्पादनको प्रक्रिया जीवनयापनका भौतिक साधनहरूको विस्तारित पुनरुत्पादन मात्र होइन, पुँजीवादी सम्बन्धहरूको पनि विस्तारित पुनरुत्पादन हो । यसले एकातर्फ अझ ठूला पुँजीपतिहरूलाई र अर्कोतर्फ अझ धेरै किरायाका मजदुरहरूलाई जन्माउँछ । यसप्रकारले पुँजी सञ्चयको प्रक्रिया न केवल पुँजीवादको विनाशका परिस्थितिहरू अर्थात् सामाजिक आधारमा ठूलो परिमाणका उत्पादलाई तयार गर्दछ बरु पुँजीवादको चिहान खन्ने सर्वहारालाई पनि जन्माउँछ । ‘बुर्जुवा वर्गले स्वयम् आफ्नै विनाशका लागि हतियार मात्र बनाएको छैन, ती हतियारहरूलाई प्रशिक्षित पनि गरिदिएको छ ।’१२ सर्वहारा पुँजीवादको उद्भवसँगै अस्तित्वमा आयो र पुँजी सञ्चयको प्रक्रियामा बलियो र वर्गसचेत हुन गयो । पुँजी सञ्चयको विकाससँगै सर्वहाराका फौजहरू लगातार बढिरहन्छन् । ठूलो परिमाणको सामाजिक उत्पादनका साथसाथै सर्वहारा साङ्गठनिक अनुशासनमा खारिन्छ र सर्वहाराको दरिद्रीकरणसँगै सर्वहारा र बुर्जुवा वर्गका बीचका अन्तरविरोध उत्तरोत्तर गहिरिँदै जान्छन् । वर्गसङ्घर्षका अनुभवहरू र माक्र्सवादबाट लैस सर्वहारा वर्ग क्रान्तिकारी भट्टीबाट खारिएर अग्रगामी बन्न पुग्छ ।

पुँजी सञ्चयको प्रक्रियामा सामाजिक उत्पादनको जबर्जस्त विकासलाई एउटा यस्तो अवस्थासम्म पुग्नु अवश्यंभावी हुन्छ जब विस्फोटक रूप लिइसकेको पुँजवादी उत्पादन सम्बन्ध यसलाई कुनै पनि तरिकाले समाल्न सक्ने अवस्थामा रहँदैन । माक्र्सले पूर्ण विश्वासका साथ घोषणा गर्नु भएको थियो : यो बम फुट्नेवाला छ, पुँजीवादी निजी स्वामित्वको मृत्युको घण्टी बज्नेवाला छ । स्वत्वहरण गर्नेहरूको स्वत्वहरण गरिनेछ । १३ पुँजीवादको मृत्यु सुनिश्चित छ र समाजवादको विजय तय भएको छ । यो पुँजी सञ्चयको ऐतिहासिक परिणति हो ।२०७६, १२ आश्विन आईतवार ०६:४३ ई-रातो खबर

अध्यायका निम्ति प्रमुख सन्दर्भ

१. माक्र्स, पुँजी खण्ड १ भाग ७
२. माक्र्स, ‘पुँजीवादी समाजको दरिद्रीकरण’
३. माओ त्सेतुङ ‘इतिहासको आदर्शवादी धारणाको दिवालियापन’

समीक्षात्मक प्रश्न

१. साधारण पुनरुत्पादन र विस्तारित पुनरुत्पादनको विश्लेषणबाट कुनकुन निष्कर्षमा पुग्न सकिन्छ ?
२. पुँजीवादी समाजमा सर्वहाराको दरिद्रता र मजदुर हरूको बेरोजगारीका कारणहरू केके कारण हुन्छन् ।
३. सर्वहारालाई पुँजीवादको ……… भनेर किन भनिन्छ ?

टिप्पणीहरू

१. माक्र्स पुँजी खण्ड १, माक्र्स–एङ्गेल्सका सम्पूर्ण कृतिहरू, खण्ड २३ पृ.६२५
२. ऐ. पृ.६४९
३. ऐ.ऐ. पृ. ६४९–६५०
४. ऐ.ऐ. पृ. ६७२
५. ऐ.ऐ. पृ.६९२
६. ‘इतिहासको आदर्शवादी धारणाको दिवालियापन’ –माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड ४ चिनियाँ संस्करण १९६८ पृ. १४००–१४०१
७. माक्र्स, पुँजी खण्ड १ माक्र्स–एङ्गेल्सका सम्पूर्ण कृतिहरू, खण्ड २३ पृ. ७०७
८. ‘पुँजीवादी समाजको कङ्गालीकरण’ लेनिनका सम्पूर्ण रचनाहरू खण्ड १८ पृ. ४३०
९. माक्र्स, पुँजी खण्ड १, माक्र्स–एङ्गेल्सका सम्पूर्ण कृतिहरू, खण्ड २३ पृ. ७२५
१०. एङ्गेल्स, ड्युहरिङ मतखण्डन, माक्र्स– एङ्गेल्सका चुनिएका कृतिहरू खण्ड ३, चिनियाँ संस्करण १९७२ पृ. २५७
११. ऐ.ऐ. पृष्ठ ३११
१२. कम्युनिस्ट घोषणापत्र, माक्र्स–एङ्गेल्सका चुनिएका कृतिहरू, खण्ड १ माक्र्स–एङ्गेल्सका सम्पूर्ण कृतिहरू, खण्ड २३ पृ. ८३१ ८३२ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button