विचार

लोकतन्त्र र सविधानप्रति सरकार उदार बन्नै पर्छ ।


जी एन शर्मा

शनिबार चितवनमा नेपालका लागि नेपाली अभियानको कार्यक्रममा सहभागिता जनाउन गएका जो अहिले यो अभियानलाई भ्रष्ट्राचार बिरुद्दको अभियान भनेर पनि भाषण गर्दै हिड्छन् उनी ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही माथि आक्रमण भयो । आक्रमण गर्ने हरुले उनलाई प्रतिगामी हो र यो प्रतिगामीहरुको कार्यक्रम भएकाले त्यसको प्रतिकार गरेको भने अरे । ज्ञानेन्द्र शाहीमाथि आक्रमण भए पछि नेपालका लागि नेपालीको अभियानमा जोडिएकाहरुले चितवनमा पत्रकार सम्मेलन गरेर त्यसको भत्र्सना पनि गरे ।
ज्ञानेन्द्र शाही अहिले उपचारका क्रममा अस्पतालमा छन् । म पहिला उनको स्वास्थ्य लाभको कामना गर्दछु । नेपालका लागि नेपालीको अभियान भने पनि या भष्ट्राचार बिरुद्दको अभियान जे भने पनि यसमा पूर्व पञ्चायतका समर्थकहरुको बोलबाल देखिन्छ । उनीहरुको अहिलेको बाहिरी मुद्दा भनेको देशमा भष्ट्राचार बढ्यो , शान्ति सुरक्षा फितलो भयो र यस्तै यस्तै सरकारका कमिकमजोरीका बारेमा यो समूह अहिले देशब्यापी रुपमा आफ्नो अभियान चलाएर हिडेको छ । यो अभियानमा पूर्व पञ्चहरुको बोलवाला पनि छ यो सत्य हो । बाहिर प्रकट भएका अनुहारहरु हिजोका दिनमा खुलेरै पञ्चायतको वकालत गर्दथे सबैलाई थाहा छ । तानाशाहीका समर्थकहरुलाई लोकतन्त्र मन पर्दैन यो सत्य र स्वभाविक पनि हो अनि लोकतन्त्रका पक्षधरहरुलाई तानाशाही वा अधिनायकबाद मन पर्दैन त्यसैले लोकतन्त्रका लागि होनाहार मान्छेहरुले जिवनको आहुती गरे न्याय, समानता, स्वतन्त्रता र लोकतन्त्रका लागि ।
एक थरि मान्छेहरुको भनाईमा ज्ञानेन्द्र शाहीहरु भष्ट्राचारका बिरुद्दमा चेतना फैल्याउने अभियानका अभियान्ताहरु हुन् , उनीहरुले जे गर्दैछन् राम्रो गर्दैछन् भनेर उनीहरुको अभियानलाई साथ र समर्थन गरिरहेकाछन् । अर्का थरि मान्छेहरु उनीहरु प्रतिगमनका लागि पृष्ठ भूमि तयार गर्दैछन् , बाहिर भष्ट्राचारका कुरा गरे पनि भित्रि उद्देश्य भनेको प्रतिगमनलाई सहयोग गर्नु हो भनेर भन्ने गर्दछन् । जे होस ज्ञानेन्द्र शाहीहरुले भष्ट्राचार बढ्यो र शान्ति सुरक्षा भएन भनेर भन्दैमा यो सत्य हुने र सरकारका तर्फबाट साँच्चै यस्ता काममा नजर अन्दाज भएको छ भने ज्ञानेन्द्र शाहीहरुले राम्रो छ भन्दा हुने पनि होइन । तर, यहाँ चिन्ताको विषय त यो भयो कि संविधानले दिएको अधिकार नागरिकले उपयोग गर्न पाउने कि नपाउने ?

भलै ज्ञानेन्द्र शाहीहरु प्रतिगामीनै होलान् उनीहरुले बोलेको कुरा सबै झुठो होला तर यसको पनि त कानूनी उपचार त होलानी । कसैले कसै माथि बिना प्रमाण झुठा आरोप लगाउँदै हिड्छ भने पीडित पक्षले सरोकारवाला निकायमा गएर आफु माथि भएको अन्यायको अपिल गर्ने ठाउँ पनि त होला नि । तर, कुनै ब्यक्ति वा समूहले सरकारका बारेमा बोल्नै नपाउने , लेख्नै नपाउने पनि लोकतन्त्रमा हुन्छ ?

हिजो पञ्चायतकाल पञ्चायती शैली र ब्यबस्थाको बिरोध गर्नेहरुलाई पुलिस प्रशासन र मण्डले लगाएर दमन र भौतिक आक्रमण गरिन्थ्यो कतै लोकतन्त्रमा पनि त्यसको पुनारावृति त शुरु भएन ! चिन्ताको विषय बनेको छ । यो विषयमा मैले भनिरहँदा म ज्ञानेन्द्र शाहीहरुले जे जे गर्दैछन् त्यो ठिक थियो भन्ने मान्छे पटक्कै होइन ब्यक्तिगत रुपमा भन्नु पर्दा ज्ञानेन्द्र शाहीको बिरोधको भाषा शैलीको प्रयोग त मलाई झन् मन पर्दैन तर नेपालको संविधानले दिएको मौलिकहक र नागरिक अधिकारको उपयोग गर्न ज्ञानेन्द्र शाहीहरुले पनि पाउनु पर्छ ।

नेपालका लागि नेपालीको अभियानमा जे जे भनिएता पनि यो समूहमा लोकतन्त्र प्रति आस्था भएका जस्ता अनुहार मैले देखोको छैन तर उनीहरु जस्ता रुप र अनुहारका भए पनि लोकतनत्र त सबैका लागि हो नि तब न यसको नाम लोकतन्त्र राखीएको हो र लोकतनत्रको वास्तविक परिभाषा पनि सुन्दर भएको हो । तर, चितवनमा शनिबार जे दृश्य देखिएको त्यो लोकतन्त्रको पक्षमा थिएन । किनभने कोही कसैले आफ्नो विचारद्धारा कसैको बिरोध गर्छ भने त्यसको प्रतिवाद र जवाफ पनि विचारलेनै गर्नु पर्छ । कसैले कसैमाथि फरेब आरोप लगाउँ छ भने यदि त्यो झुठा छ भने आरोप लगाउनेहरुनै भोली लज्जित हुन्छन् र विचार भर्सेस विचारलाई लोकतले स्विकार गर्छ ।

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमणले प्रतिगमनलाई मन पराउनेहरुलाई सहयोग गरेको छ । भलै उनीहरु त्यहाँ भष्ट्राचार बिरुद्दको अभियानमा सरकारको बिरोध गर्न गएका भए पनि बिना हात हतियार सभा, जुलुष गर्न पाउने संविधानले दिएको अधिकार माथि सरकारले आफ्ना भिजिलान्ते र प्रहरी प्रशासन लगाएर हामी माथि भौतिक आक्रमण भयो भनेर त पत्रकार सम्मेलन मार्फतनै उनीहरुले शनिबारनै भनि सके । रुपमा राम्रो गरेको देखाएर अभिष्ट प्रतिगमनको थियो भने पनि यो घटना एक त नागरिक अधिकार माथि सरकारको दमन देखियो भने लोकतन्त्र र वर्तमानको सरकारप्रति के निहँु पाउँ भनेर ढुकेर बसेकाहरुलाई राम्रै खेतीपाती गर्ने विषय पनि भएको छ ।

नेपालका लागि नेपाली अभियानमा जोडिएकाहरुलाई चितवनको शनिबारको ज्ञानेन्द्र शाही माथि भएको आक्रमण ब्यक्ति माथि भएको भौतिक आक्रमण दुखद भए पनि अब अन्यत्र गएर उठाउने विषय भने तर्क संगत हिसाबले पनि राम्रो भएको देखिन्छ । लोकतन्त्रमा सरकारको कामकारबाहीका विषयमा आलोचना हुनु र चित्त नबुझेको कुरा धक फुकाएर भन्न पाउनु यो सामान्य मान्नु पर्छ तर आफ्नो बिरोध गर्ने जति सबैलाई आफ्नो सत्ताको बलले ठेगान लगाउँछु भन्नु तानाशाही नमुना बन्छ र नागरिक वा अन्य कुनै समूहले पनि सपनामा पनि नदेखेका कुरा सरकारको बिरोधका लागि मात्र बिरोध गर्नका लागि पकाएर राख्नु पनि लोकतान्त्रिक धर्ममा पाप कर्म मानिन्छ । जे भए पनि चितवनमा भएको घट्नालाई राम्रो भयो भन्न हुदैन सरकारले लोकप्रिय र जनपक्षिय काम गर्दै जाने हो भने ज्ञानेन्द्र शाहीको आरोप आफै सेलाउँदै जान्छ र सरकारका कामप्रति जनताको समर्थनको ब्यापकता जति चुलीदै जान्छ ज्ञानेन्द्र शाहीहरु पुड्किदै जान्छन् तर नागरिकको वाक् स्वतन्त्रताको सम्मान सरकारले गर्नुनै पर्छ अझ कम्युनिष्टको सरकारले त झन् गर्नु पर्छ किनपनि भने जसरी अहिले बिरोधीहरुले देश कम्युनिष्ट अधिनायकबाद तर्फ जादैछ भने ढोल बजाउँदै गाउँदैछन् यसलाई सरकारले चिर्नका लागि पनि सरकारले लोकतन्त्र र संविधानप्रति आफ्नो उदारता देखाउनै पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button