खबर

भन्सार र राजश्वका सदाबहार हाकिमहरू चिन्नुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले स्थिर सरकार र सुशासनको प्रत्याभूति दिने प्रतिबद्धताका साथ निर्वाचनमा मतदाताबाट अपार समर्थन पाएको थियो । भ्रष्टाचारले आक्रान्त भएका मतदाताले स्थिर सरकार बनेपछि सुशासन कायम हुने अपेक्षाका साथ मत दिए । केपी ओली नेतृत्वमा नेकपाको दुईतिहाईको सरकार गठन पनि भयो । तर, नेकपाको निर्वाचन घोषणा पत्र र मतदाता समक्ष गरेको बाचा कार्यान्वयन नभएको गुनासो बढेको छ । शक्तिशाली वाम सरकारका पालामा भ्रष्टाचार झन् बढेको अनुभूति जनताले गर्न थालेका छन् ।

राजश्व संकलनको प्रमुख जिम्मेवारी अर्थमन्त्रालयदेखि विकास निर्माणको प्रमुख जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतका मन्त्रालयहरूमा भ्रष्टाचार झन् बढेको छ । अरु मन्त्रालयका तुलनामा रघुवीर महासेठ मन्त्री भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बढी नै घुस लेनदेन चलेको छ । युवराज खतिवडा मन्त्री भएको अर्थमन्त्रालयले चिनी, मोवाइललगायतमा मूल्य अभिबृद्धिकर (भ्याट) फिर्ता दिन बन्द गरी सुशासनको दिशामा पाइला चाल्यो ।

तर, अर्थमन्त्रालयअन्तर्गत लामो समय कार्यरत राजस्व समूहका अति भ्रष्ट कर्मचारीहरूमाथि पनि छानबिन गर्नुपर्ने दबाब अर्थमन्त्री डा. युवराज खतिवडामाथि परेको भएतापनि कर्मचारीको नियन्त्रणमा रहेका अर्थ मन्त्री खतिवडाले केही कारवाही गर्न सकेका छैनन् । अर्थ मन्त्री र अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीलाई प्रभावमा पारी लामो समयदेखि आकर्षक भन्सार र राजस्व अनुसन्धान विभाग अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीले पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेकोबारेमा अर्थमन्त्रालयले भित्रभित्रै छानबिन गर्न अर्थमन्त्री डा. युवराज खतिवडामाथि परेको दबाबलाई मन्त्रीले कुनै वास्ता गरेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश अघि नै मन्त्रालय तहबाटै राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्नेहरूको नालीबेली खोजी गर्ने दायित्व मन्त्री खतिवडामाथि रहेको भएतापनि तिनै भ्रष्ट कर्मचारीहरूको नीति र निर्देशनमा अर्थ मन्त्री चल्ने गरेकाले जन अपेक्षा र नेकपाको निर्वाचन घोषणा पत्र अनुसार, काम शून्य अवस्थामा रहेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार, अर्थमन्त्रालय मातहत रहेर लामो समयदेखि आर्थिक लाभ लिंदै आएका उपसचिवहरूमा शान्तिराम निरौंला, रामप्रसाद रेग्मी, तिर्थ चिलुवाल, केशवराज उप्रेती, मानबहादुर पौडेल, हरि बस्याल, दिलिप अधिकारी, गोपाल खत्री, लेखनाथ शर्मा, टेकबहादुर अर्याल, जनकराज शर्मा, सेवन्तक पोखरेल, कृष्ण बस्नेत लगायतमाथि छानविन प्रारम्भ भएको स्रोत बताउछ । राजस्व समूहमा बसी आकर्षक भन्सार र राजस्व कार्यालयमा बसी लाभ लिने उपसचिवमा भूपाल शाक्य र बोलराज आचार्य पनि हुन् ।

राजस्व समूहका उपसचिव शान्तिराज निरौला नेपालगंज भन्सार कार्यालयका प्रमुख हुन् । उनले नेपालगंज भन्सारबाट भित्रिने प्रत्येक गाडीबाट माथिसम्म पु¥याउनुपर्छ भनेर प्रतिगाडी न्यूनतम १ लाख रुपैयाँसम्म घुस असुली गर्ने गरेको आरोप छ । अर्थ अन्तर्गतका आकर्षक कार्यालयमा बसी उनले काठमाडौं बुढानीलकन्ठमा चार रोपनी जग्गा समेत जोडेको स्रोतको दाबी छ ।

त्यसैगरी उपसचिव रामप्रसाद रेग्मी राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका विश्वासपात्र समेत हुन् । महानिर्देशक मैनालीले नै उनलाई ठूला ब्यापारीसँग डिल गर्नका लागि परिचालन गरेको आरोप छ । ठूला ब्यापारीसँग डिल गर्ने र कारोबार भारतको दिल्लीमा गर्ने काम रेग्मीले गर्दैआएको स्रोत बताउछ ।

त्यस्तै हाल अर्थ मन्त्रालयमा कार्यरत उपसचिव तीर्थ चिलुवाल राजस्व अनुसन्धान विभागमा रहँदा एक करोड भन्दा माथिका डिलिङमा आफै सामेल हुने गरेको उनका समकक्षीहरू बताउछन् । निर्मलहरि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उनका निकट रहेर धन कमाउनेमा उपसचिव तीर्थ चिलुवालको नाम पनि आउने गर्दछ । अर्थका सहसचिव निर्मलहरि अधिकारीका बिरुद्ध अख्तियारमा छानबिन भइरहेको भए पनि उनी अवकाशको मुखमा रहेका छन् । उनले प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईमार्फत् अख्तियार प्रमुख नवीन घिमिरेलाई दबाब दिएर अनुसन्धान प्रभावित पारेको चर्चा पनि हुने गरेको छ ।

केशवराज उप्रेती आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख हुन् । उनी ब्यवसायीसँग आफैं डिल गर्ने गर्दछन् । झापा निवासी भएकाले उप्रेतीले शक्तिको आडमा ब्यापारीलाई अति सताएर असुली गर्ने गरेका छन् । यी पनि करोडौं कमाउने अर्थका उपसचिव हुन् ।

मन्त्रालयमा प्रायः बस्दै नबसी सधैं आकर्षक भन्सार र राजस्व चाहारी पुस्तौंपुस्तालाई पुग्ने कमाउनेमा पर्दछन् उपसचिव मानबहादुर पौडेल ।

बुटवल भैरहवाका भन्सार र राजस्व कार्यालयमा मात्र चाहारी अथाह कमाउन सफल उपसचिव हरि बस्यालले गैरकानूनी आर्जनको रकम उतै घरजग्गादेखि विभिन्न क्षेत्रमा लगानी गरेको अर्थ स्रोत बताउछ ।

नायबसुब्बादेखि नै दीप बस्नेतको विश्वासिलो भएर बसेका उपसचिव दिलीप अधिकारी बिराटनगर कर कार्यालयका प्रमुख हुन् । उनले गैरकानूनी रुपमा आर्जन गरेको रकम सुनसरी मोरङमा घरजग्गामा लगानी गरेको स्रँेतको दावी छ । दीप बस्नेतकै शैलीमा उनी कमाउनका लागि जे जस्ता काम पनि गर्न पछि नपर्ने भनेर चिनिन्छन् ।

बीरगंज भन्सार कार्यालयका प्रमुख हुन् गोपाल खत्री । उनी प्रायः सधंंै आकर्षक भन्सार कार्यालयमा काम गर्न पाउने अर्थका भाग्यमानी उपसचिव हुन् । उनी जाँचकीको सेटिङ पनि आफैं मिलाएर भन्सार छली गराएर लाभ लिनेमा पोख्त मानिन्छन् । उनी सेटिङ र घुस कलेक्सनको काम आफैंले गर्दै आएको कर्मचारी स्रोत बताउछ ।

अर्का उपसचिव लेखनाथ शर्माले परिवारका सदस्य पूर्व कर्मचारी भएकाले उनकै नाममा इन्भेष्टमेन्ट कम्पनी खोलेर अपार्टमेन्ट, रेमिट्यान्स कम्पनी र केवलकारमा लगानी गरेको स्रोतले बताएको छ । उनले देखाउनका लागि विशालनगरमा ३ फुटे बाटोमा घर बनाएका छन् ।

एयरपोर्ट भन्सारमा कार्यरत रहँदा सुनतस्करीको गिरोहसँग कनेक्सन गरी अकूत सम्पत्ति कमाएको आरोप खेपेका उपसचिव टेकबहादुर अर्याल हाल मेची भन्सार कार्यालयका प्रमुख हुन् । उनले तस्करसँग सेटिङमा गाडी छाड्ने गरेको स्रँेतको दावी छ । न्यून बिजकीकरण गरिएका गाडी राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेमा नेकपाका नेताको शक्ति परिचालन गरेर कारबाहीबाट बच्ने गरेका छन् ।

मन्त्रालयमा भन्दा बढी भन्सार र राजस्व चाहारी कमाउनेमात्रमा केन्द्रित भनी उपसचिव जनकराज शर्माको नाम पनि आउने गर्दछ । उनी राजस्व असुली गरी देशको अर्थतन्त्रमा योगदान गर्नेभन्दा पनि कसरी हुन्छ ब्यवसायीसँग मिलेमतो गरी ब्यक्तिगत फाइदा लिने भनेर चिनिन्छन्।

त्यसैगरी राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्नेमा उपसचिव सेवन्तक पोखरेलको नाम पनि अग्रपंक्तिमा आउँछ । उनीले सकारोकारवाला निकायको आँखा छल्न नगदमै सम्पत्ति परिचालन गर्दैआएका छन् । कतै पनि लगानी गरेका छैनन् । उनी बीरगंज भन्सारको भन्सार अधिकृतबाट अर्थमन्त्रालयमा आए । केही महिनामै आफ्ना समकक्षी सबै अधिकृतलाई चक्मा दिएर पशुपतिनगर भन्सार कार्यालयमा सरुवा मिलाए । त्यो सरुवा ब्यापक विवादमा परे पनि उनी गए ।

दुर्गमको नम्बर र कमाइ दुवै हिसाबले आकर्षक पशुपतिनगर भन्सारबाट उपसचिव बढुवा भए । उपसचिव हुनासाथ बीरगंज भन्सारमा पदस्थापन भए । बीरगंज भन्सार कार्यालयमा ३ बर्ष कार्यरत रहँदा उनले करोडौं करोड रुपैयाँ आर्जन गरेको उनीसँगैका उपसचिवहरू चर्चा गर्दछन् । उनी अमेरिका सरुवा हुन शक्तिकेन्द्रमा धाए । तर उनको दौडधूप र लगानी खेर गयो । शेयर बजार ध्वंस पारेर नेकपाको बद्नाम गर्दै आएका अर्थमन्त्री युवराज खतिवडाले आफ्ना निजी सचिव होमकान्त भण्डारीलाई अमेरिका सरुवा गरेर शक्तिको दुरुपयोग गर्न भ्याए ।

बिराटनगर भन्सार कार्यालयमा बस्दा खुलेआम तस्करीको लाइन चलाएका कृष्ण बस्नेत पनि अर्थमा दसौं करोड आर्जन गर्ने उपसचिवका रुपमा चिनिन्छन् । तस्करसँगको उनको कनेक्सनबारे जानकारी पाएपछि तत्कालीन बैद्य माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका नेता कुमार खत्रीहरूले उनीबाट १० लाख चन्दा लिएको समाचार नै सार्वजनिक भएको थियो । हाल तातोपानी भंसारका प्रमुख रहेका कृष्ण बस्नेत पनि दीप बस्नेतकै दाजुभाइ परेकाले शक्ति केन्द्रको बलमा मोजमस्ती गर्ने कर्मचारीमा पर्दछन् ।

भैरहवा भन्सारमा बसी एउटै प्रज्ञापनपत्रबाट पटक पटक सामान आयात गरी राजस्व मार्ने तत्कालीन भन्सार प्रमुख भूपाल शाक्य पनि अकूत सम्पत्ति कमाउनेभित्रै पर्दछन् । उनको मातहत काम गरेका भन्सार अधिकृत मानप्रसाद विक विरुद्ध अख्तियारले आयभन्दा बढी सम्पत्ति आर्जन गरेकोमा मुद्दा दायर गरे पनि शाक्यलाई भने उन्मुक्ति दिइएको छ । समशेर मियाँ नामक ब्यापारीसँग मिलेर भन्सार नै नतिरी करोडौं करोडका सामान भैरहवा भन्सारबाट नेपाल भित्र्याउनेमा शाक्यको संलग्नता रहेको समाचार बारम्बार सार्वजनिक भएको थियो । शाक्यले भ्रष्टाचारबाट आर्जित करोडौं रुपैयाँ श्रीमतीमार्फत् मिटरब्याजमा लगानी गरेको अर्थ स्रोतको दाबी छ ।

त्यस्तै ब्यापारीलाई दुःख दिएर असुली गरी करोडौं आर्जन गर्ने राजस्वका उपसचिवहरूमा धु्रव पोखरेल, भद्रपुर आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत बोलराज आचार्य पनि हुन् । पूर्वअर्थसचिव हुँदै मुख्य सचिव भएका विमल कोइरालाको पालादेखि शक्तिको आडमा उनले लिनुसम्म लाभ लिंदैआएका छन् ।साँघु न्यूज२०७६ असोज ११ शनिबार १०:४५:२९

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button