काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले टि२० आईमा नयाँ विश्व कीर्तिमान रचेका छन् । पारस टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तान बनेका छन् ।
पारसको शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्का ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए । जुन नेपालको लागि पहिलो टि२० शतक बनेको थियो । विश्व टि२० आई क्रिकेटमा लक्ष्य पछ्उदा शतक प्रहार गर्ने पारस पहिलो कप्तान बनेका हुन् । यस अघि कुनै पनि कप्तानले लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गरेका थिएनन् ।
लक्ष्य पछ्याउने क्रममा यसअघि नेदरल्यान्डका कप्तान पिटर सेल्सरले १२ दिन अघि स्कटल्यान्डविरुद्ध अविजित ९६ रन जोडेका थिए । त्यस्तै लक्ष्य पछ्याउने क्रममा स्टिभ स्मिथले सन् २०१५ मा इंग्ल्यान्डविरुद्ध ९० रन जोडेका थिए । वेस्ट इन्डिजका क्रिस गेलले सन् २००९ मा अष्टेलियाविरुद्ध ८८ रन जोडेका थिए ।
टि२० आईमा शतक प्रहार गर्ने कप्तानहरु :
कप्तानको रुपमा आरोन फिन्चले २०१८ मा जिम्बावेविरुद्ध १ सय ७२ रन प्रहार गरेका थिए । त्यस्तै शेन वाटसनले सन् २०१६ मा भारतविरुद्ध १ सय २४ रनको अविजित इनिङ खेलेका थिए । त्यस्तै सन् २०१५ मा फाप डु प्लेसिसले वेस्ट इन्डिजविरुद्ध १ सय १९ रन जोडेका थिए । रोहित शर्माले सन् २०१७ मा श्रीलंकाविरुद्ध १ सय १८ र सन् २०१८ मा वेस्ट इन्डिजविरुद्ध १ सय ११ रन प्रहार गरेका थिए । श्रीलंकाका तिलकरत्ने दिल्सानले अष्ट्रेलियाविरुद्ध २०११ मा १ सय ४ रन जोडेका थिए ।(हाम्रो खेलकुद)