खेलकुद

भारत पहिलोपटक साफ यू-१९ च्याम्पियन

काठमाडौं – नेपाली मुलका रवी बहादुर रानाले इन्ज्युरी समयमा गरेको गोलसँगै भारत पहिलो पटक साफ यू-१९ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ ।

आइतबार एपीएफस्थित हल्चोक रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा भारतले बंगलादेशलाई २-१ ले पराजित गर्यो । खलेको दोस्रो मिनेटमा नै भारतले अग्रता बनाएको थियो । विक्रम सिंहले वन भर्सेस वनमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा दुवै टोलीका १-१ खेलाडीले रातो कार्ड पाएका थिए ।

भारतका गोलकर्ता विक्रमलाई मैदानको मध्यभागमा फल गरेपछि दुवै टोलीका खेलाडी एकआपसमा भनाभनमा उत्रिए । त्यसक्रममा एक अर्कामाथि हातपात गर्न खोजेका भारत का गुर्किरत सिंह र बंगलादेशका मोहमद रिदोयलाई रेफ्री कविन ब्यन्जनकारले रातो कार्ड देखाए ।

बंगलादेशले खेलको ४० औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान यासिन अराफातले गोल गरेपनि उनको खुसी लामो समय टिकेन । गोलको खुसियाली मनाउने क्रममा जर्सी टाउकोभन्दा माथि उठाएपछि रेफ्री ब्यन्जनकारले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए ।

दोस्रो हाफमा ९ खेलाडी रहेको बंगलादेशले १० खेलाडी सम्मिलित भारतको आक्रमणलाई लगातार विफल पार्यो । काउन्टर अट्याकमा केहि अवसर पाएपनि बंगलादेशले त्यसको सदुपयोग गर्न सकेन । खेलको अन्तिम मिनेटमा रवीले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएपछि भारत च्याम्पियन बनेको हो । खेल अवधिभर नेपालका फिफा रेफ्री व्यन्जनकारले ११ पहेंलो कार्ड र ३ रातो कार्ड देखाएका थिए ।

(हाम्रो खेलकुद)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button