कला

निर्देशक अशोक शर्मा भन्छन्, ‘हामी डेटमा चुक्यौं’

शुक्रबारबाट भेट्रान निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ । रिलिजपूर्व फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने अनुमान गरिएको थियो । तर, फिल्मले प्रदर्शनको दुई दिनमा खासै राम्रो व्यापार गर्न सकेन । शुक्रबार र बिदाको दिन शनिबार पनि फिल्मको व्यापार अपेक्षाकृत नभएको निर्देशक शर्मा स्वयं स्वीकार गर्छन् । ‘कबड्डी कबड्डी कबड्डी’ का कारण फिल्मको व्यापारमा ठूलो असर पुगेको उनको भनाई छ ।

फिल्मको दुई दिने कलेक्सन ६१ लाख ६४ हजार रहेको बताउँदै उनले फिल्मको व्यापार अपेक्षाकृत नहुनुको कारणबारे भने, ‘हो, हामीले जति अपेक्षा गरेका थियौं फिल्मले त्यो अनुसार व्यापार गर्न सकेको छैन । यसको एउटा कारण ‘कबड्डी कबड्डी कबड्डी’ पनि हो । पहिलो हप्ता यो फिल्मले निकै राम्रो व्यापार गरेको थियो । दोस्रो हप्तामा पनि फिल्म हेर्ने दर्शकको चाप उस्तै छ । अर्को चाहिँ हामीले रोजेको मिति फिल्म रिलिजका लागि उपयुक्त भएन ।’

फिल्मका लागि उपयुक्त मिति असोज १७ गते रहेको भएता पनि साथीभाईको सल्लाहमा आफू एक हप्ता अगाडि सरेको उनले बताए । ‘सबैभन्दा ठूलो कुरा हामीले सही डेट छनोट गर्न नसक्नु नै हो । त्यसमाथि ‘कबड्डी कबड्डी कबड्डी’ ले अझै दर्शक तानिरहेको छ’, उनले अगाडि भने, ‘कुनै फिल्म एकदमै चलेको दुई हप्तासम्म ग्याप हुन जरुरी थियो । कि, एकदमै बिदा हुनुपर्थ्यो । तर, यी कुनै कुरा भएन । जसको असर फिल्मको व्यापारमा पर्‍यो ।’

पूर्वतिर दुई दिनदेखि परेको मुसलधारे पानीका कारण पनि फिल्मको व्यापारमा असर पुगेको उनी बताउँछन् । ‘पूर्वको अधिकांश ठाउँमा केही दिनयता पानी परिरहेको छ । त्यसले गर्दा हलसम्म दर्शक पुग्न सकेका छैनन् । तर, सकारात्मक संकेत चाहिँ के छ भने फिल्म हेर्ने दर्शकले राम्रो भन्नुभएको छ । अर्को साताबाट फिल्मको व्यापार राम्रो हुन्छ भन्ने लागेको छ’, उनले भने । फिल्मले दशैं बिदामा दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको निर्देशक शर्माले बताए ।

दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टिका निधारमा’ शिर्षक सापटी लिएर निर्माण गरिएको यो फिल्ममा नव-अभिनेता अंकित शर्मा र अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी बाँधिएको छ । अंकित निर्देशक शर्माका छोरा हुन् । फिल्मलाई दर्शकबाट राम्रो/नराम्रो दुबैखाले प्रतिक्रिया प्राप्त छ । तर, समीक्षकले फिल्म पिटिक्कै रुचाएका छैनन् । यद्यपि, फिल्मले उठाएको विषयवस्तुको भने प्रशंसा भइरहेको छ ।फिल्मीखबर अनलाइनबाट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button