खबर

चिया मजदुरका समस्या ज्यूँका त्यूँ

डम्बर बराल

काँकरभिट्टा / मेचीनगर ८ का सन्तु उराउ पेशाले चिया मजदुर हुन् । उनले चिया बगानमा मजदूरी गरेको ३५ वर्ष भयो । सन्तुका बुवा कात्तिकलालको पनि जीवन चियासँग खेल्दाखेल्दै बित्यो । मेचीनगरस्थित टोकला चिया बगानको क्वाटरमा बसेर जीवनयापन गर्दै आएका उराउलाई आर्थिक संकटले कहिल्यै छोडेन ।
परिवारका सदस्यलाई राम्रो लाउने, मिठो मसिनो खुवाउने र गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने उनको धोको कहिल्यै पूरा हुन सकेन । ‘जसो तसो छोरा छोरीलाई हुर्काएँ र छोरीको विवाह गरँे’–उनले भने ।
शरीरमा तागत रहुञ्जेल बिरामी समेत नभनि उनले बगानमा मजदुरी गरे भने उनीसँगै श्रीमतीले पनि परिवारकै सुखका लागि घामपानी नभनि मजदुरी गरिन् । तर, जीवनमा बचत गर्न भने कहिल्यै सकिनन् । कमाएको पैसा एकजोर लुगा लाउन र दुई छाक खाँदैमा ठीक्क भयो । भविष्यका लागि बचत गर्नु भनेको उनका लागि सपना नै बन्न पुग्यो ।
तर, पछिल्लो १ वर्षदेखि शारीरिक रुपमा अस्वस्थ बनेपछि उनको जीवन थप कस्टकर बनेको छ । मधुमेह र टिवी रोगबाट सन्तु थलिएपछि उनकी श्रीमति को काँधमा पारिवारीक जिम्मेवारी थपिएको छ । ‘श्रीमति कमाउन जान्छिन् आफू त दिनदिनै कमजोर बन्दै गएको छु’ दुखेसो पोख्दै उनले भने–‘एकजनाले कमाएको पैसाले के नै पो हुन्छ र औषधि उपचार पनि गर्नु पर्याे ।’ उनलाई यतिखेर छोराको भविष्यको चिन्ताले सताउन थालेको छ ।
बगानमा मजदुरी गर्दे ३२ वर्ष बिताएकी रेवती मालपाँडेको पीडा पनि उस्तै छ । ‘दैनिक मजदुरी गरेको पैसाले दुई छाक खान पनि धौ–धौ पर्छ’ उनी भन्छिन्–‘अलि ठूलो बिरामले च्याप्यो भने के गरेर उपचार गर्नु ?’ यहि चिन्ताले रेवतीलाई पिरोल्न थालेको छ । दैेनिक ३ सय ८५ रुपैयाँ पाउन चियाको ५० केजी हरियो पत्ति टिप्नु पर्ने र सकि नसकि काममा जानुपर्ने बाध्यता रहेको उनले सुनाईन् ।
‘पत्ति अलिक कम भएका बेला त ठेक्का पुर्याउन पनि मुस्किल पर्छ, पहिले ३५ केजी हरियो पत्ति टिप्नु पर्थ्यो’ रेवती भन्छिन्–‘तर, यतिखेर ५० केजी भएको छ ।’ उनले आम्दानीको अर्को विकल्प केही पनि नभएकाले बगानमै आश्रित हुनु परेको बताईन् । बगानमा मजदुरी गर्ने सबै मजदुरको पीडा एकै नासको छ । यि दुई त प्रतिनिधि पात्र मात्र हुन् । व्यवसायीक हक हित र सुरक्षाका लागि पटक–पटक संघर्ष गर्दै आएका मजदुरलाई आफ्ना छोराछारीको उचित शिक्षा र उनीहरुको भविष्यप्रतिको चिन्ताले सताउने गरेको छ ।
‘हाम्रो जीवन त अब यहिँ बित्ने भो, चिया श्रमिकहरु भन्छन्–‘तर, नानिहरुलाई शिक्षा दिने काम कम्पनीले गरिदिए हुन्थ्यो ।’ बिरामी हुँदा उपचार खर्च समेत कम्पनीले नदिने गरेको र बिदा बस्दा समेत कामबाट हटाउलान् भन्ने चिन्ताले पिरोल्ने गरेको पीडा सुनाउँदै मजदुरहरुले बिरामी हुँदा घर बिदा समेत नपाइएको गुनासो गरे । तलव वृद्धिको माग गर्दै देशभरका मजदुरहरुले आन्दोलन गरेका थिए । त्यसपछि सरकारले बढेको तलव कार्यान्वयन गराउन दवाब दिएसँगै २०७६ वैशाखदेखि बढेको तलव कार्यान्वनमा आएको उनीहरुको भनाई छ ।
तर, २०७५ साउनदेखि २०७५ चैतसम्म ९ महिनाको बढेको तलव भने नपाइएको मजदुरहरु दुखेसो पोख्छन् । बगानमा चियाको हरियो पत्ति टिप्दै गर्दा भेटिएका उनीहरुले नाम सार्वजनिक नगर्ने शर्तमा भने–‘हाम्रो जुनी बगानमै बित्यो, हामीले मालिकसँग गुनासो पोख्दा जागिर नै जान्छ, हाम्रो समस्या कस्ले बुझ्ला र ?’ बगानमा चिया मजदुरका रुपमा आश्रितमध्ये अधिकाँश महिला छन् । आफ्नो क्षमताभन्दा गह्रुँगो काम समेत गर्नु परेको उनीहरु बताउँछन् । दशैं बोनसबापत १ महिनाको तलव दिनुपर्ने भएपनि कम्पनीले ५ हजार रुपैयाँ मात्र उपलब्ध गराएको र त्यसमा पनि बिदाका दिनको ज्याला काटेर दिएको भन्दै उनीहरुले दुखेसो पोखेका छन् । मजदुरहरु भन्छन्–‘महंगी अचाक्ली बढेको छ, केही किनिसक्नु छैन, ५ हजारले कसरी मनाउनु दशैं ?’ janasamsadonline

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button