मूल खबर

मेचीनगरका नेकपाका जनप्रतिनिधिले बेरुजु रकम फिर्ता गर्ने, काँग्रेसको धारणा आउन बाँकी

काँकरभिट्टा ।
झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुको नाममा देखिएको बेरुजु रकम फिर्ता गर्ने मेचीनगरको नेकपा संसदीय दलले निर्णय गरेको छ । दलका नेता तथा नगर उपप्रमुख मिना उप्रेतीको अध्यक्षतामा शनिबार बसेको नेकपा मेचीनगर संसदीय दलको बैठकले जनप्रतिनिधिहरुको नाममा रहेको बेरुजु रकम पारिश्रमिकबाट मासिक रुपमा घट्ने गरी फिर्ता गर्ने निर्णय भएको उपप्रमुख उप्रेतीले जानकारी गराएकीछन् ।

उप्रेतीका अनुसार उपप्रमुख र वडा अध्यक्षहरुले प्रति महिना १० हजार र कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरुले प्रति महिना ५ हजारका दरले आफुले पाउने सेवा सुविधाबाट बेरुजु रकम फिर्ता गर्दै जाने नेकपा मेचीनगरको संसदीय दलले निर्णय हो । २०७६साल साउन महिनाकोदेखी नै लागु हुने गरि सो बेरुजु रकम फिर्ता गर्ने समेत निर्णय भएको छ ।

निर्णयमा मासिक रुपमा जम्मा गर्ने भनिए पनि आफ्नो नाममा देखिएको बेरुजु कार्तिक महिनामा एक मुष्ठ जम्मा गर्ने र वडा अध्यक्ष र सदस्यहरुले समेत कार्तिक महिना भरिमा सबैले बेरुजु चुक्ता गर्ने गरि सहमति भएको समेत उपप्रमुख उप्रेतीले बताईन् ।

नेकपाका जनप्रतिनिधिहरुले बेरुजु रकम फिर्ता गर्ने निर्णय गरे पनि काँग्रेस सम्बद्ध जनप्रतिनिधिहरुको नाममा रहेको बेरुजु कहिलेसम्म फिर्ता हुन्छ भन्ने बिषयमा भने काँग्रेस सम्बद्ध प्रतिनिधिहरुले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

नगरका प्रमुख, उपप्रमुख सहित ८० जना जनप्रतिनिधिहरुको नाममा रहेको ४५ लाख बेरुजु मध्ये ४ जनाले २ लाख रकम फिर्ता गरिसकेका छन् भने अब ४३ लाख बेरुजु रकम फिर्ता हुन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button