कुनै जमाना एकसेएक हिट फिल्म दिएका भेट्रान निर्देशित अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ शुक्रबारबाट देशैभर प्रदर्शनरत छ । फिल्म ‘अल्लारे’ को गीतको शिर्षक सापटी लिएर बनाइएको यो फिल्मबाट उनले आफ्नो छोरा अंकितलाई अभिनयमा डेब्यू गराएका छन्। फिल्ममा अहिलेकी सर्वाधिक डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाह केन्द्रिय भूमिकामा छिन् । अंकितसँग उनको जोडी बाँधिएको छ ।
वर्तमान समयको बलियो विषयवस्तु समेटेर सन्देशमुलक ढंगले निर्देशक शर्माले फिल्मको निर्माण गरेका छन् । तर, कमजोर पटकथा र प्रस्तुतीले फिल्म गतिलो बन्नबाट चुकेको छ । हँसाउनकै खातिर झिँजो लाग्ने संवाद थोपरिएको छ । कलाकारहरुको अभिनय उस्तै ठिटलाग्दो छ। न साम्राज्ञीको अभिनय उम्दा छ न त अंकितले नै प्रशंसनिय काम गरेका छन् । दुईको अभिनयले फिल्म हेरिरहँदा धेरै ठाउँमा आँखा विझाउँछ ।
कमिशन लिएर मान्छे विदेश पठाउने एजेन्टको भूमिकामा छन्, आकाश उर्फ अंकित । उसको हर सुःख दुःखमा साथ दिन्छन्, गणेश (बुद्धि तामाङ) र मोहित (रवीन्द्र झा) । गणेशको छिनछिनमा बिर्सने बानी छ । मोहितको भने ४० वर्ष पुग्न लाग्दा पनि बिहे भएको छैन । आकाश, दृष्टि (साम्राज्ञी) लाई औधि मन पराउँछ । तर, उसलाई आफ्नो मनको कुरा भन्न सक्दैन । जब दृष्टिको बिहे हुने थाहा पाउँछ तब भने उसले प्रेम अभिव्यक्त गर्छ ।
तर, अर्कै युवकसँग बिहे गरेर दृष्टि अमेरिका उड्छे । आकाश पनि विरक्तिएर अष्ट्रेलिया जान कस्सिन्छ । त्यस्तैमा उसले डिपेन्डेन्ट भिसामा लैजाने केटी भेट्छ । तर, कन्सल्टेन्सीमा १५ लाख बुझाउनु पर्ने भएपछि उसलाई एक म्यानपावरले ५० जना युवालाई विदेश पठाउन सके १५ लाख कमिशन दिने लोभ दिन्छ । यही लोभमा फसेर आकाश काका-काकीको घर पुग्छ, झापाको गैंडे गाउँ । उसको त्यहाँ अमेरिकाबाट फर्किएकी दृष्टि (साम्राज्ञी) सँग भेट हुन्छ ।
किन साम्राज्ञी अमेरिकाबाट फर्किएर गाउँ पुगिन् ? अंकित आफ्नो उद्देश्यमा सफल होलान् ? अंकित र साम्राज्ञीको प्रेम फेरि अंकुराउला ? फिल्म यही वरिपरि घुमेको छ । फिल्ममा कुनै ‘ट्विस्ट एण्ड टर्न्स’ छैनन् । न त क्लाइमेक्स नै पृथक छ । परम्परागत कथ्य शैली र संरचनाबाट मुक्त हुन नसिकेको फिल्ममा साम्राज्ञी गाउँले भूमिकामा छिन् । तर, उनले आफ्नो चरित्रलाई आत्मसात् गर्न सकेकी छैनन् । गाउँले चरित्रमा पनि उनी शहरियाझैँ लाग्छिन् ।
फिल्मको एक सिनमा उनले हिलो खेतमा गोरु जोतेकी छन्, जहाँ उनलाई सुनको लकेट र भर्खर पार्लरबाट सजिएर निस्किएझैँ देखिन्छ । त्यही सिनमा एक महिलाले खेतमै बच्चा जन्माउँछिन् । तर, उनलाई सफा ठाउँमा लगिँदैन । त्यस्तै, दशैंको एक सिनमा श्रीमान् वितेको एक वर्ष पनि नपुगि अरुण कार्कीले भतिज (अंकित) लाई टिका लगाइदिन्छिन् । तर, भतिजले दिएको रातो साडी लिन मान्दिनन् । यी र यस्ता त्रुटीपूर्ण दृश्य फिल्ममा अनगिन्ती छन् ।
बुद्धि तामाङ, रवीन्द्र झा, नीता ढुंगाना, खुश्बु खड्काले निभाएको चरित्रले फिल्मको मूल कथासँग कुनै सम्बन्ध राखेको छैन । निर्देशकले दर्शक हँसाउनका खातिर मात्र उनीहरुलाई प्रयोग गरेका छन् । निर्देशक शर्माले अभिनेत्री साम्राज्ञीको पहिरन परिवर्तनमा दिएको जति ध्यान फिल्मको पटकथामा खर्चिएको भए रातो टीका टलक्कै टल्किने थियो । तर, फिल्म निर्माणमा हतार गर्दा १ घण्टा ५४ मिनेट लामो ‘रातो टिका निधारमा’ झेल्न कम सकस पर्दैन ।
नेपाली फिल्ममा लामो रेसको घोडा बन्न अभिनेता अंकितले कडा मेहनत गर्नुपर्ने देखिन्छ । यद्यपि, डेब्यू फिल्म भएका कारण उनका केही कमी-कमजोरी माफ गर्न सकिन्छ । तर, यही स्तरको पात्र र अभिनयले उनलाई फिल्ममा टिक्न गाह्रो छ । अभिनेत्री साम्राज्ञीले पनि आफ्नो अभिनयमा सुधार गर्न आवश्यक देखिन्छ । हुनत, निर्देशकका कारणले पनि कलाकारको अभिनयमा धेरै फरक पर्छ । यसका लागि ‘मारुनी’ मा साम्राज्ञीको काम हेर्दा नै थाहा हुन्छ ।
‘रातो टिका निधारमा’ लाई प्रदर्शनपूर्व ‘स्योर सट हिट’ मानिएको थियो । तर, फिल्मले शुक्रबार र शनिबार अपेक्षाकृत व्यापार गर्न सकेन । आइतबार र सोमबार पनि फिल्मले दर्शकको चर्को अभाव झेल्नु परेको छ । साम्राज्ञीको स्टारडमका कारण फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने विश्वास निर्माण टिमलाई थियो । तर, कमजोर ‘वर्ड अफ माउथ’ का कारण फिल्मले हलमा दर्शक तान्न सकेको छैन । जसको फाइदा प्रदर्शनरत फिल्म ‘कबड्डी ३’ लाई भएको छ ।फिल्मीखबर अनलाइनबाट ।