
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले ८० वर्षयताकै खराव नतिजा आत्मसात गरेको छ । आइतबार राति घरेलु मैदानमा फियोरेन्टिनासँग ३–१ को लज्जास्पद हार बेहोर्दै मिलानले ८० वर्षअघिकै खराव नतिजालाई आत्मसात गरेको हो ।
सिरी ‘ए’ को शुरुवाती ६ खेलमा मिलानले ४ खेल गुमाइसकेको छ । दुई खेलमा जित हात पारेको छ । मिलानले १९३८–३९ मा यही नतिजा आत्मसात गरेको थियो । लगातार हारले प्रशिक्षक मार्काे जियामपाउलोमाथि दवाव बढेको छ । अबको खेलमा पराजित भए उनलाई क्लबले बखास्त गर्ने सम्भावना बढेको छ । चौथो हारसँगै मिलान (६) रेलिगेसन जोनभन्दा दुई स्थान माथि १६औं स्थानमा रहेको छ । फियोरेन्टिना ८ अंकसहित नवौं स्थानमा छ ।
सानसिरोका खेलको १४औं मिनेटमा इरिक पुल्गरको पेनाल्टी गोलबाट पाहुना टोली खेलमा अघि बढेको थियो । ५५औं मिनेटमा घरेलु टोली मिलान १० खेलाडीमा समेटिदा समस्यामा परेको थियो । भिएआरको सहायतामा फ्रान्क रिवेरीमाथि फल गरेका मिलानका माटियो पाब्लो मुसाकचियोलाई रेफ्रीले रातो कार्ड देखाउदै मैदान बाहिर पाठाएका थिए ।
त्यसको फाइदा फियोरेन्टिनाले उठायो । ६६औं मिनेटमा गेइटानो क्यास्ट्रोभिल्लीले गोल गर्दै फियोरेन्टिनाको अग्रता दोब्बर पारे । ७०औं मिनेटमा फेडरिको चिइसा पेनाल्टीमा चुके । इसमेइल बेनासरले क्यास्ट्रोभिल्लीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा फेडरिकोको प्रहार गोलरक्षक जियानलुजी डोनाररुम्माले बचाइदिए ।
७८औं मिनेटमा रिवेरीले गोल गर्दै टोलीको जित निश्चित जस्तै गरे । ८०औं मिनेटमा राफयल लियोले गोल गरेपनि मिलान खेलमा फर्कन सकेन र ३–१ ले पराजित हुन पुग्यो ।hamrokhelkud/from