एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडन हाजार्डले आफु पूर्ण रुपमा फिट भएको र उच्च प्रदर्शनका लागि तयार रहेको बताएका छन् । चेल्सीबाट यसै सिजन १ सय ३० मिलियन पाउन्डमा रियल पुगेका बेल्जियन स्टारले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । जसको एउटा मुख्य कारण चोट रहेको छ ।
साताको अन्त्यमा मड्रिड डर्बीमा उनले राम्रो प्रदर्शन गर्न सकेनन् । उनले खेलमा प्रभाव छाड्न सकेनन् । क्लब ब्रुगविरुद्ध मंगलबार हुने च्याम्पियन्स लिगको समूह चरणमा उनी आफुले राम्रो प्रदर्शन गर्नेमा आशावादी छन् । रियलले यसपटक च्याम्पियन्स लिग अन्तर्गत पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग लज्जास्पद हार बेहोरेको थियो ।
प्रशिक्षक जिनेदिन जिदानसँग प्रि म्याच कन्फ्रेन्सनमा उपस्थित भएका हाजार्डले आलोचनाले आफुलाई खासै फरक नपर्ने बताएका छन् । ‘ अहिले म ठिक छु । यो सहि हो मबाट समर्थकले धेरै आशा राख्नु भएको छ । व्यक्तिगत रुपमा म पनि यो भन्दा राम्रो गर्न सक्छु भन्ने लाग्छ,’ उनले भने,‘ हो स्वभाविक रुपमा सोचे अनुरुप नखेल्दा ओलोचना हुन्छ । अहिले सबै चिज सोचे जस्तो भएको छैन । अब म शतप्रतिशत ठिक छु। आउने खेलमा म राम्रो गर्नेमा आशावादी छु ।’
आफ्नो स्तरलाई प्रमाणित गर्नुपर्नेमा सचेत रहेको उल्लेख गर्दै उनले थपे, ‘ मैले फ्रान्समा बेल्जियमका लागि जस्तो प्रदर्शन गरे । चेल्सीमा जसरी खेले । अब मैले आफुलाई यहाँ प्रमाणित गर्नुपर्ने भइको छ । समर्थकलाई गर्व गर्ने ठाँउ दिनेछु ।’