
एजेन्सी – स्पेनिस क्लब रियाल म्याड्रिडका पुर्व सहकर्मीद्धय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुआइनको गोलको सहयोगमा इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ ।
घरेलु मैदान टुरिनमा मंगलबार राति भएको खेलमा युभेन्टसले जर्मन बायर लिभरकुसेनमाथि ३–० को सहज जित निकालेको हो । अर्काे एक गोल फेडरिको बर्नाडडेस्चीले गरे ।
खेलको १७औं मिनेटमा हिगुआइनको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ६२औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा पाउलो डिब्यालको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।
यस्तै रोनाल्डोले लिभरकुसेनविरुद्ध गोल गरेपछि इतिहास समेत बनाएको छ । उनले च्याम्पियन्स लिगमा ३३ क्लबविरुद्ध गोल गर्दै इतिहास बनाएको हो । च्याम्पियन्स लिगमा रोनाल्डोको कीर्तिमानै कीर्तिमान छ । उनी एक सिजन बढी गोल गर्ने खेलाडी र सर्वाधिक ६ पटक फाइनल खेल्ने एक्ला खेलाडी हुन् ।
जितसँगै समूह ‘डी’ मा युभेन्टस २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । गोल अन्तरमा स्पेनिस क्लब एट्लेटिको मड्रिड अघि छ । लिभरकुसेन अंकविहीन हुदै पुछारमा छ । रसियन लोकोमोटिभ मस्को ३ अंकसहित तेस्रो स्थानमा छ ।