काठमाडौं- दसैंको समयमा बढी बिक्री हुने खसीबोकाको स्वास्थ्य र मासुको गुणस्तर थाहा नपाउँदा उपभोक्ता ठगिन सक्ने भन्दै खसीबोकाको स्वास्थ्य परीक्षण सुरु भएको छ।
विभिन्न स्थानबाट काठमाडौं उपत्यका ल्याइएका खसीबोका निरोगी भए/नभएको बारे काठमाडौं महानगरपालिका र विभिन्न सरकारी निकायले संयुक्त रुपमा अनुगमन सुरु गरेका छन्।
सोमबारदेखि काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र पशु सेवा विभागको संयुक्त टोलीले खसीबोकाको सिङमा रङ लगाउने काम गरेको हो।
खसीबोकाको शारीरिक परीक्षणपछि स्वस्थ र मासु खान मिल्ने भएमा सिङमा हरियो रङ लगाइनेछ भने रोगी र अस्वस्थ भेटिएमा रातो रङ लगाइनेछ। संयुक्त टोलीले सोमबार कलंकीको चौपाया बिक्री केन्द्रका खसीबोकाको स्वास्थ्य परीक्षण गरी सिङमा रङ लगाउने काम सुरु गरेको छ।
उपत्यकाका मुख्य पशुबजारमा पुगेर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका वरिष्ठ अधिकृत दीपकराज पोखरेलले जानकारी दिए।
त्यसैगरी, खाद्य संस्थानले बेचिरहेको खसी, बोका तथा च्यांग्राको हकमा पनि बेच्नुअघि पशु चिकित्सकले निरोगी भएको पुष्टि गरेपछि मात्रै बेचिने खाद्य संस्थानले जनाएको छ।स्वास्थ्य खबरपत्रिका