कला

‘सरौतो’ : सुमीको एक्सन राम्रो तर पटकथामा कमजोरी

फिल्मीखबर, काठमाडौं
गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार फेरि सुस्ताएको छ । आशा गरिएका फिल्मले समेत हलमा दर्शक तान्न सकेका छैनन् । यसबीच, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सरौतो’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको थियो । तर, यो फिल्मलाई पनि दर्शकले पत्याएका छैनन् ।

पटक पटक प्रदर्शन मिति सर्दा रिलिजपूर्व खासै राम्रो हाइप बनाउन नसकेको फिल्मले सुरुवाती दिनदेखि नै दर्शकको चर्को अभाव झेल्दै आएको छ । फिल्म हेर्ने दर्शक नहुँदा मल्टीप्लेक्सहरुले दिनहुँ सोज घटाइरहेका छन् । सिंगल थिएटरमा पनि त्यस्तै हालत छ । वितरक कम्पनीले भने चिसो मौसमका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुन नसकेको बताएको छ ।

चर्चित छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा अभिनेत्री सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । बहिरा युवतीको भूमिकामा रहेकी उनलाई फिल्ममा एक्सन अवतारमा प्रस्तुत गरिएको छ । एक्सनमा आफूलाई ढाल्न उनले डेढ वर्ष मार्सल आर्टको तालिम लिएकी थिइन् । उनको त्यो मेहनत पर्दामा देखिन्छ । फिल्ममा उनले प्रशंसायोग्य काम गरेकी छन् ।

सुमीको एक्सनले फिल्मको धेरै कमी-कमजोरीलाई भुलाउँछ । तर, उनको अभिनयले भने उत्तिसाह्रो मन छुँदैन । यद्यपि, उनले एक्सनमा राम्रो सम्भावना देखाएकी छन् । ‘सरौतो’ चुकेको भनेको कथा, पटकथा र प्रस्तुतीमा हो । कथामा नयाँपन छैन । वर्षौदेखि हेर्दै आएको कथालाई नयाँ आवरणमा पेश गरिएको छ । फिल्म हेर्दै जाँदा कथा कहाँ मोडिन्छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

पुरानै घिसिपिटी कथा भए पनि पटकथा बलियो भएको हुन्थ्यो भने २ घण्टा १९ मिनेट लम्बाईको यो फिल्म झेल्न दर्शकलाई मुश्किल हुँदैन थियो। तर, पटकथामा मेहनत पुगेको छैन ।त्यस्तै, फिल्मको प्रस्तुतीकरण पनि फितलो छ । एउटै दृश्य थुप्रै पटक दोहोर्‍याइएका छन् । यद्यपि, एक्सन जनरामा महिला केन्द्रित फिल्म बनाउने जोखिम उठाउनु हरि प्रशंसाका हकदार हुन् ।

फिल्मको राम्रो पक्ष भनेको सुमीको एक्सनसँगै छायांकन पक्ष हो । छायाँकार उत्तम हुमागाईंले कथाको मर्मअनुसारको दृश्य खिचेका छन् । त्यस्तै, द्वन्द्व निर्देशक शंकर महर्जनको काम पनि तारिफयोग्य छ । फिल्मका प्रमुख अभिनेता सन्नी सिंंह आफ्नो भूमिकामा फिट लाग्दैनन् । तर, खलनायकको भूमिकामा रहेका अभिनेता आमिर गौतमको अभिनयले भने दर्शक बाँध्न सक्छ ।

‘सरौतो’ मा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, विजय लामा, लियो ट्यांक, अरुणा कार्की, सुवाङ्गम शाह, युवराज लामालगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा राघव कृष्ण गौतमले लेखेका हुन् । फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र भिटेनको संगीत छ । फिल्मलाई दर्शकबाट राम्रो/नराम्रो दुबै खाले प्रतिक्रिया मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button