खेलकुद

‘भारतले खेल जित्यो, नेपालले मन’

क्रियटिभ भ्वाइस

टीएस ठकुरी

स्पेनी पुर्व स्टार जाभी अलोन्सो भन्थे, –‘फुटबलमा परिणामले मात्रै सबै कुरा भन्दैन । तपाई अति राम्रो खेल्नुहुन्छ, तर जित सधैं तपाईंको पोल्टामा नपर्न सक्छ ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा मंगलबार सम्पन्न महिला भलिबलको उपाधि भिडन्तको परिदृष्यले भन्छ –‘फुटबल मात्र हैन, भलिबलमा पनि परिणामले सबै कुरा भन्दैन । राम्रो खेल्दाखेल्दै पनि जित पोल्टामा नपर्दो रहेछ ।’

उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राख्दै नेपाली टोलीले कोर्टमा साँच्चिकै बहादुरी देखायो । जहाँ नेपाली खेलकुदको समग्र नेतृत्व उपस्थित थियो । त्यो भन्दा पनि बढ्ता सच्चा भलिबल प्रेमी दर्शक प्रत्यक्षदर्शी थिए । दर्शक संख्याका हिसाबले साँच्चिकै लोभलाग्दो माहोलमा राम्रो खेल्दाखेल्दै पनि नेपालले परिणाम हात पार्न सकेन, मन भने सबैको जित्न सफल भयो ।

नतिजा आफ्नो पोल्टामा पार्न नसकेपछि भावविह्वल बनेकी कप्तान अरुणा शाहीलाई हेरेर धेरैका आँखा रसाए । सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा गाइड शेर्पाबाट अक्सिजन सकिन लागेको संकेत पाउँदा पनि आरोही फर्कन मान्दैनन्, ज्यानको बाजी लगाएर चुचुरो चुम्न खोज्छन् । संसारकै सर्वोच्च शिखरमा पुग्नुको आनन्द सायद अरुलाई थाहा हुँदैन । तसर्थ जितको नजिकै पुग्दा पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि अरुणाले मन थाम्न सकिनन् । उनीसँगै नेपाली टोलीको सदस्यहरुका आँखा पनि टिलपिल टिलपिल थिए ।

यथार्थमा अरुणाको कप्तानी इनिङ सफल भएको छ । एउटा इतिहास स्वर्ण अक्षरले लेखिसकिएको छ । नेपाली टोलीका सबै सदस्य इतिहासको पानामा सुचिकृत भइसकेका छन् । किनकी नेपाल पहिलोपटक सागमा फाइनल प्रवेश गरेको हो । र, भारतसँग त्यसरी भिंडेको पनि पहिलोपटक नै हो ।

वास्तवमा हारजित खेलमा प्राविधिक पक्ष हो । जित्नुपर्ने आम दर्शकको मन नै हो । त्यसैले त भनिन्छ खेल कला हो, सीप हो, क्षमता हो । त्यही कलाले सबैको मन जित्छ । हुनत युद्धशास्त्रले जितलाई नै सर्वोपरि ठान्छ, खेलशास्त्रको नियम अलिक बेग्लै छ । यसले हार्न पनि सिकाउँछ । राम्रो खेल पस्कन प्रेरित गर्छ । विश्वकपमा क्रोयसियाले मन जितेको थियो, फ्रान्सले विश्वकप ट्रफी उचाल्यो । त्यसैले भन्न सकिन्छ, खेलशास्त्रले जितहारलाई प्राविधिक पक्षका रुपमा लिन्छ । अनिवार्य शर्त भनेको राम्रो खेल्न प्रेरित गर्नुमात्र हो ।

साग इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेर पनि उच्चकोटीको खेल पस्किएर पनि उपाधि चुम्नबाट बञ्चित नेपाली टोलीमाथि सहानुभुति, माया र प्रेमका शब्दहरु सामाजिक सञ्जालमा छरपस्टिएका छन् । प्राय सबैले भनेका छन् –‘भारतले खेल जित्यो, नेपालले मन ।’ साँच्चिकै अब नेपालको सर्वाधिक लोकप्रिय खेल भलिबल भनेको खेल मात्र रहेन, मन जित्ने साधन पनि बनेको छ । भलिबल पनि अब जीवन जिउने कला हो, प्रतिस्पर्धा गर्न सिकाउने माध्यम हो, अनुशासन हो, भातृत्वको भावना हो, मैत्री सम्बन्ध कायम गर्ने विधा हो । कम्तीमा यति भन्न सकिने आधार तयार गरिदिएको छ महिला भलिबलले ।

त्यसैले त खेल भनेकै एकता, अनुशासन, प्रतिस्पर्धा, परिणाम, मनोरञ्जन र व्यायामको स्रोत पनि हो । मानव समाजलाई छोटो समय बिभिन्न टिमका नाममा बिभाजित बनाएपनि यसले मित्रता र उर्जा बढाउने काम पनि सँगसँगै गरिरहेकै हुन्छ । दक्षिण एशियाली राष्ट्रहरुमाझ यो सन्देश प्रवाह भएकै छ ।

हुन त भलिबल मात्र हैन, समग्र खेलकुदले एकता, भातृत्व र प्रतिस्पर्धाको भावनालाई बढाइदिन्छ । जीवनलाई जीवनजस्तै राख्न खेलको ठुलो भुमिका छ । खेलहरुले मैत्रीपुर्ण भावनाको विकास गराउँछ । आपसमा सहयोग र आदानप्रदान गर्न सिकाउँछ । हामीले फुटबल, भलिबल मात्र नभएर अन्य सारा खेलहरुबाट सिक्न सक्ने कुरा पनि सायद यही हो ।

हामीले दिनुपर्ने चाहि खेल संस्कार खास बिषय हो । खेल संस्कृतिको प्रवद्र्धन मुख्य कुरा हो । हारजित भन्दा पनि खेलकुदको मर्म र भावनालाई आत्मसात गर्न सिकाइ आपसी भाइचाराको सन्देशलाई प्रवाह गर्नु हरेक अभिभावकको कर्तब्य हो । विद्यालयको जिम्मेवारी हो ।

वास्तवमा जीवनलाई भलिबलसँग तुलना गर्नु सान्दर्भिक देखिन्छ । जति नै मेहेनत र परिश्रम गर्दा पनि सदृष्य परिणाम हात नपर्न सक्छ मान्छेको जीवनमा । सागमा मेहनत गर्नेहरु र राम्रो खेल्नेहरु अरुपनि थिए । उनीहरु अन्तिमसम्म टिक्न सकेनन्, रहन सम्भव पनि हुँदैन । किनकी उपाधि भिडन्तमा उत्रने त दुई टिम मात्र हो । यसहिसाबले भाग्यमानी नेपाल र भारत नै रहे यसपटक ।

साग हामी सबैका लागि बहुप्रतिक्षित थियो । दश बर्षे जनयुद्ध र ७२ सालको महाभुकम्पपछि नेपाल शान्त छ, समृद्धिको बाटो पछ्याउँदै छ भन्ने देखाउनु थियो । तसर्थ उपविजेता बन्दा पनि हाम्रो खुशी दक्षिण एसियाली राष्ट्रहरुसम्म पुराउन हामी सफल भएका छौं । तसर्थ समग्र नेपाली समर्थक उपविजेतामै पनि खुसी देखिए । देशलाई खुसी बाँड्न नसकेपछि मन थाम्न नसकेकी भलिबल क्वीन अरुणाका आँसु पुछ्न सायद सबै तयार थिए । यसैमा उपराष्ट्रपति नन्दबहादुर पुनले आत्मियता प्रकट गरे, पुरा समय कभर्डहलमा बिताएर उनले आफु सच्चा अभिभावकको दृष्टान्त पेश गरे ।

भलिबल कभर्डहल साँच्चिकै साँघुरो भइसकेछ । कैयन दर्शक आज प्रत्यक्षदर्शी बन्ने अवसरबाट बञ्चित रहे । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनार, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्यसचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ साक्षी बनेको मंगलबारको परिदृष्यले अब नेपालमा भलिबलको लोकप्रियता चुलिएको पुष्टि गरिसकेको छ । राष्ट्र र राष्ट्रियता हाम्रालागि जसरी सदैव शिराधार्य हुन्छ, त्यसैगरी राष्ट्रिय खेल पनि राज्यको उच्च प्राथमिकतामा हुनैपर्छ । यसतर्फ नेतृत्वको ध्यान जानैपर्छ । अन्यथा इतिहासले गिज्याउनेछ ।hamrokhelkud

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button