
काठमाडौं, मङ्सिर १८ गते । नेपालले दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्णमा शतक पदक जितेको छ । नेपालका लागि तेक्वान्दोका सक्षम कार्कीले तेह्रौं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो विधा अन्तगर्त पुरुष ८७ किलो तौल समुहमा स्वर्ण पदक जित्नुभएको छ । जितसँगै नेपालले दक्षिण एसियाली खेलकुद इतिहासमा स्वर्ण पदकको संख्या एक सय पुर्याएको छ । सक्षमले तेह्रौं सागमा नेपाललाई २९ स्वर्ण दिलाउनुभयो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सक्षमले पाकिस्तानका वकर अली शाहलाई पराजित गर्नुभयो । उहाँले स्वर्ण पदकको लागि भएको स्पर्धामा शाहलाई २७–९ ले हराउनुभयो ।
बाह्रौं सागसम्म ७१ स्वर्ण जितेको नेपालले तेह्रौं सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ । स्वर्णमा शतक पदक प्राप्त गर्न भने नेपाललाई २९ पदकको कमी थियो । सक्षमले पाकिस्तानका शाहलाई हराएर ऐतिहासिक पदक आफ्नो नाममा गराउनुभयो ।
सन् १९८४ को पहिलो सागमा नेपालले चार स्वर्ण जितेको थियो ।गोरखापत्र अनलाइन