
सुशीला रेग्मी
रामपुर। पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा उत्पादन भएको साइलेज (घाँसलाई गुन्द्रक बनाउने) को माग बढ्दो छ । यहाँ उत्पादन भएको साइलेज अहिले विभिन्न जिल्लामा खपत हुने गरेको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ ।
पशु आहारका लागि राम्रो मानिने साइलेज जिल्लाको रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु. २५ लाख र कामधेनु गाई फार्मको रु. २५ लाखको सहकार्यमा साइलेज उत्पादन शुरु गरिएको हो । यसै वर्ष रामपुरमा स्थापना गरिएको सो उद्योगमा हालसम्म करिब रु एक करोड जति लगानी भएको छ ।
दुई सय रोपनी जग्गा भाडामा लिएर लगाइएको मकैको घाँसबाट साइलेज बनाउन थालिएको छ । साइलेज पशुलाई खुवाएमा दूध उत्पादन वृद्धि हुने, पशुको नश्ल सुधार हुने हुँदा पशु उत्पादन राम्रो मानिन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सजिलो पर्नेछ ।
सो उद्योगबाट पहिलो पटक उत्पादन भएको ३५ टन साइलेज बुटवल, पोखरा, स्याङ्जा, भैरहवा, पाल्पा लगायतका विभिन्न जिल्लामा खपत भइसकेको छ । दोस्रो पटक उत्पादन गरिएको साइलेज अहिले बिक्री गर्ने कार्य भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउनुहुन्छ ।
“परीक्षणका रुपमा पहिलोपटक उत्पादन गरिएको साइलेज राम्रो भएपछि अहिले धेरै माग आएको छ, ठूला ठूला व्यावसायिक फार्ममा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको साइलेज प्रतिकिलो रु १२ मा बिक्री भइरहेको छ । साइलेजको माग बढ्न थालेपछि जग्गा थप गरेर उत्पादन बढाउने र यहाँ उत्पादन भएको साइलेजले ५ नम्बर प्रदेशलाई पु¥याउने अर्का सञ्चालक रामप्रसाद पोखरेलले बताउनुभयो ।
“साइलेजको माग बढेकाले जग्गा बढाएर उत्पादन बढाउने र बाहिरबाट ठूलो परिमाणमा भित्रने साइलेजलाई निरुत्साहित गर्ने अभियानका साथ व्यवसायमा लागेका छौँ”, पोखरेलले भन्नुभयो । बाहिरी जिल्लामा ढुवानीसहित प्रतिकिलो रु १३ मा फार्ममै साइलेज पु¥याउने सुबिधा र उत्पादित साइलेज राम्रो भएपछि ठूला पशुफार्म व्यवसायी रामपुरको साइलेजमा आकर्षित हुन थालेका हुन् ।
सङ्घदेखि स्थानीय तहसम्म औद्योगीकरणको विकास प्राथमिकतामा राखिएका अवस्थामा रामपुर नगरपालिकामा ठूलो लगानीमा थालनी गरिएको यस उद्योगमा आकर्षण बढेको छ । उद्योग सञ्चालनमा आएपछि यहाँका स्थानीयले रोजगारी समेत पाएका छन् ।
रामपुरका अगुवा भँैसीपालक कृषक कृष्णकुमार अर्यालले यसभन्दा अगाडि आफ्नै ढुवानीमा प्रतिकिलो रु १५ मा भारतको पन्जाबबाट साइलेज खरीद गरेर पशुुलाई खुवाउँदै आउनुभएको थियो । रामपुरमै उत्पादन भएपछि साइलेज खरिदका लागि अन्यत्र भौतारिनु नपरेको अर्याल बताउनुहुन्छ ।
“साइलेज खरीद गर्न आउन जानको झण्झट, समयको बर्बादी, अहिले गाउँघरमै जति भने पनि पाइएको छ, बाहिरबाट ल्याएको साइलेज र यहाँ उत्पादन भएको साइलेजमा कुनै फरकपन छैन, धेरै सजिलो भएको छ”, अर्यालले भन्नुभयो ।
आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित उत्तम साइलेज उद्योग, देवदह नगरपालिकामा सञ्चालित शुभारम्भ एकीकृत कृषि फार्म र पाल्पाको कामधेनु गाईफार्मलाई २५/२५ लाख गरी रु ७५ लाख अनुदान उपलब्ध गराएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं ५ रुपन्देहीका सूचना अधिकारी डा भक्त निउरेले बताउनुभयो ।
प्रदेश नं ५ का १२ जिल्लामै सानासाना मेशिनबाट साइलेज उत्पादन गरिँदै आए पनि ठूलो उद्योगको रुपमा भने रुपन्देही र पाल्पामा मात्र शुरु भएको उहाँको भनाइ छ । दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
दुई महिनासम्म प्लाष्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । बजारमा अहिले प्रतिकिलो रु १२ मा बिक्री भइरहेको छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी नामक घाँसबाट पनि बनाउन सकिन्छ । साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुदा साइलेजप्रति कृषकको आकर्षण बढेपनि उत्पादन कम हुँदा पु¥याउन समस्या परेको छ । आमाको दूध खाँदै गरेका बाँच्छाबाँच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैसीलाई खुवाउने गरिन्छ ।
साइलेज उत्पादन शुरु गर्न थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गा सदुपयोगमा आउन थालेका छन् । रामपुरमा नयाँ प्रविधिका रुपमा साइलेज उत्पादन शुरु भएपछि पशुपालन गर्ने कृषकलाई व्यवसायमा हौसला मिलेको छ ।krishipatrika.com