
इटहरी। बलात्कार काण्डमा तानिएका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको कनेक्सन देशी–विदेशी शक्ति केन्द्रसम्म रहेको पाइएको छ ।
गिरीले आफुलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म दर्शनका ज्ञाता र विभिन्न विश्व विद्यालयबाट विद्यावारिधी गरेको बताएर विभिन्न गतिविधी गर्दै आएका थिए । यी गतिविधी गर्दा राष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कुटनीतिज्ञ नियोगका प्रमुखसँगै विदेशी शक्ति केन्द्रलाई समेत ‘कन्भिन्स’ गरेर ल्याउने गर्थे । उनकोमा नामूद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त निम्तो गर्न साथ पुग्थे ।
गिरीले २०६४ सालमा आयूर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे । त्यो बेला क्रान्तिकारी कम्यूनिष्ट नेता पुष्पकमल दाहाललाई झिकाएर भैसी पूजा गराए । दाहालपछि आयूर्वेदिक विश्व विद्यालयको सिलान्यास गर्न तत्कालिन नेपालका लागि भारतीय राजदुत रञ्जित रेलाई डाके ।
पूर्व माओवादी सरकारमा हुँदा थुपै्र पटक मन्त्री भएका र अहिले बलात्कार आरोपमै पुर्पक्षका लागि कारागार चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि गिरीकोमा आर्शिवाद लिन आएका थिए ।
गिरी २०६३ सालदेखि चतरामा बस्न थालेका हुन् । बालसन्त देवाचार्यको सम्पर्कमा आएपछि गिरी त्यही आश्रममा बस्न थाले । उनलाई बालसन्तले साधु बनेका गिरीलाई धर्म, कर्मकाण्ड, वेद, उपनिषद अध्ययन गरेर सार्वजनिक पुराण वाचन कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरे । बालसन्तले नै गिरीलाई सिकाउदै पहुँचवालासँग परिचय गराए ।
गिरीले एकपछि अर्को गतिविधी अघि बढाउँदै लगे । ती गतिविधमा उनको मुख्य ध्येय नै शक्ति केन्द्रमा रहेका शीर्ष व्यक्तिलाई डाक्ने हुने गथ्र्यो गिरीममक्ष पूर्व मन्त्री कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, एनपी साउद, बिजयकुमार गच्छदार, लालाबु पण्डितलगायतका नेता पनि बेला बेलामा आएर आर्शिवाद लिने गर्थे ।
२०६५ सालतिर अहिलेका प्रधानमन्त्री केपी ओली, नेता प्रदिप नेपाल र मोदनाथ पश्रित गिरीको अवलोकन गर्नकै लागि आएका थिए । उनकोमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीस दामोदर शर्मा, पूर्व निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलगायत पनि आर्शिवाद लिने आउथे ।
राष्ट्रपति, प्रधानमन्त्री, उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री र भारतीय अधिकारी लाई समेत प्रभावमा पार्न सक्षम उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई त दुईपटक डाकी सके ।
उनले अघिल्लो फागुनमा महिना दिनसम्म चलेको वातावरण प्रदुर्षणलाई शुद्धीकरण गर्ने उद्धेश्य राखेर चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञ तथा प्रदेश नं. १ लाई हरित क्रान्ति अभियान बनाउने घोषणा कार्यक्रमको उद्घाटन राष्ट्रपति भण्डारीले नै गरेकी थिइन् । त्यो बेला प्रदेश नं. १ ले उनलाई हरित क्रान्ति अभियानकाा निम्ति आर्थिक सहयोग पनि गरेको थियो । त्यतिबेला गिरीले प्रदेश नं. १ का मुख्यमन्त्री राईंभन्दा आफूलाई माथिल्लो स्तरमा राखेर अभिव्यक्ति दिएका थिए । अनि राईले पनि गिरीलाई आफूले विश्वास गरेको व्यक्ति भएको प्रतिक्रिया दिएका थिए ।
तारकब्रह्म महायज्ञ आयोजना गरेकै बेला उनले सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरको पश्चिम किनारको १३ विगाहा जग्गामा रातारात आठ करोड लागतको १२८ कोठे भवन निर्माण गरेका थिए । चतराको नहरमा बसेका कोशी विस्थापितका परिवारलाई पाँच बर्षअघि सरकारले डोजर स्काभेटर जेसिवि र बल प्रयोग गरेर हटाएपनि गिरीले भने साधु भएकै भरमा नक्सा पनि पास नगरिकन भवन निर्माण गरे । प्रशासनले पनि छुन सकेन् ।
सुनसरीको हरिपुरमा शसस्त्र द्धन्द हुदा मधेशी टाइगरले ०६४ कातिकमा खेदाएका ५८ परिवार मध्ये ४२ परिवार आयोजनाको चतरा नहरको डिलमा बसेका थिए । तिनीहरु सवैलार्ई प्रहरी प्रसासन लगाएर उठाएको थियो । गिरीले निर्माण गरेको भवनको राष्ट्रपति भण्डारीबाटै उद्घाटन गरिएको थियो ।
गिरीकै निम्तोमा तारकब्रह्म महायज्ञको बेला पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधनकुमार नेपाल र काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आइ पुगेका थिए । यी तीनै जना नेता उद्घाटनका क्रममा उपस्थित नभएपनि महायज्ञ चलिरहेका बेला बीचबीचमा सहभागी भएका थिए ।
राष्ट्रपति भण्डारी २०७४ सालमा राम नवमीको अवसर पारेर आयोजना गरिएको भू समाधीमा पनि सहभागी भएकी थिइन् ।
२०७५ मै योग दिवसको अवसरमा आयोजित कार्यक्रमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसहित अन्य प्रदेश मन्त्री सहभागी भएका थिए । उनकोमा आइ नपुग्ने शीर्ष व्यक्ति नगन्य छन् । प्रधानमन्त्री भएकै बेला शेरबहादुर देउवा २०७४ जेठ अन्तिममा श्रीमती आरजुलाई लिएर गिरीसमक्ष आर्शिवाद लिन आइ पुगेका थिए ।
आयुर्वेद विश्वविद्यालय खोल्नको लागि राजनीतिक दलका नेतादेखि प्रशासनसम्म लबिङ गरेका थिए । उनले आफ्नोे आश्रम छेउमा सुविधा सम्पन्न अतिथी गृह बनाएका छन् ।
उनले पोखरा र चतरामा भू समाधी बसेर चर्चा बटुलेका थिए । गिरीले आफ्ना अनुयायीलाई भन्ने गर्थे, ‘जमीनमुनी समाधी बस्न, हावामा उड्न र जलभित्र लामो समयसम्म बस्न सक्छु ।’ पोखरामा त उनलाई २०७५ चैतमा नागरिक अभिनन्दन समेत गरिएको थियो । उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारी, नेपाली मिडियाका मालिकहरु समेत आफ्नो भक्त भएको ‘गफ’ दिने गर्थे ।
गिरीले कार्तिक ४ गते आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको आरोप लागेको छ। गिरीबिरुद्द कास्की घर भई काठमाडौं बस्दै आएकी महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । उनका श्रीमान मजदुरी काम गर्छन् । २९ वर्षे महिलाका दुई जना छोराछोरी छन् ।
उनीबिरुद्ध सुनसरी प्रहरीमा उजुरी परेपछि सोमबार बिहान गिरीलाई पक्राउ गरेर अहिले अनुसन्धान चलिरहेको छ। अदालतले सोमबार गिरीलाई चार दिने अनुसन्धानको म्याद दिएको हो ।प्रकाशित मितिः मंसिर १९, २०७६ सञ्चारपाटी