खेलकुद

नेपालको जितमा बनेका ४ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि जित निकाल्दै निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा कायमै राखेको छ । तुलनात्मक रुपमा कमजोर भुटानमाथि ब्याटिङ हाबी बनेको नेपालले स्तर अनुसार बलिङ र फिल्डिङमा प्रर्दशन गर्न सकेन । खेलपछि कप्तान ज्ञानेन्द्र मल्लले पनि बलिङ र फिल्डिङ प्रति सन्तुष्ट नरहेको बताए ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा बनेको कीर्तिमान तोडेको छ । भुटानमाथि फराकिलो जित निकाल्दा नेपालको नाममा ४ कीर्तिमान बनेका छन् ।

४. पहिलो विकेटमा उच्च साझेदारी

नेपाललाई विशाल योगफल सम्म पुर्याउन कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले पहिलो विकेटका लागि १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । आक्रामक रन जोडेको नेपालको शतकीय साझेदारी नवौं ओभरको दोस्रो बलमा कर्मा दोर्जेले पारसलाई क्याच आउट गर्दै तोडेका थिए । गत जुलाईमा मलेसियाविरुद्ध प्रदीप ऐरी र ज्ञानेन्द्रले ६६ रनको साझेदारी गरेका थिए । जुन नेपालको लागि यस अघि पहिलो विकेटका लागि उच्च रहँदै आएको थियो ।

३. एकै इनिङमा सर्वाधिक रन

भुटानविरुद्ध ज्ञानेन्द्रले ५५ बलमा ९ छक्का र ५ चौका सहित १ सय ७ रनमा अविजित रहेका थिए । जुन नेपालको लागि कुनै पनि ब्याट्सम्यानले बनाएको एकै इनिङमा सर्वाधिक रन हो । यस अघि पारसले गत असोजमा सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए । करिअरकै पहिलो टि ट्वान्टी शतक प्रहार गरेका ज्ञानेन्द्र म्यान अफ द म्याच चुनिए ।

२. सर्वाधिक ठूलो योगफल

२ सय ३६ रन टि ट्वान्टी आईमा नेपालको लागि उच्च योगफल हो । यस अघि नेपालले गत जुलाईमा मलेसियाविरुद्ध ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । जुन नेपालको लागि उच्च योगफल रहँदै आएको थियो । टि ट्वान्टी विश्वमा भने एकै खेलमा सर्वाधिक रन अफगानिस्तान र चेक रिपब्लिकनको नाममा छ । अफगानिस्तानले आयरल्यान्डविरुद्ध र चेक रिपब्लिकनले ट्रर्कीविरुद्ध २ सय ७८ रन बनाएका छन् ।

१. सर्वाधिक ठूलो जित

नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गर्यो । यो नेपालले टि ट्वान्टी आईमा जित हात पारेको सर्वाधिक ठूलो जित हो । नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपको कीर्तिमान तोडेको हो । टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० रनले हराएको थियो । जुन टि ट्वान्टी आईमा नेपालको लागि सर्वाधिक ठूलो रन अन्तरको जित रहँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button