उपत्यकाका सडक सुधारका लागि कार्यदल गठन


२० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको समग्र सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा अध्ययन गरी त्यसको सुधारका लागि कार्ययोजना बनाउनेछ ।

कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, सडक विभागका निर्देशक शिवहरि सापकोटा, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक, काठमाडौँ महानगरपालिकाका सहरी विकास महाशाखा प्रमुख उत्तर रेग्मीलगायतका सदस्य छन् ।

कार्यदलले केही समयभित्रैमा काठमाडौंका सबै सडकको अवस्था बुझेर अब सरकारले गर्नुपर्ने कामको योजना बनाउने सडक विभागका निर्देशक शिवहरि सापकोटाले बताए ।

विभिन्न सडकमा पैदलयात्रु मार्ग (फुटपाथ) को अवस्था, आकाशेपुल, सडक बत्ती, सडक पार गर्ने ठाउँ (जेब्राक्रसिङ) लगायतका पूर्वाधारका बारेमा अनुगमन हुने उन्ले बताउ । उनले भने, ‘सडक र त्यहाँ रहेका पूर्वाधारको अवस्थाका बारेमा समग्र जानकारी लिएर त्यसकै आधारमा अघि बढिनेछ ।’

सडक निर्माण र सुधारका क्षेत्रमा कार्यरत वा सडकसँग प्रत्यक्ष वा परोक्ष सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदलले सडक सुधारका लागि कार्ययोजना बनाउने बताइएको छ ।

सडक स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि रहेका कानूनीलगायतका अवरोधसमेत हटाउने योजना छ । कार्यदलमा रहेका निकायहरुले आगामी दिनमा कसले के गर्ने भन्नेसमेत तय हुने निर्देशक सापकोटाले बताए । ‘हामी केही दिनदेखि नै स्थलगत अध्ययन गर्नेछौं’, उनले भने ।-रासस