खबर

‘लैंगिक हिंसा विरुद्ध सबै पक्षको एकता आवश्यक’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले दे शव्यापी रुपमा सञ्चालन भइरहेको छ । यसअघि पनि हिंसाजन्य घटना नियन्त्रण गर्न भन्दै सचेतनामूलक कार्यक्रम नभएका भने होईनन् । समाज क्रमशः शिक्षित र सचेत बनिरहँदा हिंसाका घटना भने रोकिएका छैनन् । आपराधिक घटना रोक्न दर्विलो कानुन बनाएर दोषिमाथि सजाय भएपनि घटना बढ्दो क्रममा छ । बलियो कानुन निर्माण र घटनामा संलग्नलाई कार्वाही गरेर मात्र हिंसामा कमी नआउने अगुवा महिलाहरुको साझा धारणा छ । यी र यस्ता घटना निस्तेज पार्न हरेक व्यक्तिले सचेततापूवर्क अग्रसरता लिनुपर्ने उनीहरुको तर्क छ । अभियान चलिरहँदा यसै सन्दर्भमा अगुवा महिलाहरुसँग जन–संसद्का डम्बर बरालले गरेको कुराकानी प्रस्तुत छ ।

कविता बस्नेत

संयोजकः कनकाई उद्यमी महिला व्यवसायी समिति

समाजमा हरेक व्यक्तिले सम्मानजनक ढंगले बाँच्न पाउनुपर्छ । महिला, पुरुष, वृद्धवृद्धा तथा बालबालिका सबैले आत्मसम्मानपूर्वक जिउने अधिकार सबैको छ । नेपालको कानुनले महिला, दलित, अल्पसंख्यक, सबैलाई उत्तिकै अघिकार दिएर सम्मान गरेको छ । तर, व्यवहारमा भने त्यस्तो देखिँदैन । कानुनमा लेखिएका नारा आकर्षक छन्, तर व्यवहारमा त्यो लागू हुन सकेको छैन । महिला मात्र होईन, आज पुरुष पनि हिंसाको शिकार बन्दै गएका घटना सार्वजनिक हुन थालेको छ । ज्येष्ठ नागरिक, वृद्ध–वृद्धा, बुवा–आमा समेत घरमा हिंसाको शिकार बन्नुपरेको छ । यस किसिमको लैङ्गिक हिंसा अन्त्य गर्न र हिंसा नियन्त्रण गर्न लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । कनकाई नगरमा नगरकै संयोजन तथा विभिन्न महिला सञ्जाल, महिला समूह, विभिन्न संघसंस्थाले वडाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । यतिखेर हिंसाको शिकार देशव्यापी बनेको छ । भारतले नेपाललाई हिंसा गरेर सीमा अतिक्रमण गरिरहेको छ । यो पनि एक किसिमको हिंसानै हो । बलात्कारका घटना त्यतिकै बढ्दै गएको छ । त्यसैले, हरेक प्रकारका हिंसालाई रोक्न र सभ्य समाज निर्माण गर्न सरकार तथा हरेक नागरिक सचेत हुन आवश्यक छ । यस अभियानले हिंसा नियन्त्रण गर्नमा सघाउन पुग्छ भन्ने विश्वास छ ।

सीता बस्नेत

अध्यक्षः अन्तरपार्टी महिला सञ्जाल कनकाई नगर

२०६२/०६३को जन आन्दोलनपछि महिला सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन हुन थालेका छन् । सरकारले महिलाहरुलाई अधिकार सम्पन्न बनाउने गरी कागजका पानामा सम्मानजनक अधिकार दिएको देखिन्छ । तर, त्यो व्यवहारिक रुपमा भने अझै लागु हुन नसक्नु दुःखद कुरा हो । समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक देखिँदैन । जनप्रतिनिधि आएपछि विगतको तुलनामा लैङगिक हिंसामा केही कमी आएको महसुस गरेको छु । सरकार तथा पार्टीले लैङगिक हिंसा अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ । लोकतन्त्रमा राज्यका प्रत्येक अंगलाई क्रियाशील राख्ने काममा दलहरुको मुख्य भूमिका रहेको हुन्छ । त्यसैले, जनप्रतिनिधि सक्षम हुन आवश्यक छ । लिङग, वर्ग र जातिको आधारमा गरिने विभेद नै लैङगिक हिंसा हो । यस किसिमको हिंसाको शिकार महिला मात्र होईन, पुरुष पनि हुने गरेका छन् । समाजका हरेक नागरिक सचेत हुनु आवश्यक छ । हिंसा अन्त्यका लागि अभियान चलेको छ । यसको सार्थकता पुष्टि हुने किसिमका कार्यक्रम अघि बढाउन जरुरी छ । अभियान केवल अभियानमै सीमित हुनु हुँदैन । समाजमा निरन्तर खबरदारीको खाँचो छ । चोकमा भेला भएर भाषण गरेकै भरमा हिंसा अन्त्य हुँदैन । परिवारका हरेक सदस्य शिक्षित र सभ्य हुनुपर्छ । पछिल्लोसमय युवा पुस्तामा आएको विचलन, लागुऔषध दुव्र्यशन, आर्थिक संकटले समेत हिंसालाई प्रश्रय दिइरहेको छ । समाजका हरेक नागरिक शिक्षित, सभ्य र संस्कारी भएको खण्डमा हिंसा अन्त्य हुने निश्चित छ ।

देवी दाहाल

व्यवस्थापकः सताक्षी महिला मौरीपालन सहकारी संस्था

समाजमा धेरै किसिमका हिंसाका घटना मौलाउँदै गएका छन् । घर बाहिर मात्र होईन, घरेलु हिंसा उत्तिकै मात्रामा बढेको छ । सासु–बुहारीबीचको द्धन्द्ध, श्रीमान–श्रीमतिबीचको अन्तरकलह, वृद्धावस्थाका बुवा–आमालाई गरिने अपहेलना, युवती र बालिका बलात्कारका घटना, यी सबैखाले घटना लैङगिक हिंसा हुन् । कुनैपनि किसिमको हिंसा गर्नु कानुनी रुपमा अपराध हो । सरकारले विभिन्न किसिमका हिंसा अन्त्यका लागि कानुन निर्माण गरेको भएपनि त्यसको खासै प्रभाव देखिएको छैन । शक्तिको आडमा धेरै हिंसाका घटना भइरहेका छन् । कानुन निर्माण गर्ने तर, कार्यान्वयन नगर्ने सरकारी नीतिका कारण हिंसा गर्नेहरुको मनोबल बढ्दै गएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न सरकार सक्रिय हुन आवश्यक छ । असुरक्षित वैदेशिक रोजगारले समेत हिंसालाई बढावा दिइरहेको छ । समाजमा हुने लैङगिक हिंसालाई न्यूनिकरण र अन्त्यका लागि मंसिर ९ गतेदेखि नगरमा विभिन्न महिला समूह, सहकारी संस्थाहरुले सचेतनामूलक कार्यक्रम आयोजना गरिरहेका छन् । १६ दिनसम्म चल्ने यो अभियानले हिंसा अन्त्यका लागि ठोस भूमिका खेल्न सहयोग पुग्ने छ ।

बिना तामाङ

महिला उपाध्यक्षः मेची उद्योग वाणिज्य संघ

हिंसा आफंैमा राम्रो कुरा होईन र कदापी स्वीकार्य पनि छैन । हिंसा न्यूनिकरण गर्न र रोक्न घरैबाट अभियानको थालनी हुनुपर्छ । विशेष गरी आर्थिक अभाव झेल्दै आएको परिवार बढी हिंसाको शिकार बन्ने गरेको छ । योसँगै महिला हिंसाका घटना देशभर श्रृङखलाबद्ध ढंगले बढेको छ। सरकारले हिंसा नियन्त्रण गर्न कानून बनाएर मात्र हुँदैन, त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्नुपर्छ । स्थानीय सरकारले गाउँ–गाँउमा सचेतनामूलक कार्यक्रम गर्नुपर्छ । महिला समूह, संघसंस्थाहरुले लैङगिक हिंसा विरुद्धको अभियान चलाई रहेका छन् । तर, अभियानकै भरमा हिंसा नियन्त्रण सम्भव छैन । वास्तवमा हिंसामा परेका व्यक्तिहरु यो अभियानमा सहभागी बनेजस्तो मलाई लाग्दैन । यो अभियान लक्षित वर्गभन्दा टाढा छ । भाषणले मात्रै समस्याको निकास निस्किँदैन । त्यसैले, हिंसा पीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरणको खाँचो छ । पीडितको न्यायका लागि स्थानीय सरकार अग्रसर बन्नुपर्छ । योसँगै विपन्न वर्गका पीडितलाई निःशुल्क न्यायिक उपचार दिलाउन हामी निरन्तर आवाज उठाइरहेका छौं ।

राधा कार्की

केन्द्रीय महासचिवः नेपाल उद्यमशील महिला महासंघ

देशमा लिङ्ग र वर्गका आधारमा हिंसाका चरम घटना भइरहेका छन् । नेपालकै पश्चिम क्षेत्रमा छाउपडी प्रथाका नाममा महिलालाई पशुजन्य व्यवहार हुने गरेको छ । दिन दहाडै महिला तथा बालिका बलात्कृत हुने घटना बढ्दो क्रममा छ । समाजमा शिक्षित र सभ्य भनिएकाहरुबाट समेत महिलामाथि हिंसा हुन थालेको छ । सरकारले महिलाहरुलाई कोटा निर्धारण गरी ३३ प्रतिशत सुविधा दिने र राज्यका हरेक निकायमा सहभागी गराउने नीति निर्माण गरेपनि त्यो अझै कार्यान्वयन हुनसकेको छैन ।

ग्रामिण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमा समेत महिला अन्यायमा पर्ने गरेका छन् । खास गरेर आर्थिक अभाव झेलेको विपन्न परिवार हिंसाको प्रत्यक्ष शिकार बन्ने गरेको छ । दलालहरुले आर्थिक प्रलोभनमा पारेर विपन्न समुदायका महिला, किशोरी र बालबालिकालाई रोजगारी दिने बहानामा भारतका विभिन्न कोठीमा बेच्ने गरेका छन् । यी र यस्ता घटनाले अझैपनि महिला चरम हिंसाको शिकार भइरहेका पुष्टि गरेको छ । १६ दिने यो अभियानमा विभिन्न समूह र संघसंस्थाले जनचेतनामूलक कार्यक्रम गरी हिंसारहित समाज निर्माणका लागि खबरदारी गरिरहेका छन् । तर, हिंसाजन्य घटना रोक्न अभियानको मात्र भर परेर हुँदैन । हिंसालाई पूर्णरुपमा नियन्त्रण गर्न हरेक व्यक्तिले अग्रसरता लिनुको विकल्प छैन। हिंसा विरुद्धको आवाज हरेक घरबाट निस्किनुपर्छ । प्रत्येक परिवार शिक्षित र सभ्य भएमा समाज पनि सभ्य बन्छ । योसँगै महिलालाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न सीपमूलक तालिमको प्रबन्ध गरी उद्यमशील क्षेत्रमा लाग्न अभिप्रेरित गर्नुपर्छ । महिला आर्थिक रुपमा सबल बन्न सकेको खण्डमा हिंसा क्रमशः न्यूनिकरण हुँदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button