कला

‘माछा माछा’ को कमजोर ओपनिङ

फिल्मीखबर, काठमाण्डौ,
गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार दयनिय भएको छ । हप्तैपिच्छे हलमा फेरिने आश गरिएका फिल्मले समेत बक्सअफिसमा आफ्नो जादू देखाउन सकेका छैनन् । कतिपयले यसको कारण जाडो मौसमलाई मानेका छन् । तर, केही भने राम्रा फिल्म बन्न नबनेका कारण दर्शक महँगो टिकट काटेर हल पुग्न छाडेको बताउँछन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘माछा माछा’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई केही हदसम्म भए पनि चलायमान बनाउने अपेक्षा गरिएको थियो । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका कारण फिल्म राम्रो बनेको हुनसक्ने कतिपयको अनुमान थियो । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मले हलमा दर्शक तान्न सकेको छैन ।

प्रदर्शनको पहिलो दिन फिल्मले देशभर ४० प्रतिशत अकुपेन्सी पनि कायम गर्न सकेन । दोस्रो दिन शनिबार पनि हलमा दर्शकको उपस्थिति खासै उत्साहजनक थिएन । मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको फिल्मको आइतबारबाट दर्शक नहुँदा सोजमा कटौती भएको छ । दर्शक र समीक्षक दुबैको नजरमा कमजोर साबित भएको यो फिल्म हलमा एक हप्ता टिक्न पनि गाह्रो पर्ने देखिन्छ ।

सुनिल गुरुङ निर्देशित फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको अभिनय छ । तीन बेरोजगार युवाले पैसा कमाउन अपराधको बाटो अपनाउँदा आउने समस्यामा फिल्म केन्द्रित छ । तर, कथा, पटकथा र प्रस्तुतीकरण कमजोर हुँदा फिल्मले दर्शकलाई हलमा बाँधेर राख्न सकेको छैन । यद्यपि, कलाकारले भने राम्रो काम गरेका छन् ।

शुक्रबारबाट ‘माछा माछा’ सँगै एकसाथ प्रदर्शनमा आएको फिल्म ‘माया पिरिम’ को अवस्था झन् दयनिय छ । यो फिल्मले पोस्टर टाँस्न बनाइएको माडको पनि पैसा उठाउन नसक्ने देखिन्छ । अभिनेता कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्दको प्रमुख भूमिकामा रहेको फिल्मका निर्देशक टेक पौरखी राई हुन् । प्रविन थापा र सविन अधिकारीले फिल्मको निर्माण गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button