घटनामा ज्यान गुमाएका मोहम्मद समिइ (बायाँ) र जोस्वा कलिब वाट्सन (बायाँ)
शुक्रवार अमेरिकाको फ्लोरिडास्थित नौसेनाको एक आधारशिविरमा भएको हिंसक हमलालाई आतङ्कवादी आक्रमणका रूपमा हेरिएको संघीय जाँच ब्युरो एफबीआइले जनाएको छ।
त्यहाँको पेन्सकोला क्षेत्रमा तालिम लिइरहेका साउदी बन्दुकधारीले आफू मारिनुअघि तीन नौसैनिकहरूको हत्या गरेका थिए।
विशेष अनुसन्धानकर्ता राचेल रोजासले त्यस्तो हमला एक्लै वा संगठित कस्तो रूपमा भएको थियो भनेर एफबीआइले बुझिरहेको बताएकी छन्।राचेल रोजासले अन्य साउदी विद्यार्थीहरूलाई सोधपुछ गरिए पनि पक्राउ भने नगरिएको बताएकी छन्।
बताइए अनुसार उनीहरूलाई सैन्य आधारशिविरमा भेला पारिएको थियो र उनीहरूले अनुसन्धानकर्ताहरूलाई सघाएका थिए।
उक्त हमलामा ज्यान गुमाउने नौसैनिकहरू २३, १९ र २१ वर्ष उमेरका छन्।
अमेरिकी जलसेनाले ‘ज्यान गुमाउने सैनिकहरूले दुर्लभ साहस’ देखाएको जनाएको छ।
आइतवारको पत्रकार सम्मेलनमा विशेष अनुसन्धानदाता रोजासले भने अहिलेसम्मको जाँचबारे केही खुलाइनन्।२१ वर्षे बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्याएरै बन्दुक किनेका थिए।
यद्यपि उनले ती २१ वर्षे बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्याएरै बन्दुक किनेको बताएकी थिइन्।
त्यो एउटा नौ मिलिमिटरको हाते बन्दुक थियो।
घटनाक्रम
एउटा अनलाइन निरीक्षणकर्ता समूहका भनाइमा अल्सामरानीजस्ता देखिने एकजना ट्विटर प्रयोगकर्ताले बन्दुक हमला हुनुअघि शृङ्खलावद्ध रूपमा अमेरिकाविरोधी पोष्टहरू लेखेका थिए।
अमेरिकी सञ्चारमाध्यममा जनाइएअनुसार साताको सुरुमा साँझको खाना खाने बेला गोलीकाण्डका भिडिओहरू अरूलाई देखाएका थिए।
पेन्सकोलाको उक्त सैन्य अड्डाले लामो समयदेखि विदेशी सेनाहरूलाई उड्डयन तालिम दिनेगर्छ।सन् १९९५ यता साउदी पाइलटहरूले त्यहाँ इटली, सिंगापुर र जर्मनीका अधिकारीहरू सहित तालिम लिने गरेका थिए।
त्यहाँ दुई सय अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना भएका छन्।
उक्त हवाई अड्डाको वेबसाइट अनुसार त्यहाँ १६ हजार सेना र सात हजार चार सय गैरसैनिक कार्यरत छन्।
अल्सामरानी साउदी एयरफोर्समा सेकेन्ड लेफ्टिनेन्ट थिए।
साउदी-अमेरिका सम्बन्धमा असर पार्ला?
साउदी अरेबिया मध्यपूर्वमा अमेरिकाको मुख्य साझेदार हो।
राष्ट्रपति ट्रम्पले उक्त हमलापछि साउदी राजाले आफूलाई फोन गरेको बताएका छन्।
साउदी राजालाई उद्धृत गर्दै भनिएको छ: मारिने योद्धाहरूका परिवार र साथीहरूप्रति गहिरो समवेदना छ।
साउदी कर्मचारीहरू अमेरिकी सैन्य विद्यालय र अन्य केन्द्रमा प्रशिक्षण लिने विदेशीहरूको १६ प्रतिशत हिस्सा ओगट्छन्।
बीबीसीका रक्षा संवाददाता जनथन मार्कसका भनाइमा पेन्सकोला हमलाले तीनको पुर्नजाँचबारे प्रश्नहरू उठाइसकेको छ।
“ट्रम्पले भने साउदी पत्रकार जमाल खशोग्जी प्रकरणमा जस्तो यस घटनालाई धेरै उचाल्न खोजिरहेका देखिन्नन्।”
आइतवार अमेरिकी रक्षामन्त्री मार्क एस्परले अमेरिकामा रहेका विदेशी सेनाले तालिम लिने सबै अड्डाहरूले भर्ना लिने प्रक्रिया र कार्यक्रमलाई समीक्षा गर्न आदेश दिएका छन्।BBCnepali/from