खबरमूल खबर

समानता र सम्वृद्धिको निम्ति ऐक्यबद्धताको खाँचो

ललितपुर । नेपाली ख्रीष्टियन समुदायको एक मात्र छाता संगठन नेपाल ख्रीष्टियन समाजले ख्रीष्टमस तथा नयाँ वर्ष २०२० को शुभ अवसरमा अल्पसंख्यक धार्मिक समुदायको अधिकार तथा समानताको हक सम्बन्धमा राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ । समाजका अध्यक्ष जोसेफ बहादुर श्रेष्ठ र नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष सूर्य बहादुर बल तामाङले कार्यशालाको संयुक्त उद्धघाटन गर्दैै कार्यशालाको शुरुवात भएको थियो ।

कार्यशालाको कार्यपत्र प्रस्तुत गर्दै समाजका सचिव मुकुन्द शर्माले मुलुकमा समानता, न्याय, शान्ति र समृद्धिका निम्ति ऐक्यबद्धताको खाँचो रहेको औल्याउनुभएको थियो । कार्यपत्र माथि मन्तव्य सहित टिप्पणी गर्दै संघीय सांसद माननीय अतहर कमाल मुसलमानले अब ख्रीष्टियन समुदायले आफनो अधिकार मागेर होइन खोसेर लिनुपर्ने बाध्यात्मक स्थिती यो सरकारले बनाएको आरोप लगाउनुभएको थियो, उहाँले जब धार्मिक समुदायका अधिकारहरु सुनिश्चित हुन्छ तब देश समृद्ध तिर अघि बढने कुरा समेत कार्यक्रममा बताउनुभएको थियो । साथै टिप्पणी गर्ने क्रममा वरिष्ठ अधिवक्ता गोविन्द वन्दीले, त्यसैगरी समाजका केन्द्रिय सदस्य तथा धार्मिक विभागका संयोजक मानवअधिकारकर्मी टंक सुवेदीले नेपालको संविधानले ख्रीष्टियनहरूलाई विभेद गरेको बताउनुभयो । उहाँले ख्रीष्टियन विरुद्ध बनाइएका विभेदकारी कानुन विशेषगरी संविधानको धारा २६ को उपधारा ३ खारेजीको समेत माग गर्नुभयो ।

आयोजक समितिका संयोजक तथा समाजका केन्द्रिय सचिव कुवेर गुरूङले ख्रीष्टियनरूले कहिल्यै जबरजस्ती धर्मपरिवर्तन गराउँदैनन् यदि कसैले जबरजस्ती गर्छ भने त्यसलाई समाजले नै कारवाही गर्ने बताउनुभयो । उहाँले देशमा थुप्रै परिवर्तन भए तर ख्रीष्टियनहरूलाई खाली भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको गुनासो व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मण्डली (चर्च) तर्फबाट एनसीएफका अध्यक्ष तामाङले ख्रीष्टियनहरूले धर्मपरिवर्तनमा विश्वास गर्दैनन् तर मन परिवर्तनमा विश्वास गर्ने बताउनुभएको थियो । साथै उहाँले हाम्रो आन्दोलन वन्दुकबाट शुरू गर्ने होइन् तर प्रार्थना द्वारा राष्ट्रलाई परिवर्तन गर्ने बताउनुभयो । कार्यक्रममा ख्रीष्टियन समुदायका धर्मगुरुहरु, अन्तरधार्मिक समुदायका प्रतिनिधि, नागरिक समाज, ख्रीष्टियन संघसंस्थाका प्रतिनिधि, संघीय तथा प्रदेश सभाका सांसद, ने.क.पा. का नेता लगायतका व्यक्तिहरूको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button