– अनुवाद : भेषराज भुसाल
माल आर्थव्यवस्थाको विकास र आदिम सञ्चयले पुँजीवादी उत्पादन सम्बन्धहरूलाई जन्म दियो र अगाडि बढायो ।
सामन्ती युगको उत्तराद्र्धमा माल अर्थव्यवस्थाको विकाससँगै पुँजीवादी उत्पादन सम्बन्ध अस्तित्वमा आयो । सामन्ती समाजमा साधारण माल उत्पादन निजी स्वामित्व र व्यक्तिगत श्रममा आधारित थियो । उत्पादनको उद्देश्य विनिमय गर्नु थियो । माल उत्पादकहरूले आफ्नो उत्पादन बजारमा बेच्नु पर्दथ्यो । यद्यपि हरेक माल उत्पादकसँग उत्पादनका परिस्थितिहरू, कौशल र श्रमको उपलब्धता फरकफरक थियो । त्यसकारण एउटै प्रकारका मालमा खर्च हुने श्रमको मात्रा फरकफरक थियो । अर्कोतर्फ एकै किसिमका माल एउटै मूल्यमा बिक्दथे । यसमा एउटा अन्तरविरोध अन्तरनिहित थियो । यी अन्तरविरोधहरू विकसित हुँदै जाँदा सीमित साना माल उत्पादक जसका उत्पादन परिस्थितिहरू राम्रा थिए, समृद्ध भए । उत्पादनका खराब परिस्थितिहरू हुने बहुसङ्ख्यक साना उत्पादक लगातार गरिब हुँदै गए । यसप्रकार साधारण माल उत्पादकहरूका बीचमा ध्रुवीकरण हुन गयो ।
सामन्ती समाजमा एउटै धन्धामा लागेका कालीगढहरूका बीच एकआपसमा वा अरू क्षेत्रहरू वा धन्धाहरूका कालीगढहरूका साथ प्रतिस्पर्धालाई रोक्नका निम्ति प्रायः कालीगढ सङ्घ (गिल्ड) बनाउँथे । सङ्घका सदस्यहरूले सङ्घका नीतिनियम मान्नु पर्दथ्यो । कालीगढी सङ्घमा गुरु कालीगढ, मजदुर कालीगढ र सहयोगीहरूको सम्बन्ध मूलतः सामन्ती थिए जसमा किञ्चित शोषण निहित थियो । यी सङ्घहरूले साना माल उत्पादकहरूका बीचको ध्रुवीकरणलाई सीमित गरिदिए । यद्यपि माल अर्थव्यवस्थाको विकाससँगै केही समृद्ध गुरु कालीगढहरूलाई सङ्घका नियमहरूको पालना गर्न खट्किन थाल्यो । उनीहरूले मजदुर कालीगढहरू र सहयोगी मजदुरहरूको सङ्ख्या धेरै बढाइदिए । उनीहरूको कामको घन्टा पनि बढाइदिए । उत्पादनको प्रविधिमा सुधार गरे र मजदुर कालीगढहरू र सहयोगी मजदुरहरूलाई ज्यालादारी मजदुरमा बदलिदिए । आर्थिक टाटपल्टिएका अन्य गुरु कालीगढ, मजदुर कालीगढ र सहयोगी मजदुरहरू पनि ज्यालादारी मजदुर बन्न थाले । यस ध्रुवीकरणका आधारमा सुस्तसुस्त रोजगारका पुँजीवादी सम्बन्ध अस्तित्वमा आए ।
साना माल उत्पादकहरूको ध्रुवीकरण र पुँजीवादी उत्पादन सम्बन्धहरूको आगमनको प्रक्रियामा वाणिज्य पुँजीले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । व्यापारी सुरुमा माल विनिमयमा बिचौलिया हुने गर्दथ्यो । पछिल्लो ठेकेदार व्यापारी बन्न गयो जसले माल उत्पादकहरूका उत्पादित माल बेच्ने ठेक्का लिने गथ्र्यो र त्यसपछि उसले साना उत्पादकहरूलाई कच्चा पदार्थ र उपकरणसम्म उपलब्ध गराउन थाल्यो जुन तय गरिएको समयमा निश्चित गुण, प्रकार र विशिष्टताका उत्पादन गरेर उसलाई दिने गर्दथे । यसप्रकार साना माला उत्पादक पूर्ण रूपमा व्यापारीको नियन्त्रणमा आए । ज्यालादारी मजदुर बने र व्यापारी स्वयम् औद्योगिक पुँजीपति बने ।
गाउँमा सामन्ती समाजको अन्तिम अवधिमा माल अर्थव्यवस्थाको विकासका कारण भूस्वामी वर्गले सुस्तसुस्त मुद्रा लगानको व्यवस्था अपनाउन थाले । यसबाट किसानहरूको बजारहरूमा निर्भरता दिन–प्रतिदिन बढ्दै गयो र तिनीहरूका बीचमा ध्रुवीकरण तीव्र हुन गयो । किसानहरूको बहुसङ्ख्या दामासाही हुन गयो र ज्यालादारी मजदुरमा बदलिए । केही धनी किसान बन्न पुगेपछि यिनीहरूमध्ये कृषि क्षेत्रका पुँजीपति बनेर अगाडि आए ।
उपरोक्त प्रकारले सामन्ती समाजमा क्रमशः पुँजीवादी उत्पादन सम्बन्ध कायम भए । चीनका उत्तरवर्ती सामन्ती समाजमा माल अर्थव्यवस्थाको विकाससँगै पुँजीवादी उत्पादन सम्बन्धहरूका टुसा उम्रिनै थालेका थिए । विदेशी पुँजीवादको प्रभाव नभएको भए त चीन क्रमशः एउटा पुँजीवादी समाजमा विकसित भइसकेको हुन्थ्यो ।
सामन्ती समाजमा पुँजीवादी उत्पादन सम्बन्धहरूको स्थापनाको उत्पादन शक्तिहरूको विकाससँगै घनिष्ट सम्बन्ध थियो । आरम्भमा कालीगढहरूका ससाना वर्कसप (कार्यशाला) ठूला पुँजीवादी वर्कसपहरूमा बदलिए । यी वर्गसपहरूमा अहिले पनि मुख्यतः हाते श्रम हुन्थ्यो । परन्तु एकीकृत पुँजीवादी निर्देशहरूको मातहत धेरै नै मजदुरहरूले एकै साथ काम गर्नाले सहकार्य सम्भव हुन गयो जसबाट एउटा नयाँ उत्पादक शक्ति अगाडि आयो । त्यसपछि पुँजीवादी साधारण सहकार्य पुँजीवादी कारखाना कालीगढी उद्योगका रूपमा विकसित हुन गयो । कारखाना कालीगढी उद्योगको खास विशेषता के थियो भने यसमा एउटै माल पैदा गर्ने मजदुरहरूका बीचमा श्रमको विभाजन थियो जसमा हरकोही एउटा प्रक्रियामा दक्ष थियो । यसले श्रमप्रक्रियाहरूलाई सरल बनायो र श्रम आगत (Lobour input) लाई सघन बनाएर श्रमको उत्पादकता बढायो । यसबाट हातहरूबाट हुने कामहरूको स्थानमा मेसिनबाट काम हुने परिस्थिति पनि तयार गर्यो ।
पुँजीवादी उत्पादन सम्बन्धहरूको विकास दुईवटा मूलभूत स्थितिहरूमा निर्भर गर्दछ : प्रथम त्यस्ता सर्वहाराहरूको एक ठूलो जमात आवश्यक थियो जुन आफ्नो श्रम बेच्न स्वतन्त्र हुन्थ्यो । दोस्रो, ठूलो मात्रामा धनसम्पदाको पहिलेदेखि सञ्चय आवश्यक थियो । पुँजीवादी उत्पादन सम्बन्धहरू विकासलाई सहज बनाउनका लागि बुर्जुवा वर्गले उपरोक्त दुईवटा परिस्थिति सिर्जना गर्नका लागि हिंसाको प्रयोग गर्यो । यसप्रकार पुँजीवादको विकासमा आदिम सञ्चयको एउटा प्रक्रिया उपस्थित थियो ।
आदिम सञ्चयको एउटा महत्वपूर्ण तरिका किसानहरूको शोषणको माध्यम थियो । इङ्ल्यान्ड जहाँ उत्पादन सम्बन्ध सबैभन्दा पहिले प्रकट भयो यसको एउटा प्रतिनिधिमूलक उदाहरण थियो । १४७० को दशकदेखि उन्नाईसौँ शताब्दीको प्रारम्भसम्मका तीन सय वर्षभन्दा धेरै अवधिमा अङ्ग्रेज शासकवर्गले किसानहरूबाट जबर्जस्ती जमिन लिनका निम्ति ‘ बाडाबन्दी’ आन्दोलन छेडे । इङ्ल्यान्डमा आधुनिक उद्योगको सुरुआत ऊनी कपडाबाट भएको थियो । ऊनी वस्त्र उद्योगमा ऊनको अत्यधिक मागका कारण त्यसको मूल्य बढ्यो । कमाइको यो अवसरको फाइदा उठाउनका निम्ति ठूला भूस्वामीहरू र फार्म मालिकहरूले तमाम यस्ता जमिन घेरे जहाँ उनीहरूले भेडा पाल्न सक्थे । उनीहरूले किसानहरूलाई जवर जस्ती उनीहरूको जमिनबाट बेदखल गरिदिए । उनका घरहरू भत्काइदिए र आगो लगाइदिए । साथै ठूलो मात्रामा उत्पादनका साधन तथा जीवनयापनका साधन हड्पिए । बाडाबन्दी आन्दोलनले किसानहरूको धेरै ठूलो सङ्ख्यालाई आफ्नो जग्गाजमिनबाट बेदखल गरिदियो र जीवनयापनका लागि टाढाटाढासम्म भड्किन र भिक माग्न बाध्य पारिदियो । त्यसपछि अङ्ग्रेज शासक वर्गले कैयौँ रगतबाट लतपतिएका कानुन बनाएर किसानहरूलाई यताउता जानबाट रोक लगाइदिए र उनीहरूलाई कठोर परिस्थितिहरूमा मजदुरी गर्नका निम्ति बाध्य पारे ।
धनसम्पत्तिको लुटपाट आदिम सञ्चयको एउटा अर्को महत्वपूर्ण तरिका थियो । युरोपियन बुर्जुवा वर्गले औपनिवेशिक अवस्था कायम गर्नका निम्ति एसिया, अफ्रिका, अमेरिका र अस्ट्रेलियामाथि सशस्त्र आक्रमणको सहारा लियो । उनीहरूले ठूलो परिमाणको पुँजीवादी उत्पादनको स्थापनाका निम्ति पुँजी जम्मा गर्नका लागि व्यापारिक युद्ध छेडिदिए र उपनिवेशहरूका भौतिक संसाधनहरू तथा धनसम्पत्ति निकृष्ट तरिकाले लुटे ।
यसप्रकार आदिम सञ्चयको प्रक्रिया प्रत्यक्ष उत्पादकहरूलाई उनका उत्पादनका साधननहरूबाट जबर्जस्ती अलग गर्ने तथा धनसम्पत्तिलाई पुँजीका रूपमा पुँजीपतिहरूका हातमा एकट्ठा गर्ने प्रक्रिया थियो । माक्र्सले तीखो शब्दमा भन्नुभयो, ‘बुर्जुवा वर्गद्वारा प्रत्यक्ष उत्पादकहरूको स्वत्वहरणको यो इतिहास मानव कालक्रममा रगत र आगोबाट लेखियो ।’९ आदिम सञ्चयको प्रक्रिया एकदम स्पष्ट रूपले के देखाउँछ भने पुँजीपतिहरूले ‘धुलोबाट सुरुआत’ गरेका थिएनन्, बरु उनीहरू लुटपाटमा निर्भर थिए । ‘पुँजी खुट्टादेखि टाउकासम्म रगत र फोहोरमा मुछिएको छ ।’ १०
बुर्जुवा क्रान्तिले सामन्तवादको पतनलाई उद्घोष गर्यो ।
सामन्ती समाजमा पुँजीवादी उत्पादन सम्बन्धहरूको जन्म र विकास सामन्ती उत्पादन सम्बन्धहरू र उनको अधिरचनाका कारण खराब तरिकाले अवरुद्ध थियो । उनीहरूलाई सामन्ती समाजमा प्रभुत्वशाली भूमिका प्राप्त गर्नबाट रोक्ने गरिन्थ्यो किनकि सामन्ती शासकवर्ग इतिहासको मञ्चबाट स्वेच्छापूर्वक हट्नका निम्ति कुनै हालतमा तयार थिएन । उसले पुरानो भइसकेको सामन्ती व्यवस्थालाई बचाउनका निम्ति आफ्नो नियन्त्रणमा रहेका राज्य मेसिनरीको प्रयोग गर्यो । पुँजीवादी उत्पादन सम्बन्धहरूको प्रतिनिधित्व गर्ने बुर्जुवा वर्ग र बुद्धिजीवीहरूले पुँजीवादी उत्पादन सम्बन्धहरूलाई ‘शाश्वत् एवम् तर्कपरकताको अभिव्यक्ति’ तथा ‘ प्रकृतिको शाश्वत् नियम’ का रूपमा प्रचार गरे । उनीहरूले सामन्तवादलाई उखेलेर फाल्नका लागि बुर्जुवा क्रान्तिका पक्षमा जनमत तयार गर्ने प्रयासहरूअन्तर्गत तथाकथित ‘स्वतन्त्रता, समानता, एवम् सार्वभौम प्रेम’ को समर्थन गरे र सामन्तवादको भत्र्सना गरे । बुर्जुवा क्रान्तिका मुख्य वर्गशक्तिहरू किसान, सर्वहारा र बुर्जुवाहरू थिए । किसान मुख्य शक्ति थिए यद्यपि उनीहरूले नयाँ उत्पादक शक्तिहरूको प्रतिनिधित्व गर्दैनथे । सर्वहारा वर्गले आफ्नो स्वतन्त्र राजनीतिक शक्ति गठन गरिसकेको थिएन । त्यसकारण बुर्जुवा वर्गले बुर्जुवा क्रान्तिको नेतृत्व समाल्यो । पुरानो चीनमा अर्धसामन्ती अर्धऔपनिवेशिक समाज हुनुका कारण बुर्जुवा वर्ग दुई भागमा विभाजन भएको थियो । पहिलो हिस्सा नोकरशाही बुर्जुवा वर्गको थियो । यो साम्राज्यवादमाथि निर्भर थियो । यो वर्ग र भूस्वामी वर्गले सबैभन्दा पिछडिएको र सबैभन्दा प्रतिक्रियावादी उत्पादन सम्बन्धहरूको प्रतिनिधित्व गर्दथ्यो । तिनीहरू चिनियाँ बुर्जुवा जनवादी क्रान्तिका निशाना थिए । दोस्रो हिस्सामा राष्ट्रिय बुर्जुवा वर्ग थिए । यो वर्गा साम्राज्यवाद र सामन्तवादको उत्पीडन र अवरोधहरूको सिकार थियो । यद्यपि अर्कोतर्फ उनीहरूसँग घनिष्ट रूपमा जोडिएका पनि थिए । त्यसका कारण राष्ट्रिय बुर्जुवा वर्ग जनवादी क्रान्तिका पक्षमा एउटा शक्ति बन्यो । परन्तु यो कमजोर र अस्थिर थियो । यसकारण ‘यो ऐतिहासिक रूपमा तय भयो कि साम्राज्यवादविरोधी सामन्तवादविरोधी बुर्जुवा जनवादी क्रान्तिको कार्यभार बुर्जुवा नेतृत्वद्वारा होइन, बरु सर्वहारा नेतृत्वद्वारा नै पूरा गर्न सकिन्छ ।’ ११
बुर्जुवा क्रान्ति एउटा यस्तो क्रान्ति थियो जसमा शोषणको एउटा रूपको स्थान अर्को रूपले लिएको थियो तर पनि यसले कैयौँ विपत्तिहरू झेल्नु पर्यो । बुर्जुवा क्रान्तिको दौरानमा पेचीला वर्ग सङ्घर्ष भए । सामन्त वर्गले आफ्नो सत्ताको पुनस्र्थापनाका निम्ति जिउज्यानका साथ प्रयास गर्यो र बुर्जुवा वर्गले त्यसको प्रतिरोध ग¥यो । इङ्ल्यान्डमा बुर्जुवा क्रान्ति १६४० मा सुरु भएको थियो । दुईवटा आन्तरिक युद्धपछि मात्र स्टुअर्ट वंशका प्रतिनिधि चाल्स प्रथमलाई मृत्युदण्ड दिइयो । १६६० मा स्टुअर्ट वंशकै चाल्र्स द्वितीयले फेरि पुनस्र्थापनाको प्रयास गरे । १६८८ मा इङ्ल्यान्डका बुर्जुवा वर्गले स्टुअर्ट शासनलाई उखेलेर फाल्नका लागि आरेजका राजकुमार विलियम द्वितीयलाई इङ्ल्यान्डबाट आमन्त्रित गरे तब गएर मात्र बुर्जुवा तानाशाही स्थिर हुन सक्यो । फ्रान्समा १७८९ बुर्जुवा क्रान्तिको विस्फोटदेखि १८७५ मा तृतीय गणतन्त्रको स्थापनासम्मको ८६ वर्षहरूको अवधिमा प्रगति र पछाडि हट्नु, गणतन्त्र, राजतन्त्र, क्रान्तिकारी आतङ्क र प्रतिक्रान्तिकारी आतङ्क, आन्तरिक र बाहिरी युद्ध, अरू देशहरूमाथि विजय र अन्य देशहरूबाट फ्रान्सको विजय एकअर्काका स्थान लिँदै गरे । एक क्षण पनि यसरी बितेन जहाँ शान्ति र स्थिरता कायम भएको होस् । यद्यपि सामन्ती व्यवस्था सडिसकेको थियो । त्यसकारण लाख सङ्घर्ष गरे पनि ऊ आफ्नो अन्त्यबाट बच्न सक्दैनथ्यो । सामन्तवादको स्थानमा पुँजीवादको स्थापना अवश्यम्भावी थियो ।
अध्ययनका निम्ति प्रमुख सन्दर्भ
माक्र्स एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र
एङ्गेल्स, परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति
माओ, ‘चिनियाँ समाजमा वर्गहरूको विश्लेषण’
माओ, चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी, अध्याय एक
समीक्षात्मक प्रश्न
१. व्यक्तिगत सम्पत्ति, वर्गहरू र राज्यको उदय कसरी भयो ?
२. दाससमाज र सामन्ती समाजमा उत्पादन सम्बन्धहरू र उत्पादक शक्तिहरूका बीचका अन्तरविरोधहरू वर्गसङ्घर्षका रूपमा कसरी अभिव्यक्त भए ?
३. पुँजीवादी उत्पादन सम्बन्धहरूको जन्म र विकास कुनकुन मुख्य परिस्थितिहरूको कारणले भयो ?
टिप्पणीहरू
१. एङ्गेल्स ‘बाँदरबाट मानिस बन्ने प्रक्रियामा श्रमको भूमिका’ –माक्र्स–एङ्गेल्सका सम्पूर्ण कृतिहरू खण्ड ३, चिनियाँ संस्करण, १९७२ पृ.५०८
२. एङ्गेल्स ड्युहरिङ मत खण्डन, माक्र्स– एङ्गेल्सका चुनिएका कृतिहरू चिनियाँ संस्करण १९७२ पृ. १५४
३. ‘व्यवहारका बारेमा’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड १ चिनियाँ संस्करण १९६८ पृ. २७०
४. ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड २ चिनियाँ संस्करण १९६८ पृ. ५८५
५. कम्युनिस्ट घोषणापत्र, माक्र्स एङ्गेल्सका चुनिएका कृतिहरू खण्ड १ चिनियाँ संस्करण १९७२ पृ. ५८५
६. ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी‘ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड २ चिनियाँ संस्करण १९६८ पृ. ५८५
७. जर्मन विचारधारा, माक्र्स–एङ्गेल्सका चुनिएका कृतिहरू खण्ड १ चिनियाँ संस्करण १९७२ पृ. ५२
८. ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड २ चिनियाँ संस्करण १९६८ पृ. ५८८
९. माक्र्स, पुँजी, खण्ड १ माक्र्स एङ्गेल्सका सम्पूर्ण कृतिहरू खण्ड २३ पृ. ७८३
१०. ऐ.ऐ.
११. ‘जापानी आक्रमणविरोधी समयमा चिनियाँ कम्युनिस्ट पार्टीको कार्य’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड १ चिनियाँ संस्करण १९६८ पृ. २४१ २०७६, २४ मंसिर मंगलवार ०७:४९ ई-रातो खबर