![](https://chautaripostonline.com/wp-content/uploads/2019/12/Ansu-fati.jpg)
एजेन्सी – युवा फरवार्ड अन्सु फातीले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार इन्टर मिलानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
मिलानको घरेलु मैदानमा २-१ को जित दर्ता गर्ने क्रममा फातीले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा मैदान प्रवेश गरेका उनले दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे । यससँगै फातीले च्याम्पियन्स लिगकै इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनी च्याम्पियन्स लिगमा गोल गर्न सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
त्यसअघि बार्सिलोनाले खेलको २३ औं मिनेटमा कार्लेस पेरेजको गोलमा अग्रता लिएको थियो । पेरेजले च्याम्पियन्स लिगमा डेब्यु गरेकै खेलमा गोल गर्न सफल रहे । इन्टरले खेलको ४४ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बराबरी गोल फर्कायो । जित दर्ता गर्न नसकेपछि घरेलु टोली इन्टरको च्याम्पियन्स लिग यात्रा भने सकिएको छ ।
अर्को खेलमा बोरुसिया डर्टमुन्डले स्लाभिया प्रागमाथि २-१ को जित दर्ता गर्यो । यस नतिजासँगै बार्सिलोना समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ भने इन्टर समूह चरणबाट बाहिरिएको छ । बार्सिलोनाले ६ खेलमा १४ अंक जोड्दा बोरुसियाले ६ खेलमा १० अंक जोड्यो । ६ खेलमा ७ अंक जोडेको इन्टरले अब युरोपा लिग खेल्नेछ ।hamrokhelkud