झण्डै मण्डलेको कित्तामा पुगेको थिएँ



जी एन शर्मा
एउटा समय थियो कुनै कम्युनिष्ट पार्टीले कसैको राजनीतिक जिवन समाप्त पारि दिनु प¥यो उसलाई साँस्कृतिक विचलन , सुराकी र अन्तरघात जस्ता दोष लगाईन्यो र त्यही कुरा सत्य या झुठो जे भए पनि उसलाई राजनीतिको मूलप्रवाहबाट पाखा लगाउने गरिन्थ्यो । यहाँ नेर मैले अर्को एउटा नितान्त प्रसङ्ग पनि उठाउँदा अझ रोचक हुन्छ होला । जतिबेला नेपालको राज्यसत्ताको संचालनको बागडोर तत्कालिन राजा ज्ञानेन्द्रले लिएका थिए । र, उनले जबरजस्ती चुनाव गराउने कामको थालनी गरेका थिए । त्यो बेला झापाको एक दैनिकका सम्पादक मेरा एक जना अनन्य मित्रले मलाई पत्रिकामा छाप्नेगरि सोध्नु भएको थियो । राजाले गराउन लागेको चुनावका बारेमा मेरो प्रतिकृया मैले त्यो बेला आफ्नै शैलीमा दलहरु माथि दमन भैरहेको अवस्थामा पञ्चायतकालमा जस्तो गरेर जनपक्षिय उम्मेद्वार उठाएर पनि दलहरुले संसदीय रुपमा आफुलाई कतै न कतै उभ्याउन सक्छन् भन्ने आशयको बोली बोलेको थिएँ । उहाँको एक प्रश्नमा मैले अनुकुल भए म पनि किन उम्मेद्वार बन्न नसक्ने भन्ने प्रतिकृया दिएको थिएँ ।
भोली पल्ट पत्रिकामा म पनि उम्मेद्वार बन्ने आशयको समाचार छापिएछ । जतिबेला म काठमाण्डौमा नेपाल टेलिभिजनमा चौतारी नामको कार्यक्रम संचालन गथ्र्येँ । मेरो कार्यक्रम मानव अधिकारका विषयमा सञ्चारको वकालत गर्ने भएकाले टेलिभिजनका प्रमुखलेनै स्वयम् बोलाएर यसप्रकारको कार्यक्रम अब प्रसारण नहुने जानकारी गराएका थिए । तर, झापामा म राजाको पालाको नगरपालिकाको मेयरको उम्मेद्वार भनेर धेरै चर्चा भएछ । केही नव का्रन्तिकारी मण्डलेहरुले त मलाई पनि मण्डलेकै कित्तामा राखी सकेका रहेछन् । त्यो बेला झापाबाट एक जना माओवादी मित्रले फोनमा सोध्नु भएको थियो आफ्नो उम्मेद्वारी हल्लाका विषयमा मैले आफ्नो आशय सहितको उम्मेद्वार उठ्ने विषयका बारेमा अखबारलाई सामान्य प्रतिकृया दिएको बताएँ । त्यो बेला न मैले मेयरको उम्मेद्वारनै बन्ने घोषण गरेको थिएँ , नत उम्मेद्वारीनै दर्ता गर्न नेपालको कुनै निर्वाचन आयोगमा पुगेको थिएँ । जिन्दगीभरि संसोदनवादको शास्त्र घोकेर कान्तिको आगोको कुरा कर्थुन मात्र जानेका एक थरि अवसरबादीहरुले झण्डैझण्डै मलाई आफु जस्तै घर न घाटको कान्तिकारी बनाउन पुगेका थिए । तर , बरा बिचाराहरुलाई के थाहा म मा भएको विचार, सिद्धान्त र वर्ग प्रेमको लाभामा कति दम रहेको छ भन्ने । मैले यो प्रसङ्ग किन यहाँ उठाएको भने अहिले पनि नेपालका कम्युनिष्टहरु भन्ने पार्टीमा यो खालको कालो नाटक मञ्चन हुन छाडेको छैन । एउटा मान्छेमा भएको मनोदशाका कारण उत्पन्न हुने समस्यालाई कसैको लामो राजनीतिक जिवननै समाप्त पार्न कुन न्यायको सिद्धान्तले ठिक मान्न सक्छ ? गल्ति सजिव प्राणीलेनै गर्दछ अझ कमजोरी र बेठीक गर्ने आम सजिव प्राणीमा मान्छेनै हो र त्यसबाट पाठ सिकेर सच्चिने पनि मान्छेनै हो तर उसको आवेग, संवेग र मनोबिज्ञानका कारण कुनै एउटा भईपरि आएको कमजोरीलाई समग्र उसको जिवनसँग तुलना गर्ने र त्यसको मापन त्यतीनै हो भनेर उसको सम्पुर्ण पक्षलाई ध्वस्त पार्ने नियत कति बैज्ञानिक, भौतिकवाद संगत र मानविय संवेदनासँग मिल्छ यसको पनि हामीले बोध गर्नु पर्छ होला ।
अक्सर नेपालका त्यसमा पनि कम्युनिष्ट पार्टी भन्नेहरुमा यस प्रकारको आरोपको क्रोनिकनै रहेको छ । ब्यक्तिको एउटा खास कमजोरी र गल्तिको पाटोलाई मात्र उसको सम्पूर्ण राजनीतिक र सामाजिक जिवनसँग जोडेर उसमा भएको क्षमतासँग प्रतिस्पर्धा गर्न नसक्ने लुरे कान्तिकारीहरुलेनै यस खालेको मैले खेल खेल्छन् भन्दा कसैको टाउको पो दुख्छ कि भनेर दायाँबायाँ हेर्न मलाई अफ्ठयारो लाग्दैन । भूमिगतकालमा साँस्कृतिक विचलन र सुराकी अनि खुल्ला परिवेशमा अलिकत पियक्कड भनेर पनि कतिपय माम्लामा आरोप लगाउनेहरुले मौका पर्दा नाक थुनेर कसरी सोमरसको भकारीमा पौडी खेल्छन् भन्ने धेरैलाई थाहा हुदाहूदै पनि पार्टी अनुशासन र कारबाहीको डण्डको त्रासले आज तैँ चुप मै चुप बनाएको छ ।
कुनै मान्छेले के खान्छ र कस्तो लाउँछ भन्दा पनि उसले के भन्छ र के गर्छ भन्ने कुराले उसको धरातलको निर्धारण गर्दछ । ब्यक्तिका आचार विचारले समाजमा त्यसको असर सकारात्मक वा नकारात्मक कस्तो हुन्छ मापन यसरी गर्नु पर्छ ।तर, मेरो निजी विचार र मामलासँग कोही मान्छे सहमत वा असहमत भयो भन्ने नाममा उसको मूल्याङ्न गर्नु भनेको दास मानसिकताको उपल्लो चिन्तन बाहेक अरु केही पनि होइन । जिवनका सम्पूर्ण उर्जा र चेतलाई समाज परिवर्तनका यात्रामा खर्चेका आज धेरै मान्छेहरु किनारमा बसेर सुशेली हालिरहेको देख्छु म तर ताइको फुलौरो जस्तो पट्टा खेलेर सिमलको बाक्लो खरानी घसेर का्रन्तिकारी र पार्टीको बफादारमा चल्तीमा आएकाहरुको रमिता पनि कम मज्जाको छैन । नेताका अघिपछि लागेर जे भने पनि हस् गर्ने बधुवा हुनु भन्दा आत्मसम्मानका साथ आफ्नो निष्ठामा एक्लै बाँच्नेहरुको जिवन साच्चैनै सलाम गर्न लायक बन्छ जस्तो लाग्छ मेरो आत्मा , मन र मगजलाई ।
मैले भन्न खोजेको वास्तविकता यो हो कि, आज बिभिन्न राजनीतिक पार्टीमा होस या अन्य क्षेत्रमा मान्छेको योगदान, क्षमता र उसको कर्मको सत्यतालााई भन्दा वाकपटुक र कामचोरहरुको दबदबा रहेको सत्यतालाई उद्घाटन गर्ने सानो प्रयास मात्र गरेको हुँ । बिशेष गरि राजनीतिक पार्टी र सामाजिक संघ संस्थामा मान्छेको गुण पक्षलाई ओझेलमा पारेर त्यसको रुप पक्षलाई हाउँगुजी बनाएर जबरजस्त स्थापित गर्ने र गराउने कामले गति बढाएकोछ । यसको रोग दलहरुमा मात्र नभएर बौद्धिक पक्ष मानिने क्षेत्रमा समेत चरम रुपमा बढेको छ । यसलाई अझै पनि सामान्य ढङ्गले आँकलन पनि गरिदैछ र निहित स्वार्थका लागि यो खेललाई बिस्तार गरिदैछ तर भोलीका दिनमा यसबाट जन्मने परिणाम घातक बाहेक केही हुदैन तर यति हुदाहुदै पनि केही सत्य र निष्ठाको पथमा बाँचेका मान्छेहरुलेनै यसको प्रतिरोध गर्न बाहेक अरु बिकल्प पनि छैन किनभने संसारनै अहिले हल्लाको खेतीमा चलेको छ ।