
एजेन्सी – अफगानिस्तानका १५ वर्षिय बायाँ हाते स्पिनर नूर अहमद आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा परेका छन् ।
शुक्रबार सार्वजनिक भएको अन्तिम खेलाडीको नामवलीमा उनको पनि नाम छ । आईपीएल अक्सनको लागि कुल ९ सय ७१ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । जसबाट ३ सय ३२ खेलाडी अक्सनमा जाने भएका छन् ।
अक्सनमा जाने खेलाडीमा १ सय ८६ भारतीय, १ सय ४३ टेष्ट र ३ एसोसिएट राष्ट्रका रहेका छन् । २४ खेलाडी पहिलो पटक अक्सनमा परेको बताइएको छ । स्पिनर नूर अहमद हाल १४ वर्ष ३ सय ४४ दिनका भएका छन् । गत नोभेम्बरमा भारत यू१९ सँगको पाँच एकदिवसीय सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका नूरलाई अक्सनमा पर्न सहज भएको हो । जुन सिरिजमा नूरले ५ खेलमा ९ विकेट लिएका थिए । १ प्रथम श्रेणी र ७ टि ट्वान्टी एस खेलि सकेका नूर आगमी वर्ष हुने यू१९ विश्वकपको लागि आफगानिस्तानको टोलीमा पनि छन् ।
आईपीएलको अक्सनमा ७ खेलाडीले आफ्नो न्युनतम मूल्य २ करोड राखेका छन् । अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्स, जोशन हेजलवुड, ओपनर क्रिस लिन, मिचेल मार्श, विश्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकाका डेल स्टेन र श्रीलंकाका एन्जिलो म्याथ्युजले न्युनतम मूल्य २ करोड राखेका हुन् ।