‘देशद्रोही’ स्रष्टाहरूका ‘राजद्रोही’ र ‘राज्यविप्लवी’ सिर्जना


मस्त निद्राबाट जागेको छ मेरो देश

– अशोक सुवेदी

हृदयका हरेक धड्कनहरूमा जो देश, श्रमिक वर्ग र जन्मथलोको माया गरिरहन्छ, देश र जनताकै लागि जो जीवनलाई हत्केलामा राखेर जीवनमरणको लडाइँ लडिरहेको छ, यो सत्ता उसैलाई देशद्रोही भन्छ, राजद्रोही भन्छ र राज्यविप्लव गरेको आरोप लगाउँछ । समाउँछ, थुन्छ, हत्यासम्म गर्छ । अहिले यस्तै भइरहेको छ किनकि यतिबेला सक्कली देशद्रोहीहरूको हातमा डन्डा छ । हतियार छ । अर्थतन्त्र छ । लूटतन्त्र छ। अर्थात् शासनसत्ता छ । सायद यही अवस्थालाई चित्रण गरेर होला धेरै पहिले, जनयुद्धताका कवि दिल साहनीले भनेका थिए– मेरो देशले यतिबेला भक्ति थापा होइन, लेन्डुपदोर्जे दिएको छ । अर्थात् देशभक्तको हत्या गरेर राष्ट्रद्रोही दिएको छ ।

कहिलेकहीँ समयले यसैगरी समयसँग परीक्षा लिँदो रहेछ । भारतीय साम्राज्यवादलाई महाकाली बुझाउने केपी वलीहरू कथित राष्ट्रवादी बनेर सत्तारोहण गर्नु, नेपाल आमाका दसौँ हजार सुन्दर छोराछोरीलाई मुक्तिको ललीपप देखाएर बलिदान गराउने तर आफू लुसुक्क दुस्मन क्याम्पमा घुस्रिने पुष्पकमल दाहालहरू माक्र्सवादी–लेनिनवादी कहलिने तर आजीवन क्रान्तिकारी बनेर देश, जनता र श्रमिक वर्गका लागि बलिदान हुन तयार हुने विप्लव र उनी नेतृत्वको पार्टी नेकपाका नेता–कार्यकर्ताहरू देशद्रोही हुने र प्रतिबन्धित जीवन भोग्दै जेल र हिरासतका चिसा छिँडीहरूमा जीवन बिताउनुपर्ने उट्पट्याङपूर्ण खेल समयले खेलिरहेको छ । समयले आजको समयकै पनि परीक्षा लिइरहेको छ ।

तर समय सधैँ उल्टो मात्र बगिरहँदैन । देशभक्त स्रष्टाहरू सिर्जना हतियार लिएर सडकमा निस्किरहेका छन् र बलिदानको कोटा चुक्ता गर्न तयार भइसकेका छन् मातृभूमिका लागि बलिदान दिने अठोटका साथ । मङ्सिर २४ गते मङ्गलबार गोङ्गबुमा देशभक्त तथा क्रान्तिकारी स्रष्टाहरूले गरेको सडक कविता सङ्घर्षको उद्घोष यसको एउटा उदाहरण हो । आन्दोलनमा उत्रिने कविहरूको सङ्ख्या सयौँ छ । कोही भौतिक रुपमै सडकमा र कोही साङ्केतिक रुपमै भए पनि आन्दोलनमा सामेल हुने क्रम बढेको छ ।
कवि रामप्रसाद ज्ञवाली भन्छन् :

बाज हे ! क्रूरता तेरो सधैँ सधैँ सहन्नँ म !
सधैँ रुन्चे सधैँ लाछी सधैँ काँतर हुन्नँ म !
अब तेरो इसारामा पानी बन्दै बहन्नँ म !
मेरो जीवनमा तेरो हस्तक्षेप सहन्नँ म !
मुलुकको राष्ट्रियतामाथि साम्राज्यावदी अतिक्रमणका विरुद्ध विस्फोटित स्रष्टा ज्ञवाली अझ अघि भन्छन् :
मेरो भूमि नदीनाला तँलाई टेक्न दिन्नँ म !
मै लेख्छु जिन्दगी मेरो तँलाई लेख्न दिन्नँ म !
नयाँ नेपालको यात्रा तँलाई रोक्न दिन्नँ म !
कानमा गीत गाएर गालामा टोक्न दिन्नँ म !

दलाल पुँजीवाद समृद्ध नेपाल र सुखी नेपाली नामको नक्कली जामा पहिरिएर देशलाई कङ्गाल र जनतालाई भिकमङ्गा बनाउने अभियानमा लागिरहेको सन्दर्भमा भारतीय साम्राज्यवाद नेपाली भूमिमै सेना राखेर र सीमा अतिक्रमण गरेर गिद्दजस्तै नेपाली राष्ट्रियता लुट्न उद्यत छ भने भारतीय साम्राज्यवाद नेपाललाई याङ्कीको अखडा बनाएर एसियाको आतङ्ककेन्द्र बनाउने षड्यन्त्रमा उद्यत छ । नेपालका लेन्डुपदोर्जेहरू अमेरिकी साम्राज्यवादको प्रस्तावप्रति सकारात्मक रहेको जबाफ फर्काएर मालिकको भक्ति गरिरहेका छन् भने कालापनीमा आफ्नो सेना राखेर हाम्रो मातृभूमिमा मार्च पास्ट गरिरहेको भारतीय साम्राज्यवादी अतिक्रमणको प्रतिरोध गर्नुको साटो केपी वली सरकारका प्यादाहरू ‘कूटनीतिक पहल’ को नाटक गरेर राष्ट्रियता बचाउन उर्लिएको जनसागरको वेग घटाउने षड्यन्त्रमा तल्लीन छन् । साम्राज्यवादको चित्रण गर्दै स्रष्टा ज्ञवाली भन्छन् :

मिच्दै जमिन यो मेरो ¥याल काढेर बाँच्दछस् !
सीमास्तम्भ उखेलेर बन्दै राक्षस हाँस्दछस् !
तेरो सोच तथा हाँसो असाध्यै अपवित्र छ !
नछो नेपालको माटो यो असाध्यै पवित्र छ !

तेरो सेतो लुगाभन्दा सेतो मेरो हिमाल छ !
तेरो चौडा जिमीभन्दा मेरो छाती विशाल छ !
नटेक् यो वीरको भूमि क्रान्तिका बीज छन् यहाँ !
नछो यो बुद्धको भूमि शान्तिका दीप छन् यहाँ !

नठानेस् दास तेरो हुँ जे गरे नि सहन्छु म !
आफ्नो अस्तित्वका निम्ति युगौँ लडिरहन्छु म !
हार्छ नेपाल ठान्दो होस् वीरता हार्छ पो कहाँ ?
कसरी हार्छ यो राष्ट्र म ज्युँदै छु अझै यहाँ !

तँलाई देशमा मेरो साँढेझैँ चर्न दिन्नँ म !
ईष्र्या विद्वेषका बीज देशमा छर्न दिन्नँ म !
नेपाली भूमिमा राज्य तँलाई गर्न दिन्नँ म !
मर्नै परे म नै मर्छु देश यो मर्न दिन्नँ म !

मेरो शरीरमा रातो रक्त बाँकी रहेतक
देशका निम्तिमा मर्ने भक्त बाँकी रहेतक
नेपाल राष्ट्र यो मेरो रहनेछ सुरक्षित
यो देशका सबै शत्रु हुनेछन् क्षत–विक्षत ।

स्रष्टाहरूको हृदयमा राष्ट्रभक्तिको आगो सल्किएको छ । के पूर्व, के पश्चिम, के उत्तर, के दक्षिण सबैसबैतिरका राष्ट्रवादी स्रष्टाहरू देशको हितलाई केन्द्रमा राखेर सिर्जना गरिरहेका छन् । जनताको त्याग र बलिदानको भावनामाथि टेकेर सत्तामा पुगेका राष्ट्रघाती र जनघातीहरूप्रति कटाक्ष गर्दै कवि राधा दुलाल कार्कीले एक दिन सुनौलो बिहान जन्मिने सुन्दर आशा व्यक्त गरेकी छिन् । ‘आदर्श मानव’ शीर्षक कवितामा उनी भन्छिन् :

सलाम छ
तिम्रो स्वतन्त्रताको सोचलाई !
दासत्व मुक्तिका लागि
जीवनभर मस्तिष्क खियायौ
कैयौँपटक कोठरीमा थुनियौ
कैयौँपटक प्रतिबन्धका झिरहरू रोपिए
फेरि पनि तिमीले
उन्मुक्तिको बुलन्द गीत गाइरह्यौ !

विचारको कुलेसो डोर्याएर
जब तिमी बस्तीमा बग्यौ
तब एकाएक उठे
हातमा कुटो र गैँती बोकेर
हजारौँ–हजार निर्धा मान्छेहरू
तिनै मान्छेहरूको बलिदानमा टेकेर
भोक बेचिरहेको सडक
अन्ततः विजयी घोषित भयो !

केही मुठ्ठीभर सोचले
स्विकार्न सकेन यो परिवर्तनलाई
भुन्टी र रामेको स्कुल जाने सपना
जोमसोमकी आमाको
सेतो भात खाने रहर
हुम्लेली बाबाको
न्यानो कपडा भिर्ने मन
एकाएक किनारा लाग्दै गए
समताको नारा त कता हो कता
राजनीतिको व्यापार फस्टाएको छ मनग्गे !

आज पनि उस्तै छ सडक !
जो आए पनि
जो गए पनि
ऊ प्रतिकार गर्दैन
बरु प्रतिबद्धता प्रकट गर्छ
तिम्रो सपना अधुरो छोड्ने छैन
जबसम्म,
विभेद रहन्छ धर्तीमा
तबसम्म,
निरन्तर गाइरहने छ ऊ
उन्मुक्तिका बुलन्द गीतहरू ।

यो मुलुकका शासकहरूले उनीहरूप्रति प्रश्न गर्न, सन्देह गर्न र जबाफ खोज्न प्रतिबन्ध लगाएका छन् । उनीहरूको लूटको स्वर्गमा धक्का पुग्ने ठानेर विद्रोहीहरूमाथि उनीहरूले छेकबार लगाएका छन् र कयौँ विद्रोहीहरूलाई जेल र नेलमा जकडेर कैदी–बन्दी बनाएका छन् । प्रायः हुकुमी र निरङ्कुश शासकहरू यस्तै उल्टो सोच्छन् । विचार त मस्तिष्क र हृदयबाट निष्पन्न हुन्छ तर मन्दबुद्धि शासकहरू शरीरलाई थुन्छन् हिरासत र जेलमा । हिरासत र जेलमा त मानिसको शरीर पो थुनिन्छ, उसको विचार त थुनिँदैन नि ! तर मूर्ख शासकहरू पटकपटक उरन्ठेउलो उमेरमा कालीदासले गरेको जस्तै उट्पट्याङपूर्ण र बहुलट्ठीपूर्ण गल्ती दोहोर्याइरहन्छन् । उनीहरूको यो बहुलट्ठीपन तिनका हनुमान र प्यादाहरूले देख्दैनन् । तिनको मस्तिष्कको बन्द ढोकाबाट विद्रोही स्वरहरू बाहिर निस्किँदैनन् किनकि दासहरू मालिकका विरुद्ध बोल्नुलाई ‘पाप’ र ‘अपराध’ सम्झिन्छन् र देखे पनि भन्न सक्तैनन् । तर जोदाहा स्रष्टाहरू निरङ्कुश शासक जङ्गबहादुरका सिपाहीहरूका बीचको बाङ्गो रूखलाई सोझो भन्न नमान्ने बरु मर्न तयार हुने विद्रोही सिपाहीजस्तै हुन्छन् । उनीहरू भन्छन्– मेरो गर्धन चिलाएको हो कि महाराजका आँखा फुटेका हुन्, यो रूख त बाङ्गै छ । यस्तै विद्रोही चेत बोकेका स्रष्टा मनोज लम्साल ‘प्रश्नहरूको आयतन’ शीर्षक कवितामा भन्छन् :

शासकहरू प्रश्नलाई कुनै विषालु सापझैँ
कुल्चिन खोज्छन्
सदियौँदेखि लाठी, बन्दुक र सङ्गीनहरूले
रोपिएका छन् प्रश्नहरू
कति प्रश्नहरू फ्याँकिएका छन्
रद्दीका खाल्डाहरूमा
र कति बगेका छन्
अनन्त दुःखका भेलमा
यी इतिहासका गर्तमा हेलिएका प्रश्नहरू
शासकका बुटले निर्मम कुल्चिएका प्रश्नहरू
हावाका कण बनेर घुमिरहेछन्
यो वायुमण्डलमा
भरेर यी प्रश्नहरूको प्राणवायु छातीमा
हुर्कंदैछन् बालकहरू
प्रश्नको निर्मम चोटले रन्थनिएको
विद्रोही मस्तिष्क लिएर
व्यवस्थाको हन्डर खपेर मजबुत
भएका हातखुट्टा लिएर
यी मस्तिष्कहरूले खोद्नेछन्
इतिहासमा दबिएका शोषण र उत्पीडनका
सजिला प्रश्नहरूका निर्मम उत्तरहरू
यी हातखुट्टाले प्रतिकार गर्नेछन्
खुनी प्रहारहरू
हे ! शासकहरू हो
तिम्रो बुट, लाठी र बन्दुकले
नाप्न सक्नेछैन
यी प्रश्नहरूको आयतन
किनकि यी प्रश्नहरू
धर्ती र आकाशझैँ
अनन्त फैलिएका छन् ।

यतिबेला सबै देशभक्तहरूको मनमा, मुखमा, ओठमा देशभक्तिका गीत, कविताहरू गुन्जिरहेको सुनिन्छ । शासकहरू जनताले देशको गाथा गुनगुनाएको सुन्न र सहन सक्तैनन् । जनताले देशको नाउँ लिएको उनीहरूलाई पच्दैन । शासकहरू मातृघाती छन् भन्ने घामझैँ छर्लङ्ग छ तर पनि स्रष्टाहरू चिच्याइरहेका छन् शासकहरूले जनतालाई अझै भ्रममा पार्लान् भन्ने चिन्ताले । कवि जीवनमित्र पण्डित देशको माया हुनेहरूलाई राष्ट्रियता रक्षाका लागि उठ्न आह्वान गर्दै ‘देशको माया’ कवितामा भन्छन् :

देशको छ माया भने जाग, उठ
माटोको छ माया भने जाग, उठ
सुस्ता, कालापानी, लिपुलेक, तिलाठी
दसगजाको माया गर्न जाग, उठ ।

सगरमाथा हाम्रो भनी जाग, उठ
सीता, बुद्घ हाम्रा भनी जाग, उठ
आमा, दिदी, बहिनी, अस्मिता यो देशको !
रक्षा गर्न देशका सबै जाग, उठ ।

बेला बितिसक्यो सबै जाग, उठ
देश लुटिसक्यो, सबै जाग उठ
धैर्यताको सीमा नाघिसक्यो अब
नेपाली हौँ हामी, सबै जाग उठ ।।

नेपाल राम्रो छ । नेपालीहरू राम्रा छन् । खराब त यहाँको दलाल पुँजीवादी व्यवस्था र यहाँका लुटेरा शासकहरू मात्र छन् । मुलुकको प्राकृतिक सौन्दर्यको चर्चा गर्दै ‘देश लुटिँदा हाम्रो मुटु’ मा स्रष्टा डा. अच्युतशाली घिमिरे भन्छन् :

हाम्रो देश नेपाल
सुन्दर शान्त र विशाल,
अनि हिमालको उच्चतासँगै
गाँसिएको हाम्रो गौरव
र हाम्रो सार्वभौमिकता,
तर
हाम्रो सच्चा आर्यभावना
हार्दिकतापूर्वक व्यवहार
र सहिष्णु सम्बन्धमा
सधैँ धावा बोल्दै आइरहेको छ भारत
कहिले ठुल्दाइ त
कहिले नभइनहुने छिमेकी बनेर त
कहिले ‘रोटीबेटी’ को सम्बन्ध ब्युँताएर
कहिले पहाडमा नटिक्ने जवानी
र पानीको कथा सुनाएर
तर के गर्ने
भूपी शेरचनले भनेझैँ
‘हामी वीर छौँ
तर बुद्धू छौँ’
र त मोदीको विजयमा
जुलुस निकाल्न
वीरता हासिल गर्छौं तर
देशको समस्यामा बुद्धू भइराख्छौँ ।

आज नेपालको
लिम्पियाधुरा, लिपुलेक र कालापानी
दुखेको छ,
आफ्नै अङ्गलाई छुट्याउन खोज्दा
नेपाल आमालाई
चसक्क भएको छ ।

देशको माटो लुछिँदा
धेरैको मुटु रोएको छ ।…
नेपालको सीमाक्षेत्रमा एकतर्फी
बाँध, नहर, तटबन्ध र सडक बनाउँछ
तर हाम्रा नेता र मन्त्रीहरू
जनताको मतमा सिंहदरबार पुग्छन्
रङ बदल्छन्
नेपालीको पसिना पचाउँछन्
दिल्लीको रेड कार्पेटमा शरण पर्छन्
यसैगरी ‘लाहुरेको स्तुति’ स्रष्टा दिल थापा भन्छन् :

सन्देश लिएर आउँछ
हरेक बिहान कलिलो घामले
लाहुरे छोराको स्वाभिमान लिलामी भएको देशमा
मातृभूमि विस्तारवादको घेराबन्दीमा परेको छ भनेर

जब निलो आकाशका सीमारेखाहरूलाई
कालो बादलले घेराबन्दीमा पार्छ नि
अनि घामले किरणका बुलेटहरू प्रहार गर्छ
कालो बादलमाथि

आमा !
यो तिम्रो लाहुरे छोरो
कोखमा आएको दिनदेखि
लिलामीमा परेको छोरो
निलो आकाशलाई सधैँ सुरक्षा दिइरहने घाम पनि होइन
कुनै साम्राज्यवादले बनाएको बुलेट होइन
म त मेरा पुर्खाहरूले
अग्रीम बन्धकीमा राखिएको घामको किरण हुँ
मातृभूमितर्फ सोझिएको
विस्तारवादी बन्दुकको नाल
मेरो देशलाई दुखेको बेलामा,
मातृभूमिका पक्षमा हुनुपर्ने बेलामा
तर म लाहुरे छोरा
विपक्षमा
भारत माताकी जय शब्दावलीलाई
नशाहरूको ओदानमा तताएर गिदीमा ट्याटु खोपिरहेछु
कालापानीको बलौटे माटोमा लम्पसार परेर
विस्तारवादी बनमारा खेती गर्न हर प्रयास गर्छ
हामीलाई नै खेताला बनाएर हाम्रै कालापानीमा
बुटका ट्याक्टरहरू प्रयोग गरेर
दादागिरीको गोठहरू ठाउँठाउँमा खडा गरेर
म आजभोलि मनको मरुभूमिमा
देशभक्तिको बिरुवा खोजिरहन्छु ।

छिमेकी भनेको समस्या पर्दा सघाउने भरोसायोग्य साथी हुनुपर्ने हो तर हाम्रो दक्षिणी छिमेकी भारत जब नेपाल र नेपालीलाई समस्या पर्छ त्यत्ति नै बेला नाकाबन्दी लगाउँछ र भोकभोकै मार्छ । भूगोलमा आफूभन्दा सानो देश नेपालको सयौँ ठाउँमा सीमा मिच्छ, सिमानाका जङ्गे पिलरहरू सार्छ, फाल्छ र नेपाली भूमि आफ्नो देशमा गाभेर नक्सा निकाल्छ । ऊ हदैसम्मको ठुन्याहा, मिचाहा मात्र होइन, अत्याचार र अहङ्कारी पनि छ । त्यसैले देशभक्त नेपालीहरू उसलाई छिमेकी होइन, विस्तारवादी र साम्राज्यवादी नामले बोलाउँछन् । ‘छिमेकी सम्बन्ध’ मा स्रष्टा तोयनाथ भट्टराई भन्छन् :

नाताभित्र, त्यसमा पनि सत्तारूढ दलमा लागेको
उन्मादी छिमेकी परेछ भने
ब्वाँसाले झैँ पन्जा छिराएर
आन्द्रा चुँडाल्न खोज्छ !
पारिवरिक नातामा झन्
सार्वजनिक बाटो वा जमिनसमेत मिचेर
पर्खाल र फलामे ढोका लाउँछ
आपत् परेको बुझ्यो भने
बाटो छेकिने गरी गाडी राखेर अभर पार्छ ।
यसरी अघोषित नाकाबन्दी गर्छ ।
थिचोमिचो गरिरहन्छ
वैकल्पिक उपाय प्रयोग गरेको देख्यो भने
करेसा र बार्दलीमा निस्केर दारा किट्छ ।।
सदाचार र सदासयतालाई कमजोरी ठाने
पिर्नुसम्म पिर्छ पुरानो नाताको छिमेकीले !
किनकि उसलाई पीडित छिमेकीको आन्द्राभुँडी
थाहा हुन्छ !
उसलाई लगाएका सारा गुन पचाउन नसकेपछि
एकमुष्ट शत्रुता गर्छ
उसले तिर्नुपर्ने सय भारी गुन खरानी पार्न
लुकेर अगुल्टो झोस्छ
अनि भित्रभित्रै नाता पोली खान्छ ।।

आज मुलुकलाई कालापानीजस्तै लिपुलेक र लिम्पियाधुरा पनि दुखिरहेको छ । कालापनीमा त साम्राज्यवादी सैनिक परेड खेलिरहेकै छन् । शासकहरू आफ्नो मालिकलाई रिझाउन आफ्नो भूमिबाट पराया सेना फिर्ता लग्न दबाब दिनसमेत सक्तैनन् किनकि उनीहरूले पराईको नुन र जुठोपुरो खाएका छन् । त्यसैले उनीहरू राष्ट्रियतामा आँच आउँदा पनि मालिकभक्ति गरिरहेका छन् । यस्तै सन्दर्भलाई समेत जोड्दै ‘नालापानी लिपुलेक’ सिर्जनामा स्रष्टा सूर्यप्रसाद खनाल भन्छन् :

छड्के दौड्यो भारतको ऊँट
कैसे दिन्छौ घोडे चेक ?
नालापानी लिपुलेक
कल्ले देला पिउँसे चेक ?
सत्तापक्ष, प्रतिपक्ष ?
छौ कि कतै नतमस्त !
नालापानी लिपुलेक ।
वल्लो हो कि पल्लो भेग
कठैबरै कल्ले गर्ला थुन छेक ।
बुद्ध जन्मे यहाँ रे
उस्तै बन्यो त्यहाँ
कहाँ ?
यताकोले सोध्यो
यी यहाँ उताकाले भन्यो
खै कहाँ यताकाले भन्यो
हेर्छस् ? देखाइदिम ? धम्की दियो ।
हजुर हैन,
होइन मैले
ऊ त्यसले भन्दै पो थियो ।
जनता अलमल्ल
सास फेरेका बल्लबल्ल !
नालापानी लिपुलेक,
सिमानामा झलमल्ल ।
प्रतिपक्ष ट्वाँ–ट्वाँ
सकार निदाउँदैछ फ्वाँ–फ्वाँ
नालापानी लिपुलेक
कसले देला घोडे चेक ?
कसरी होला थुनछेक ?
सरकार चलाउने ट्वाल्ल
होली वाइन पिउने ह्वाल्ल
सके टालटुल, नत्र पकछ्याल्ल

हिजोका विद्रोही नेताहरू आज रातारात विद्रोह त्यागेर शासकवर्गमा रुपान्तरित भए । हिजो दमन गर्ने शासकहरूको ठाउँमा आज उनीहरू पुगे । राष्ट्रियता, जनतन्त्र र जनजीविका झन् सङ्कटमा छन् । सडकमा विद्रोहको नारा उर्लिरहेकै छ । शासन र शासकहरूको नाउँ फेरिएको छ तर दमन अन्याय, अत्याचार उस्तै छ । झन्झन् चर्को बन्दै छ ।
‘बर्बाद भएँ म’ शीर्षक सिर्जनामा स्रष्टा नारायण खनाल भन्छन् :

महोदय !
तपाईंको विजयका निम्ति
जीवनभर बोकेको आस्थालाई
तिलाञ्जलि दिई
तपाईंको आदेशसहितको
प्रसाद बोकेर गाउँ चहारेँ मैले
हातमा सुटुक्क प्रसाद थमाएर
कसैलाई नभन्नु भन्दै घरघरबाट फर्कें
तपाईंको प्यारो छद्मभेषी बनेर
पैसामा आदर्श बेच्दै
अर्कै परिवारको हितको निमित्त
आफ्नो परिवारका सदस्यको गला रेट्न
आफ्नै समूहमा छिपेर बसेँ
महोदय !
कृपया मेरो पीडा पनि त बुझ्नुस्
कति गाह्रो छ छद्मभेष, उफू !
न आफ्नासँग टाढिएको देखाउन हुने
न तपाईंकासँग नरिसाएको छिपाउन हुने
न तपाईंसँग गाँसिएको कसैले भेटाउन हुने
जेनतेन बच्दै
सोझा कार्यकर्ता र जनतालाई भ्रममा पारेर
अहोरात्र तपाईंको लक्ष्य चुम्न दौडिरहेँ
तर महोदय !
तपाईंको जित त भयो, जित पछि
न खुसी मनाउन निधारमा अविर लगाउन सकेँ
आज देशभक्त, क्रान्तिकारी, माक्र्सवादी स्रष्टाहरूले लेख्ने, गाउने गीत–सङ्गीतमा राष्ट्रियताको आवाज गहिरोसँग मुखरित भएको देखिन्छ । उनीहरू जनतन्त्र र जनजीविकाका प्रश्नहरूलाई आफ्ना सिर्जनाको केन्द्रबिन्दुमा राखिरहेका छन् । ‘हेर भारत आइसक्यो हेपेर’ शीर्षक गीतमा माक्र्सवादी स्रष्टा आरोह नेपाली भन्छन् :

हेर भारत आइसक्यो हेपेर
हामी कति बस्ने हो खपेर
देशका लागि अब त उठिदेऊ नेपाली
नेपाल आमा बचाउन जुटिदेऊ नेपाली
कालापानी, लिपुलेक, सुस्ता मिच्ने त्यही हो
नालापानी, लिम्पियाधुरा, टिस्टा लुट्ने त्यही हो
सधैँ हाम्लाई हेपिरहने मिचाहा त्यो जाली
सुन हाम्रो घरै फोर्न पस्यो यसपालि
कति बस्छौ अपमान सहेर
लडौँ अब एकजुट भएर
देशका लागि अब त उठिदेऊ नेपाली
स्वाभिमान जोगाउन जुटिदेऊ नेपाली
दुख्या छ कि दुख्या छैन देशभक्तको छाती
गिद्दे नङ्ग्रा पर्दा दुष्टको आफ्नै आमामाथि
तातै छ कि चिसियो वीरहरूको रगत
तीन कोटी योद्धाहरूको देखाइदिऊँ तागत
पाका स्रष्टा नारायण शर्मा ‘कमलप्रसाद’ लाई पनि अहिले सत्ता र राष्ट्रियता बिझाएको छ । बेलाबेला उनी सत्ता र सरकारप्रति असन्तुष्टि पोखिरहन्छन् । उनी भन्छन् :

कोही किन बोलोस् !?
न्याय हराएको यो देशमा,
समानता गुमेको यो केसमा,
स्वतन्त्रता किनिएको यो ठाउँमा
र स्वाभिमान सिद्धिएको यो गाउँमा
कोही किन बोलोस् ?
कसलाई के मतलब छ र बोलोस् !?
आमाको अस्तित्व मेटिँदै गरेको यो अवस्थामा
सतीको सतीत्व लुटिइरहेको यो व्यवस्थामा
बहिनी बलात्कृत भएको योवनावस्थामा
र छोरीको अस्मिता लुटिएको यो बाल्यावस्थामा
कोही किन बोलोस् ?
केही दम भए पो बोलोस् !!
स्वदेशको साँध–सीमा मिचिएर के फरक पर्छ र ?
आफ्नो आँठो–किलो बढेको बढ्यै छ !
राष्ट्रको स्वाभिमान गुमेर पो के असर पर्छ र ?
आफ्नो–परिवारको अभिमान बढेको बढ्यै छ !
राष्ट्रिय स्वाधीनतामा कसैले धावा बोलेर के हुन्छ र ?
आफ्नो स्वेच्छाचारिता अभिवृद्धि भएकै छ !
प्रियसीको अस्मिता अपहृत भएर पो के हुन्छ र ?
आफू पदक, पैसा र पावरफुल पोस्टले पुरस्कृत भएकै छ !!
त्यसैले
कोही किन बोलोस् ?
मुखबुजो नलाएको भए पो बोलोस् !!
स्वदेशमा दादा पसेर हैकम चलाएर के भो ?
स्वभेषमा दलाल बसेर रकम बाँडेर के भो ?
बरु
ती दादाका खादा लाएमा प्यादा बन्न पाइन्छ पो !
दलालका हुकुम मानेमा रकम टन्न पाइन्छ पो !!…
बरु भन्छ–
गए केस इजलास जाओस् !
गए शेष मधेस जाओस् !!
गए भेष भासमा जाओस् !!!
गए देश भाँडमा जाओस् !!!!

स्रष्टा नारायण शर्माले राष्ट्रियता रक्षाका लागि सडकमा कोही पनि उत्रिएका छैनन्जस्तो भावना व्यक्त गरेका छन् तर त्यो सत्य होइन । आज शासकहरूबाहेक सिङ्गो जनसमुदाय राष्ट्रियता रक्षाको माग गर्दै सडकमा छ । उनले लक्षित गरेको समूह शासकवर्ग हो तर कविताले मात्रै त्यो कुरा बुझाउँदैन ।

यसैगरी सत्ता र शासकप्रति कटाक्ष गर्दै स्रष्टा कृष्णशरण उपाध्याय भन्छन् :

अहा ! टल्कने लाल गाला तपाईं !
कसैको भिनाज्यू र साला तपाईं !
जुनै लाज का काम गर्नुस् तथापि
नबन्ने कुनै हाल काला तपाईं !
निचर्नुस् र खानुस् विकासे बजेट
पटक्कै नलाग्ने पखाला तपाईं !
दुराचार गर्नुस् बलात्कार गर्नुस्
र भिर्नुस् किलो बीस ( माला तपाईं !
अँध्यारै रहोस् देश को श्रीमुहार
हुनुस् दीप ( पाला उज्याला तपाईं !
मिलेका सबै भाइ मा फूट पार्नुस्
हुनुस् उच्च नेतृत्व वाला तपाईं !
यो साताको समय समीक्षाको अन्त्यमा कवि एवम् गीतकार हीरामणि दुःखीको सधैँ नालापानी र कालापानी दुखिखरहने हाम्रो देशलाई जोगाउन लड्नैपर्ने भावको गीतका यी हरफहरू राख्दै कलम टुङ्ग्याउँछु :

इतिहास बोल्छ सधैँ लड्यौँ नालापानी
किन दुख्छ सधैँ मलाई मेरै कालापानी ।
नेपालको सत्ता बाँच्छ बेच्दै नदी पानी
आँठो मिच्छ छिमेकीले गर्दै मनोमानी ।
युवाजति बिदेसिन खोज्छ राहदानी
उब्जँदैन आफ्नै देशमा हाम्लाई रसदपानी ।।
ब्याज खाँदै बस्यौँ भने किल्ला–काँगडाका
भारतले पिलर सार्छ हाम्रो सिमानाका ।
तर पनि चुपै बस्छ हाम्रो राजधानी
दिल्ली धाउँदै नेता गर्छन् कुर्सी खिचातानी ।।
इतिहास बोल्छ सधैँ लड्यौँ नालापानी
किन दुख्छ सधैँ मलाई मेरै कालापानी ।

२०७६, ३० मंसिर सोमबार ०६:२१ ई-रातो खबर