बेन्जेमाको गोलमा मड्रिड हारबाट जोगियो


एजेन्सी – फरवार्ड करिम बेन्जेमाले इन्ज्युरी समयमा गोल गरेपछि स्पेनिस महारथी रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । मड्रिड भ्यालेन्सियासँगको सम्भावित हारबाट जोगिएको हो । खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।

भ्यालेन्सियामा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि रियले ७८औं मिनेटमा गोल खान पुगेको थियो । भ्यालेन्सियाका कार्लाेस सोलेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

हारतर्फ उन्मुख रियलका लागि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सम्भावित हारबाट जोगाए ।

बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल १६ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाको पनि समान ३५ अंक रहेपनि गोल अन्तरमा अघि छ । भ्यालेन्सिया २७ अंक जोडेर आठौं स्थानमा छ ।hamrokhelkud