रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी, इन्टर शीर्षस्थानमा


एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा उडिनेसीमाथि सहज जित निकालेको छ । युभेन्टसले उडिनेसीमासथ ३–१ को सहज जित निकालेको हो ।

एलिएन्ज स्टेडियममा आइतबार राति भएको खेलमा युभेन्टसलाई जिताउन लियोनार्दाे बोनुचीले एक गोल थपे । उडिनेसीका इग्नासियोले सान्त्वना गोल गरे ।

खेलको नवौं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्टसले खेलमा अग्रता लिन सफल भएको थियो । ३७औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।

४५औं मिनेटमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्टसले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । इन्ज्युरी समयमा इग्नासियोले गोल गरेपनि युभेन्टसविरुद्ध हार टार्न सकेन । युभेन्टस ३–१ ले विजयी हुन सफल भयो ।

जितपछि युभेन्टस १६ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । उडिनेसी १५ अंकसहित १७औं स्थानमा छ ।

यता, सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलान फियोरेन्टिनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टर मिलानका बोर्जा भालेरोले तथा फियोरेन्टिनाका डुसानले बराबरी गोल फर्काए ।

बराबरीपछि इन्टर १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३९ अंक रहेपनि इन्टर गोल अन्तरमा शीर्षमा रहेको हो । फियोरेन्टिना १७ अंकसहित १३औं स्थानमा छ ।hamrokhelkud