झापा । भारत सँग सिमाना जोडिएको झापाको मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा भारतीय ट्रक र कारको दैनिक लाईन छुट्दैन । एक किलोमिटर पारी भारतीय सिमानामा खुलेका भारतीय पम्प भने सुनसान हुन्छन्, पम्पमा काम गर्ने कर्मचारी दैनिक पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् ।
नजिकै नेपालका दुई पम्प प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ्ग कम्पनीमामा तेल हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् । विहान उठे देखी बेलुका मध्य रात सम्म भारतीय गाडीमा डिजेल र पेट्रोल भर्नमा उनिहरुलाई फुर्सत हुँदैन । भारतमा भन्दा नेपालमा इन्धनको मुल्य केहि रुपैयाँ सस्तो हुँदा भारतीय सवारीहरु नेपालका पेट्रोल पम्पमा तेल भर्न आउने हुँदा सिमानामा खुलेका पम्पमा भारतीय गाडीको लाइन हुन्छ । भारतीय सवारीले फुल ट्याङ्की तेल हाल्ने हुँदा र धेरै तेल खरीद गर्ने हुदा पम्पमा प्राथमिकता पनि नेपालीले भन्दा भारतीय सवारीलेनै पाउँछन् । भारतमा भन्दा पेट्रोल प्रति लिटर ११.७ र डिजल प्रति लिटर १५.४४ रुपैयाँले सस्तो हुँदा भारतीय सवारी नेपालमा तेल भर्न लाईन लागेरै आउने गरेका हुन्। धेरै तेल हाल्दा नेपालमानै फाईदा हुने हुदा तेल हाल्नकै लागि नेपाल आउने गरेको भारतीय सवारी चालक बताउँछन् ।
सिलिगुडीका ट्रक चालक पवन वंशलले भारतमा भन्दा नेपालमा तेल सस्तो पर्ने भएकाले आफू सधैं नेपालमै तेल भर्न थालेको बताए । ‘नेपाल भारत कुद्ने ट्रक हो, भारतमा भन्दा नेपालमा डिजेल सस्तोछ, यता आएको समयमा फुल ट्याङ्की हालेर जाँदा पुन यहाँ आउन सम्मलाई पुग्छ ।’ उनले भने । झापाको मेचीनगर नगरपालिका सिमाना सँग जोडिएको र यो क्षेत्रमा खुलेको पम्पमा पचास प्रतिशत भन्दा बढी भारतीय सवारीनै तेल भर्न आउने गरेका छन् । ट्रक र साना कार, जीप मात्र नभई यात्रु बोकेर नेपाल आउने बस र अन्य सवारी साधनले पनि नेपालमानै तेल भरेर फर्कन्छन् । पहिले नेपाल आउने मालवाहक ट्रकहरुले भारतीय बजार नक्सलबारीमा तेल भरेर आउँथे तर हिजोआज काँकटभिट्टा, धुलावारी, चारआली लगायतका पम्पहरुमा भर्न थालेको नेपाली ट्रक चालकको भनाई छ । ‘भारतमा महँगो छ, नेपालमा सस्तो हुँदा नेपालमा तेल हाल्दा पकेट खर्च बच्ने भएकाले सबै भारतीय चालकले नेपालमा तेल हाल्छन्, पहिले सस्तो भन्ने थाहा नहुँदा भारतको नक्सलबारीमा तेल हाल्थे ।’ नेपाली ट्रक चालक सुमन श्रेष्ठले भने । झापाका काँकडभिट्टा, इटाभट्टा, धुलाबारी, चारआली, भद्रपुर, वनियानी र गौरादहमा तेल भर्न आउने भारतीय सवारीको चाप उच्च देखिन्छ । चारआली डिपोका निमिक्त प्रमुख तथा सुचना अधिकारी लोकमणी पौडेलले सीमावर्ती क्षेत्रका पेट्रोल पम्पहरुमा तेलको बिक्री बढेको पाइएको बताए । ‘केही पेट्रोल पम्पमा विक्री बढेको पाइएको छ,’ सबैतिर माग हुँदा हामि त दिन्छौ पौडेलले भने, ‘भारतीय सवारी आउन थालेपछि त्यस्तो भएको हो ।’
नेपाली सवारीलाई प्राथमिकता नदिई भारतीयलाई मात्र तेलमा प्राथमिकता दिने गरेको गुनासो केहि समय अघि आएपछि यस विषयमा निगमले अनुगमन टोली नै खटाएको थियो । अनुगमनका क्रममा सिमित भारतीय सवारीहरु तेल भर्नकै लागि आएको भेटिएको र पहिलो प्राथमिकता नेपाली सवारीलाई दिन निर्देशन समेत दिएको पौडेलले बताए । ‘तस्करीनै चाहिँ शुरु भएको देखिन्न, नेपाल आएकालाई तेल सकिए दिनै पर्छ, नदिने नियम छैन ।’ पौडेलले भने । उनले तेल बिक्रि गर्ने पम्प सञ्चालकलाई बढि तेल बिक्रि गर्दा फाईदा हुने भएकाले भारतीय सवारीलाई प्राथमिकतामा राखेर दिने गरेको हुनसक्ने बताए । ‘पम्प सञ्चालकलाई कमिसन दिने हो, उनिहरुले जति बिक्रि ग¥यो त्यति धेरै कमिसन पाउँछन्, कमिसनको लोभमा भारतीय सवारीलाई बढि बिक्रि गरेको हो, हामी अनुगमन गरीरहेका छौ ।’ उनले भने । सरकारले भारतिय सवारीलाई कति दिने वा नदिने केहि नियम नबनाएकाले भारतबाट आएको तेल भारतनै फिर्ता हुने हुँदा समय समयमा नेपाली पम्पमा तेल अभाव हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयमा केहि समय अघि निगम, पम्प र प्रमुख जिल्ला अधिकारी समिलित बैठक बसि इन्धनको तस्करी मौलाउन नदिन सिमा क्षेत्रका प्रहरीलाई निर्देशन समेत दिएको निगमको भनाई छ ।
झापाको मुख्य नाका काँकडभिट्टाबाट तेल भरेर ट्रक, बस, जीप र मोटरसाइकल फर्कने गरे पनि अन्य स्थानबाट भने साइकलमा जर्केन र ड्रमबाटनै बारम्बार तस्करी हुने गरेको पाईन्छन् । तेल धेरै बिक्रि हुँदा कमिसन पनि राम्रो पाउने हुँदा झापाका सिमा क्षेत्रमा धेरै पम्पहरु खुलेका छन् । चारआली डिपोले तेल बितरण गर्ने मेचीका चार जिल्लामा १ नमुना सहित ५१ वटा पम्प रहेका छन् । त्यस मध्ये सबैभन्दा धेरै झापामा मात्रै ४२ वटा पम्प रहेको चारआली डिपोको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य जिल्लाहरुमा ताप्लेजुङमा १, पाँचथरमा १ नमुना सहित ५, इलाममा ३ वटा पम्प सञ्चालनमा रहेका छन् । ती पम्पका लागि दैनिक २५ वटा ट्याङ्करले भारतबाट नेपालमा तेल ल्याउने गरेका छन् । मेचीमा पेट्रोल, डिजेल र मट्टितेल बोक्ने ५४ वटा ट्याङ्कर छन् । २० हजार लिटर बोक्ने ३३ र १२ हजार लिटर बोक्ने २१ वटा ट्याङ्कर छन् । मेचीमा सबैभन्दा बढि पछिल्लो समय डिजेल त्यसपछी पेट्रोल र अन्त्यमा मट्टितेलको माग रहेको छ ।janasamsad daily