डा अंशु झा
बच्चाको शारीरिक, भाषा, सोच र भावानात्मक विकास हुने प्रक्रियालाई बच्चाको विकास क्रम भन्ने गरिन्छ। आमाको गर्भदेखि वयस्कसम्म बच्चाको विकास हुने गर्छ। बच्चाको तौल र उचाइ जति जरुरत हुन्छ, शारीरिक र मानसिक विकास पनि त्यति नै आवश्यक पर्छ।
बच्चा जन्मँदा सुत्ने मात्र गर्छन्। विस्तारै विकास हुँदै जाने क्रममा हात, खुट्टा फाल्दै खेल्न थाल्छन्। ३–४ महिना भएपछि विस्तारै टाउको उठाउन खोज्नुका साथै आमा देखेर हाँस्न थाल्छन्।
विकासकै क्रममा हातले सानो वस्तु उठाएर मुखमा लैजान थाल्छन्। विस्तारै ५–६ महिना भएपछि बामे सर्छन्। विस्तारै बोलीको पनि विकास हुन्छ। बोलीको विकास हुने क्रममा आ, उ आवाज निकालेर बोल्ने गर्छन्। आ, उ आवाज निकाल्दानिकाल्दै ७–८ महिना पुगेपछि आमा, बाबा भन्ने गर्छन्। ६–७ महिनाको भएपछि को आफ्नो, को पराई छुट्याउने गर्छन्।
६ महिना पुगेपछि कुनै वस्तुको सहायतामा बस्ने गर्छन्। ९–१० महिना पुगेपछि कसैको सहायता बिनै पनि बस्ने गर्छन्। ११–१२ महिना पुगेपछि भित्ता समातेर हिँड्न सक्ने हुन्छन्। १२ महिनापछि कसैको सहायता बिनै हिँड्ने गर्छन्। विकास हुने क्रममा विस्तारै सिँढी चड्ने, ओर्लने, गर्दागर्दै दगुर्ने गर्छन्।
कुनै बच्चाको विकास ढिलो हुने गर्छ, जसले गर्दा दुई–तीन वर्षको उमेरसम्म पनि ओछ्यानमा सुतेको सुत्यै मात्र गर्ने गर्छन्। उनीहरुमा अन्य चिजको विकास हँुदैन।
बच्चाको विकास के हो ?
बच्चाले बाबा–आमा भनेको छैन, टाउको धान्न सक्दैन, बस्न–उठ्न सकेको छैन भने विकास ढिला भएको बुझ्नु पर्छ। हाम्रो समाजमा उचाइ, तौल बढेको हेर्ने गर्छन् तर बच्चाको विकास भएको छ की छैन भनेर ख्याल गर्दैनन्।
बच्चाको तौल र उचाइ बढेको छ की छैन भनेर सबैले ख्याल गर्छन्। सरकारले पनि खोप लगाउने बेलामा तौल र उचाइ बढाउने अनिवार्य जस्तै गरेको छ। तर बच्चाको विकासमा भने जनचेतना छैन। राज्यले पनि बच्चाको विकासमा कुनै कार्यक्रम गरेको पार्इंदैन। आमा–बुबाले सानैदेखि बच्चाको तौल र उचाइको जस्तै बच्चाको विकास भएको छ की छैन भनेर ध्यान दिएको देखिँदैन।
जसले गर्दा ३० देखि ४० प्रतिशत बिरामी कान्ति अस्पतालमा बच्चाको विकाससम्बन्धी विभिन्न समस्या लिएर आउने गर्छन्। जसमध्ये ५० प्रतिशत जन्मजात समस्या लिएर अस्पतालमा आउने गर्छन्।
बच्चाको विकास ढिलो हुनुको कारण
विभिन्न कारणले गर्दा बच्चाको विकास ढिलो हुने गर्छ। विभिन्न रोगको कारणले, पोषणको कमीले, जन्मँदा निस्सासिएको छ वा जन्मँदा रोएको छैन भने विकास ढिलो हुन्छ। श्वास फेर्न गाह्रो भएर आइसियुमा राख्नुपर्ने अवस्था भएको छ भने, जन्मजात विभिन्न समस्याले गर्दा, समय अगावै बच्चा जन्मिएमा, सानो बेलामा जन्डिस भएमा, कुनै समस्याले लामो समय एनआइसियुमा राखिएको छ भने, थाइरोइडको कारण र इन्फेक्सनको कारणले गर्दा पनि बच्चाको विकास ढिलो हुने गर्छ। त्यसैले आमा–बुबाले आफ्नो बच्चाको विकास भएको छ की छैन भनेर ध्यान दिनुपर्छ।
लक्षण
विकास ढिला हुने बच्चाले आँखा नदेख्ने, कान नसुन्ने, बोलीको विकास ढिलो हुने, हातखुट्टा अररो बनाउने गर्छन्। नेपालमा धेरै बच्चा घरमा जन्मिने गर्छन्। घरमा जन्मिने धेरै जस्तो बच्चामा पनि यस्तो समस्या देखिने गर्छ। अस्पतालमा जन्मिएका बच्चालाई उपचार पनि गरिन्छ तर घरमा जन्मिएका बच्चामा हातखुट्टा अररो हुने छारे रोगको कारणले पनि विकासमा ढिलो हुने गर्छ। ढिलो विकास भएको बच्चामा आँखा कम देख्ने, काम कम सुन्ने, बोलीको विकास नहुने हुन्छ।
उपचार
बच्चाको विकास ढिला भएको थाहा पाएपछि तुरुन्तै अस्पताल ल्याउनु पर्छ। जति छिटो अस्पताल पु¥यायो त्यति नै छिटो उपचार प्रभावकारी हुने गर्छ।
उपचारमा समय लाग्ने गर्छ, त्यसैले धैर्यता राख्नुपर्छ। यो समस्या ज्वरो आएर सिटामोल खाएर निको भएको जस्तो होइन। यस्ता बच्चालाई औषधिका साथै थेरापीको पनि जरुरत पर्न सक्छ। यस्तो समस्या पोषणको कमीले गर्दा पनि हुने गर्छ। पोषण पुगेमा विकास हुने गर्छ। कम तौल र मुटुका बिरामीहरुमा पनि यस्तो समस्या देखिने गर्छ। जति छिटो अस्पताल आयो, त्यति नै छिटो हुन्छ उपचार।
(डा झा कान्ति बाल अस्पतालकी बाल न्युरोलोजिस्ट हुन्)swsthyakhabarpatrika
प्रस्तुति : सिर्जना खत्री