स्वास्थ्य

सप्तरीको सर्पदंश उपचार केन्द्रमा उपकरण र स्थान अभाव

सुरुमा झारफुक, अन्तिम अवस्थामा अस्पताल
दिनेश शर्मा

राजविराज– सप्तरीको डाकनेश्वरी नगरपालिका– ५ पातोकी ३५ वर्षीय प्रमिलादेवी चौधरीलाई ०७६ भदौ २६ गते सर्पले डस्यो। उपचारका लागि उनलाई खडक नगरपालिका– ७ कल्याणपुरस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याइयो, तर अन्तिम अवस्थामा। सम्भव नदेखिएपछि केन्द्रले चौधरीलाई भर्ना गरेर उपचार गर्ने जोखिम लिन सकेन। उनलाई रेफर गरेर अन्यत्रै पठाइयो।

‘शरीरभरी गोमन सर्पको बिष फैलिएको थियो। उपचार गरेर बचाउन सक्ने अवस्था थिएन,’ केन्द्रका प्राविधिक चन्द्रबहादुर कठायतले भने ‘त्यसमाथि हामीसँग पर्याप्त उपकरण पनि नभएकोले जोखिम लिन सकेनौं।’

सर्पले डसेपछि धामी–झाँक्रि र झारफुकमा लागेर अन्तिम अवस्थामा मात्रै उपचारका लागि ल्याइएकाले चौधरीलाई उपचार गर्न नसकिएको उनको भनाइ छ। ‘अवस्था जटिल थियो, सुविधासम्पन्न अस्पताल जान हामीले नै सल्लाह दियौं,’ कठायतले भने।

चौधरीलाई रेफर गरेको करिब १ महिनापछि असोज १७ गते तिरहुत गाउँपालिका– ५ की ४० वर्षीया मञ्जु मेहतालाई उस्तै अवस्थामा केन्द्रमा पुर्‍याइयो। झारफुक गर्दा गर्दै गम्भीर अवस्थामा पुगेकी मेहतालाई अन्तिम अवस्थामा मात्रै उपचारका लागि पुर्‍याइएको थियो। केन्द्रले उनलाई पनि अन्यत्रै लैजान सल्लाह दियो।

प्रमिलादेवी र मञ्जु मात्र होइन, कार्तिक १९ गते उपचारका लागि आएका सुरुङ्गा नगरपालिका– ५ की ६२ वर्षीया विन्तु चौधरी र रुपनी गाउँपालिका– ९ की ४२ वर्षीया गंगा सदालाई पनि केन्द्रले रेफर गर्‍यो। उपचार सेवा संचालनमा आएपछि ५ महिनाको अवधिमा केन्द्रले ४ जना जटिल अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नुपरेको छ।

सुरुमा झारफुक, अन्तिम अवस्थामा अस्पताल
सप्तरीमा पछिल्लो समय सर्पको बिगबिगी बढ्दो छ। तर, सर्पले डस्दा झारफुक गर्ने प्रवृत्ति घटेको छैन। अन्तिम अवस्थामा मात्रै उपचार खोज्ने गरिएका कारण बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ।

‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धाँमी खोज्ने चलन छ,’ उपचार केन्द्रका क्याप्टेन प्रकाश विष्ट भन्छन् ‘सप्तरीमा ९० प्रतिशत बिरामी पहिला धाँमी, त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्छन्।’ यही प्रवृत्तिले अन्तिम समयमा उपचार खोज्दै आएका ४ जना विरामी अन्यत्र रेफर गर्नु परेको उनले जानकारी दिए।

‘सबै सर्प विषालु हुँदैनन्, ननपोइजनस घटनाका बिरामी घरमै बसे पनि मर्दैनन्। यिनै घटनामा झारफुकले निको भएको भ्रम पर्छ,’ उनले भने ‘सोहि भ्रमका कारण विषालु सर्पले टोकेका बिरामीको ज्यान जाने खतरा रहन्छ।’

सप्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायतका विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले टोकेका बिरामी धेरै आउने गरेको केन्द्रका प्राविधिकहरु बताउँछन्।

५ महिनामा २ सय ११ को उपचार, धेरैजसो महिला
केन्द्रमा असार १७ गतेपछि २ सय ११ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। जसमा महिलाको संख्या अधिक छ। २ सय ११ मध्ये ८७ जना पुरुष र १ सय २४ जना महिला रहेको केन्द्रले जनाएको छ। प्रायजसो १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्ति सर्पदंशमा पर्ने गरेका छन्।

असारमा १४ महिला ७ पुरुष, साउनमा ३४ महिला १४ पुरुष, भदौमा २७ महिला २३ पुरुष, असोजमा २९ महिला २३ पुरुष, कार्तिकमा १२ महिला १७ पुरुष र मंसिरमा ८ महिला ३ पुरुष उपचारका लागि भर्ना भएका थिए। सर्पदंशका बिरामी मध्ये जम्मा ७ जना विष लागेका बिरामी भर्ना भएका थिए। ४ जना गोमन र ३ जना भाइपर (सुगासाप) ले टोकेका विरामी भर्ना भएकोमा गोमनले टोकेका चारै जना रेफर भएको तथा भाईपरले टोकेका ३ जनाको सफल उपचार भएको थियो।

घाँस काट्न जंगल गएका बेला र राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन्। केन्द्रमा आसपासका रुपनी, वलान विहुल, अग्निसाईर कृष्णसवरण गाउँपालिका तथा शम्भुनाथ, डाकनेश्वरी, खडक, वोदेवरसाईन, सुरुङ्गा नगरपालिका क्षेत्रबाट सर्पदंशका धेरै विरामी धेरै आउने गरेको विष्टले जानकारी दिए।

दक्षिणक्षेत्रका सर्पदशंका बिरामी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गएपछि राजमार्गतर्फका बिरामीका लागि केन्द्रले राम्रो सुविधा दिन सक्ने सेनाको अनुमान छ। ‘पूर्वमा सुनसरीको इटहरी र पश्चिममा सिरहाको चोहर्वामा मात्रै सर्पदशंको उपचार हुन्छ,’ क्याप्टेन विष्ट भन्छन् ‘पर्याप्त श्रोत/साधन पाए राजमार्ग र राजमार्गको उत्तरतर्फका विरामीका लागि हामीले राम्रो सेवा दिन सक्छौं।’

उपकरण र स्थान अभाव
सर्पदंश उपचार केन्द्रमा उपकरण र स्थान अभाव भएपछि उपचारमा समस्या उत्पन्न भएको छ। उपचार कक्ष, फर्निचर, प्यासेन्ट मोनिटर, सक्सन मेसिन, अक्सोमिटर लगायतका उपकरणको अभाव रहेको प्राविधिक कठायतले बताए। आवश्यक उपकरण र उपचार कक्ष नहुँदा जटिल प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा समस्या हुने गरेको उनले जानकारी दिए।

नेपाली सेनाको राजविराज स्थित भीम दल गणद्वारा १७ असार ०७६ देखि सर्पदंश उपचार केन्द्र संचालनमा ल्याइएको हो। खडक नगरपालिका– ७ स्थित खानेपानी योजनाको जग्गा र भवनमा केन्द्र संचालित छ। वीरेन्द्र सैनिक अस्पतालबाट तालिमप्राप्त सेनाका प्राविधिकहरु चन्द्रबहादुर कठायत, दीपक कठायत र डम्बरध्वज चन्दले बिरामीको उपचार गरिरहेका छन्।

सेनाको अन्य जनशक्ति बस्न र उपचार गर्न कोठा अभाव छ। सर्पदशंको उपचारका लागि दुईवटा कोठामा तीनवटा बेड राखिएको छ। तर, उपचारका लागि कोठा र फर्निचर पर्याप्त नभएको प्राविधिकहरु बताउँछन्। ‘वर्षातको समयमा बिरामीको चाप बढ्छ,’ उनीहरु भन्छन् ‘त्यस्तो बेला कुर्चीमा राखेर बिरामीको उपचार गर्नुपर्छ।’

केन्द्र संचालनका क्रममा खडक नगरपालिका कार्यालयले ३ लाख रुपैयाँ उपलब्ध गराएपनि त्यसपछि कतैबाट सहयोग नपाएको संचालन तथा व्यवस्थापन समितिका संयोजक मो. उसमान मियाँले बताए । ‘भएको संरचना र फर्निचर पनि जीर्ण छन्,’ उनले भने ‘भवनमा पानी चुहिन्छ, बेड र कुर्ची पनि पुराना छन्। त्यो पनि पर्याप्त छैनन्।’swsthyakhabarpatrika

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button