झापा / निजी भ्रमणका लागि बुधबार झापा आएका पूर्वराज दम्पतिलाई उनीहरुका झापाली समर्थक तथा शुभचिन्तकले चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकस्थित मिनी दरबारमा एक महिना बस्न आएका पूर्वराज दम्पतिलाई झापावासी समर्थक तथा शुभचिन्तकले भव्य स्वागत गरेका हुन् ।
हिमालय महालक्ष्मी गुडरिक प्रालिको चिया बगानमा अवस्थित दरबारमा बस्न श्री एयरलाइन्सको जहाजबाट दिउँसो १ बजेर २८ मिनेटमा पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल चन्द्रगढी विमानस्थल ओर्लिएका थिए ।
एकाबिहानैदेखि जिल्लाका विभिन्न स्थानबाट सयौंको संख्यामा भेला भएका समर्थक तथा शुभचिन्तकले पूवराजा ज्ञानेन्द्र र रानी कोमललाई फूल माला पहिर्याएर विमानस्थल परिसरमा भव्य रुपमा स्वागतसहित सम्मान प्रकट गरेका हुन् ।
पूर्व राजा र रानी आउने खबर पाएपछि राप्रपा एक नम्बर प्रदेश प्रमुख राम थापा, झापा जिल्ला अध्यक्ष अम्बरबहादुर विष्ट, सचिव केशव ओझा, राप्रपा संयुक्तका झापा जिल्ला अध्यक्ष ओमकृष्ण मिश्र, जिल्ला सदस्य दिपेश राई, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जिल्ला अध्यक्ष राजकुमार राई, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला अध्यक्ष राधा कार्कीलगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको राप्रपा मेचीनगर ९ का अध्यक्ष राजुकुमार पोद्दारले जानकारी दिए ।
हिन्दू सेना, शिव सेना नेपाल, सि.एफ.एन कफनलगायतको अगुवाईमा विमानस्थल परिसरमा भेला भएका समर्थकले नेपालको राष्ट्रिय झण्डा बोकेर हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ, देश बचाऊ, नेपाल आमा के भन्छिन्, राजतन्त्र ले भन्छिन्, गणतन्त्रलाई फाँसी दे, राजसंस्थाका अनुयायी एक होऔं, नेपाली जनता एक होऔं, दर्ता गरिएका पार्टी बाई बाईलगायत नारा घन्काएका थिए ।
झण्डै आधा घण्टा विमानस्थल परिसरमा रहेका पूर्वराज दम्पतिको स्वागत र सम्मानका लागि उर्लिएको भीँडलाई सम्हालन नेपाल प्रहरी, सशस्त्र प्रहरी, साधा पोसाकका प्रहरी, शिव सेना र हिन्दू सेना परिचालित थिए ।jansamsaddaily