सम्पादकीय

‘सत्ताधारी दलको नियत’ देखि ‘अमेरिकी परियोजना रोक्ने खेल’ सम्म

आज प्रकाशित विभिन्न  दैनिकले प्रधानमन्त्रीको संरक्षण पाएको यती समूहले सरकारी सम्पत्ति हत्याएको, अमेरिकी परियोजना एमसीसी रोक्ने परपञ्च गरिएको एवं गैरजिम्मेवार चालकका कारण दुर्घटना बढेको लगायत राजनीतिक विषयमा सम्पादकीय लेखेका छन् ।

सत्तासँगको निकटता र खास गरी वर्तमान प्रधानमन्त्रीको संरक्षण प्राप्त यती समूहले सरकारी सम्पत्ति हत्याएको विषयमा आजको नयाँ पत्रिकाले सम्पादकीय लेखेको छ । ‘सत्ताधारी दलको नियत’ शीर्षकमा लेखीएको सम्पादकीयमा भनिएको छ– गोकर्ण रिसोर्टको जमिन २५ वर्षलाई लिजमा दिने निर्णय गर्न संसद्को बहुमतलाई प्रयोग गरी कानुनमै आफू अनुकुल दफा बनाइएको र समयअगावै लिजमा दिएको घटनाले वर्तमान सत्ताधारी दलको नियतमाथि प्रश्न उठेको छ ।

मुलुकको ऊर्जा तथा पूर्वाधार क्षेत्रको विकासमा कोसेढुंगा मानिएको अमेरिकी सहयोगका विभिन्न कार्यक्रम सुरु नहुँदै विवादमा तान्त खोजिएको भन्दै कारोबार दैनिकले ‘अमेरिकी परियोजना रोक्ने खेल’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहभागी हुँदा नेपाल इन्डो–प्यासिफिक रणनीतिमा बाध्यात्मक रुपमा सहभागी हुनुपर्ने अवस्था आउने नेकपाका नेताहरुको दाबीमा कुनै आधार छैन,’ सम्पादकीयमा भनिएको छ,‘राज्यले नै आवश्यकताको आधारमा परियोजना छनोट गरेर सरकारको नेतृत्वमा अघि बढाउन लागेको परियोजना अघि बढ्न दिन्न भनेर अघि बढ्न खोज्नु नेपाल र नेपाली भविष्यका लागि निश्चय नै घातक हो ।’

गोरखापत्रले आप्रवासी श्रमिक र उनीहरुका परिवारका सदस्यको अधिकार संरक्षणका विषयमा सम्पादकीय लेखेको छ । ‘आप्रवासन श्रमिकका सरोका’ शीर्षकमा लेखिएको सम्पादकीयमा आप्रवासी कामदारको विषयमा प्रशस्त सुधार भए पनि यस क्षेत्रमा अझै व्यापक बेथितिले निरन्तरता पाएकाले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सुविधा र सुरक्षाका लागि आन्तरिक तथा बाह्यरुपमा नेपालले अझै धेरै प्रभावकारी पहल गर्न आवश्यक भएको उल्लेख गरिएको छ ।

गैरजिम्मेवार चालकको लापरबाहीले बर्सेनि कैयौंले अनाहकमा ज्यान गुमाइरहेको उल्लेख गर्दै कान्तिपुर दैनिकले ‘गैरजिम्मेवार चालकले निम्त्याएको परिणाम’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– दुर्घटना भवितव्यले हुन्छ । तर यहाँ कयौं चालकले आनाजान अरुको ज्यान लिइरहेका छन् । मादक पदार्थ सेवन गरेर होस् वा अनियन्त्रित ढंगले जथाभावी गाडी चलाएर पैदल हिँडिरहेको कसैको ज्यान लिनु सवारी शब्दावलीमा दुर्घटनाभित्र पर्ला, तर वास्तवमा त्यो सरासर हत्या हो ।

तराईमा गर्मीले जस्तै शीतलहर पनि उत्तिकै अभिशाप बन्ने गरेको उल्लेख गर्दै ‘शीतलहरको कहर’ शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ । ‘शीतलहर नेपालका लागि पहिलो घटना पनि हैन । यो पछिल्ला केही वर्षदेखि निरन्तररुपमा आइरहेको छ । तर शीतलहर आउनुअघि नै यसबाट हुने हानिबाट बच्न पर्याप्त उपाय नअपनाइनु भने हाम्रो कमजोरी हो । त्यसैले शीतलहर जस्ता सम्भावित प्रकोपको क्षति खुम्च्याउन अग्रसर नहुनु भनेको ठूलो कमजोरी हो ।

अन्नपूर्ण पोस्टमा आर्थिक वर्ष सुरु भएको चार महिना बित्न नपाउँदै बजेट बाहिरका कार्यक्रम लागि रकम माग हुन थालेको विषयमा सम्पादकीय लेखिएको छ । बजेटमाथि विश्वास जगाउन आग्रह गर्दै सम्पादकीयमा बजेट अनुशासन कायम गरेर बजेटअनुसार काम गरेमात्र बजेटमाथि आम नागरिकको विश्वास अभिवृद्धि हुन्छ । ‘मुलुकले अपेक्षित विकासको प्रगतिको फल हासिल गर्न सक्नेछ,’ सम्पादकीयमा भनिएको छ, ‘ विगतदेखि चल्दै आएका बजेटमा अनुशासनहीनता अन्त्य गर्नतर्फ सरकार केन्द्रित हुनुपर्छ ।’

नेपाल समाचारपत्रले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दलीय संरचनाभित्र महिलालाई सम्मानजनक स्थान नदिएकोको गुनासो आएको विषयमा ‘नेतृत्वमा अनिकाल !’ शीषकमा सम्पादकीय लेखेको छ । पार्टीको केन्द्रीय सचिवालयदेखि वडा कमिटीसम्म महिलालाई अध्यक्ष वा उपाध्यक्ष अनिवार्यरुपमा बनाउनुपर्ने प्रस्ताव महिला नेतृहरुले पार्टी नेतृत्वसँग लिखित रुपमा राखेको सम्पादकीयमा उल्लेख गर्दै पुरातन चिन्तनमा फेर्नपर्नेमा जोड दिइएको छ ।

हालै गठन भएको नेपाल निर्यात व्यावसायी महासंघको विषयमा आर्थिक अभियानले सम्पादकीय लेखेको छ । महासंघको नाममा सरकारसँग सम्बन्ध राखेर व्यक्तिगत स्वार्थमा यसको नेतृत्व संलग्न हुन थाल्यो भने त्यसले झनै समस्या थप्ने उल्लेख गर्दै सम्पादकीयमा निर्यात वृद्धिका लागि व्यावहारिक र व्यावसायिक बाटोमा अघि बढ्न सकेमा मात्रै नयाँ संगठनको औचित्य साबित हुने तर्क प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button