
काठमाडौं- नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीले काठमाडौं महानगरका नागरिकलाई मिर्गौला उपचार सेवा दिने भएकाे छ।
प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच बुधबार नागरिकलाई मिर्गौला उपचारसम्बन्धी सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको हाे।
यो सेवा काठमाडौं महानगरभित्र कार्यरत सरकारी कर्मचारीको हकमा पनि लागू हुनेछ। याे सुविधा लिन महागनरपालिकाबाट सिफारिस अनिवार्य लिनु पर्ने छ। यसअघि सैनिक अस्पतालमा सर्वसाधारणले दुर्घटना भएको अवस्थामा आकस्मिक सेवा मात्रै पाउँदै आएका थिए।
सेनाको नेपालगञ्जमा रहेको अस्पतालले पनि प्रदेशसँग मिर्गौलासम्बन्धी रोगको उपचारका लागि समझदारी गर्ने तयारी गरेको छ। इटहरी र पोखरामा पनि सैनिक अस्पताल निर्माण भइसकेपछि नागरिक स्तरमा सेवा विस्तार गरिने सेनाले जनाएकाे छ।
सेनाले सैनिक र महानगरबासीबीच रहेको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन यो समझदारीले सहयोग गर्ने मेयर शाक्यले बताए।
स्वास्थ्य खबरपत्रिका