स्वास्थ्य

जहाँ डाक्टरहरू चर्चा गर्छन् कला, साहित्य र संगीतको

सुरेश दाहाल/डा नवीन भट्ट

आजभन्दा ठिक एक वर्ष अगाडि, नोभेम्बरको दिन, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा अत्यन्तै सुन्दर आवाज गुञ्जियो, आनी छोइङ डोल्माको।

दर्शकले खचाखच भरिएको अडिटोरियम एकाएक शान्त भयो, त्यो तिलस्मी आवाजमा गाइएको प्रार्थनाले सबैको मन आल्हादित भएको थियो। ‘द पावर अफ म्युजिक इन हिलिङ: इन्डिभिजुअल एन्ड द सोसाइटी’ विषयमा विद्वत प्रवचनका लागि पोडियममा जानुभएकी आनीको संगीतले दिएको आनन्दले आफूले भन्न खोजेका सबै कुरालाई व्यक्त गरिदियो।

न्युजर्सीका ४० वर्षीय जर्ज मरोन, एक संगीतका शिक्षकको एक्कासि मुटुको धड्कन बन्द भयो। करिब ९० मिनेटसम्म धड्कन बन्द भएका मरोनलाई रक्तसञ्चार र श्वास-प्रश्वास मेसिनमा राखियो। भल्ब रिपेयरको शल्यक्रिया गरेपछि पनि उनलाई श्वास फेर्न भने कठिन भइरहेको थियो। एक महिलाले त्यहीं कतै छेउमा हार्प बजाउने गर्थिन्।

नियमित रूपमा हार्पको मधुर संगीतले उनको धड्कन, श्वास-प्रश्वास र रक्तचापमा विस्तारै सुधार हुन थाल्यो। एक अध्ययनपछि यो कुरा पत्ता लागेको थियो। यस्तो घटना भएको पहिलो पटक भने होइन। संगीतको यो शक्तिलाई ‘म्युजिक थेरापी’ को नाम दिइएको छ।

युएसए टुडे नामक पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार मधुर संगीत सुन्ने बिरामीहरूमा कम तनाव हुने, रक्तचाप ठिक रहने र निन्द्रा लाग्ने जस्ता सकारात्मक असरहरू देखिएको पाइएको छ। आज अमेरिकामा ३५ प्रतिशत अस्पतालहरूमा म्युजिक थेरापीमार्फत बिरामीको उपचार गरिने गरेको छ।

सन् २०१८, आनी छोइङ डोल्माको अत्यन्तै मर्मस्पर्शी प्रवचन सकियो। दर्शकले भरिएको अडिटोरियम हल लगातार ३ मिनेटसम्म तालीले गुञ्जायमान रह्यो। कार्यक्रमको पहिलो वक्ता हुनुहुन्थ्यो आनी। सबैजना आआफ्नो कुर्सीबाट उठेर सम्मान प्रकट गर्दै थिए।

आनीलाई धन्यवाद दिँदै उद्घोषकले अमर न्यौपानेलाई पोडियममा बोलाउँदा ताली थामिएको थिएन। न्यौपानेले बोल्ने शीर्षक अत्यन्तै रोचक थियो, ‘द आर्ट अफ थेराप्युटिक रिडिङ एन्ड स्टोरीटेलिङ’ अर्थात् ‘चिकित्सकीय पठन र कथा कथनको कला’।

‘कथाले पात्र बुझाउँछ, पात्रले समाज, अनि समाजले देश। त्यसैले म हरेक प्राणीको कथा बुझ्न चाहन्छु।’

उनले भनेको यो पहिलो पङ्क्तिमा नै सबै कुरा समेटियो। ‘बिरामीको आफ्नै कथा हुन्छ, डाक्टरले सबैको कथा बुझ्नुपर्छ, खोतल्नु पर्छ’ भन्दै मिठो सन्दर्भ जोडे।

चिकित्सकले कथा सुन्न र कथा सुनाउन किन जरुरी छ?
डा एमिली सिल्भरमेनको प्रकाशित एक शोधपत्र ‘सेयरिङ एन्ड हिलिङ थ्रु स्टोरीटेलिङ इन मेडिसिन’ मा उल्लेख गरिएको छ कि कथा सुन्नु र सुनाउनु दुवै पाटाहरू महत्वपूर्ण छन् किनभने बिरामीको कथा सुन्नु रोग पत्ता लगाउन जति महत्वपूर्ण हुन्छ, बिरामीलाई कथा भनेर उत्प्रेरणा दिनु पनि त्यत्ति नै जरुरी हुन्छ।

कथाको महत्व यत्तिमा मात्रै सीमित छैन, इतिहास साक्षी छ धेरै डाक्टरहरूले आफ्नो कथा लेखेका पनि छन् र ती कथाहरूले विश्वव्यापी नाम कमाएका छन्। एन्टन चेखोब, तसलिमा नसरिन, रोबिन कुक, सर्लक होम्सका लेखक सर अर्थर कनन डोयल, जुरासिक पार्कका लेखक माइकल क्रिक्टन, द काइट रनरका लेखक खलिद होस्सिनी लगायत धेरै लेखकहरू छन् जसले चिकित्सा क्षेत्रमा मानविकीलाई बुझेर कलम चलाएका छन्। क्यान्सरको अन्तिम अवस्थामा लडिरहँदा न्युरोसर्जन डा पल कलनेथीले आफ्नो पीडालाई कम गर्न कलमको सहारा लिए जसको स्वरूप विश्वविख्यात पुस्तक ‘ह्वेन ब्रेथ बिकम्स एयर’ पुस्तक प्रकाशित भयो।

सन् २०१८, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा चिकित्सा र मानविकीको सम्बन्धबारे व्याख्या गर्दै फोक्सो रोग विशेषज्ञ प्राडा नरेन्द्र भट्टले व्यक्त गरेका बिचारहरू अझै पनि सान्दर्भिक छन्। उहाँले चिकित्सा र मानविकीको सम्बन्धबारे केही गम्भीर प्रश्नहरू राख्नुभएको थियो।

चिकित्साशास्त्र विज्ञान हो या कला?
– प्रोजेक्टरबाट अगाडि पर्दामा एकातिर एन्जेलिना जलीको तस्बिर देखाइएको थियो भने अर्कातिर मदर टेरेसाको चाउरी परेको तस्बिर र तस्बिरमुनि प्रश्न थियो ‘उहाँहरूमध्ये को सबैभन्दा सुन्दर हुनुहुन्छ?’

– के रोबोटले बिरामीलाई नछोइकनै निको पार्न सक्छ?
यी प्रश्नहरू सुन्नमा जति सरल छन् उत्तर दिन त्यति नै कठिन। यी प्रश्नहरू एक्लै पनि छैनन्, न त यी प्रश्नहरू यत्तिमै सकिन्छन्। यी त सुरुवात हुन् प्रश्नका।

“के चिकित्सकले शरीरको एनाटोमी मात्रै सिक्ने हो वा समाजको एनाटोमी पनि सिक्नुपर्छ? मुटुको बिट्स मात्रै बुझ्ने हो वा सङ्गीतको बिट्स पनि बुझ्नुपर्छ? औषिधको प्रेस्क्रिप्सन मात्रै लेख्ने कि साहित्य पनि लेख्नुपर्छ? शरीरको स्वास्थ्य प्रणाली मात्रै बुझ्ने कि देशको स्वास्थ्य प्रणाली पनि बुझ्नु जरुरी छ? बिरामीको रोग मात्रै निको पार्ने हो या समाजको रोग पनि निको पार्नुपर्छ? प्रश्न धेरै छन् तर उत्तर भने कम।

‘द प्राक्टिस अफ मेडिसिन इज यान आर्ट, नट अ ट्रेड; अ कलिङ, नट अ बिजनेस; अ कलिङ इन हुइच योर हार्ट वील बि एक्सरसाइज्ड इक्वयल्ली विथ योर हेड।’

मार्क सिल्भरमेनको यो भनाइ अत्यन्तै गहिरो र महत्वपूर्ण छ। चिकित्सा पेसा कुनै व्यवसाय होइन, यो त एक कला हो, किनभने यस पेसामा मस्तिष्कको तीक्ष्ण प्रयोग मात्र होइन, हृदयको आवाजको पनि महत्व हुन्छ ।

चिकित्सा- मानविकीको इतिहास
चिकित्सा पद्धतिको इतिहास निकै लामो छ। करिब २००० बिसी अगाडि मेसोपोटामिया सभ्यताको समयमा पहिलो पटक उपचार र औषधिको प्रयोग गरिएको उल्लेख भएको छ। त्यसबेला पनि उपचारका लागि २ कुरालाई महत्वपूर्ण मानिएको रहेछ, एक औषधि-उपचार र अर्को दिव्य शक्ति। र यो दिव्य शक्ति पनि मानव कल्पना र शिल्पशैलीको उपज भएकाले चिकित्सा र मानविकी त्यसबेलादेखि नै अन्तर्निहित भएको कुरालाई नकार्न सकिँदैन।

अथर्ववेद, चरक संहिता र सुश्रुता संहिता पनि विभिन्न उपचारको विज्ञान र विधिसँगै धर्म एवं दर्शनको ज्ञान पनि जोडिएर आएको पाइन्छन्।

पाँचौँ शताब्दीमा चिनियाँ औषधि र उपचार पद्धति निकै बृहत भइसकेको थियो। चिनियाँ उपचारशास्त्रलाई हेर्दा, उनीहरू मानव शरीरलाई “शेन” नामले व्याख्या गर्थे । “शेन”को अर्थ केवल शरीरको भौतिक संरचना मात्रै नभई मानव संवेदनाको सम्मिश्रण भएको बुझिन्छ। त्यसैले त्यसबेलाको चिनियाँ उपचार पद्धतिमा किताबी सिद्धान्तभन्दा पनि हरेक बिरामीको लक्षण र अवस्थालाई बिश्लेषण गरेर उपचार गरिने पाइएको छ।

हिप्पोक्रेट्स, जसलाई आधुनिक चिकित्साको पिताको रूपमा पनि लिइन्छ, उनले चिकित्सा क्षेत्रमा नैतिकताको आवश्यकता रहेको र यस पेसामा बिरामीको सम्मानको महत्व रहेको कुरालाई जोड दिएका थिए।

यसरी इतिहास पल्टाउँदा चिकित्सा र मानविकीको प्रत्यक्ष वा परोक्ष सम्बन्ध रहेको पाइएको छ। यही कुराको महत्व बुझ्दै विश्वमा धेरै मेडिकल कलेजहरूमा मानविकीका विभिन्न आयामहरू; साहित्य, भाषा, सङ्गीत, परोपकार, इतिहास, धर्म, दर्शन, आदिलाई पाठ्यक्रममा समावेश गरिएको छ।

सन् २०१० मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा नरेन्द्र भट्टले चिकित्सा क्षेत्रमा मानविकीको महत्व बुझेर यी २ फरक विषयलाई कसरी एकै ठाउँमा उभ्याउन सकिन्छ भन्ने सोची, चिकित्सा क्षेत्र र मानविकीका बहुआयाम एक अर्काका परिपूरक हुन् र यसको अनुभव सबैले गर्नुपर्छ भन्ने हेतुले एक नयाँ कार्यक्रम ‘चिकित्सा व्यवसायिकताको क्षितिज विस्तारका लागि चिकित्सा र मानविकीको संयोजन’को अवधारणा अघि सार्नुभयो। उहाँको आकाङ्क्षा थियो कि यस्तो विचारगोष्ठी होस् जहाँ विभिन्न क्षेत्रका विज्ञहरूसँग चिकित्सा क्षेत्रका विद्यार्थी र चिकित्सक एकै मञ्चमा यस विषयमा छलफल गर्न उभिउन् जसस्वरूप एक नवीन विचार र सोचाइको सिर्जना होस्। यही अवधारणा र उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

चिकित्साशास्त्रको कोरा ज्ञानको परिधिमा हुर्किरहेका विद्यार्थीहरूका लागि यो कार्यक्रमले उनीहरूको बुझाइमा रहेको चिकित्सा प्रणालीको बारेमा ज्ञानको क्षितिज फराकिलो बनाइदियो भने मानविकीका अरू पाटाहरू बिना त कोरो चिकित्सा निरस हुने रहेछ भन्ने बोध गरायो। र त यस्तै कार्यक्रम फेरि पनि गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी लिएर विद्यार्थीहरू डा भट्ट कहाँ पुगे। विद्यार्थीहरूलार्इ बहुआयामका नवीनतम् ज्ञान पस्किनुका साथै चिकित्सा र मानविकीका बृहत्तर पाटाहरूमा चिन्तन गर्न सधैँ हौस्याइरहने डा भट्ट विद्यार्थीहरूको यो इच्छाशक्ति देखेर प्रफुल्ल भए र अझै परिष्कृत रूपमा यस प्रकारको विचारगोष्ठी गर्न निरन्तर हौसला, सल्लाह र मार्गदर्शन दिए। फलस्वरूप, सन् २०१४ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको साहित्यिक समूह ‘परिक्रमा विद्यार्थी परिवार’ र ‘जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी’ को सह-आयोजनामा ‘चिकित्सा र मानविकीबीच सहकार्यका निम्ति नयाँ आयामहरूको खोजी’ शीर्षक राखी कार्यक्रम आयोजना गरियो ।

अडिटोरियम हलको एकातर्फको पहिलो पङ्क्तिमा साहित्यकार कृष्ण धरावासी, फोक्सोरोग विशेषज्ञ प्राडा अर्जुन कार्की, शल्य चिकित्सक डा सरोज धिताल र बालरोग विशेषज्ञ प्राडा निशा केशरी भट्ट हुनुहुन्थ्यो भने अर्कोतर्फ रवीन्द्र मिश्र, वीरेन्द्रबहादुर बस्नेत, किरण नेपाल र प्राडा बालकृष्ण भट्टराई हुनुहुन्थ्यो। अमृत गुरुङले मुटुको धड्कनमा सङ्गीतको स्पन्दनले बिरामीको उपचारमा पारेको सकारात्मक प्रभावको बारेमा अनुभव सुनाइरहेका थिए भने मुटु रोगको व्यापकता घटाउन सङ्गीत र मानवीय आचरणले पारेको प्रभावको बारेमा मुटुरोग विशेषज्ञ भगवान कोइरालाले प्रकाश पार्दै थिए।

२१औं शताब्दीमा चिकित्सकहरूको सामाजिक अपेक्षा के छ, प्राविधिक योग्यता वा सामाजिक विवेक वा दुवैको आवश्यकता के कत्ति छ भनेर डा अर्जुन कार्की बुझाउँदै थिए। बिपी प्रतिष्ठानका शरीरक्रिया विज्ञानका प्राध्यापक डा बिष्णुहरि पौडेल त्यो दिन सम्झिँदै भन्छन्, ‘चिकित्सा र मानवीकीलाई समेट्ने त्यो डिस्कोर्ष शायद नेपाल मै पहिलो होला।’

यस कार्यक्रमको अत्याधिक सफलता र सकारात्मक प्रभावपछि सन् २०१६ देखि यो कार्यक्रमको सिलसिलाले निरन्तरता पायो। हरेक पटकको कार्यक्रमको उचाइ र स्तर बढ्दै गएको थियो। चिकित्सा र मानविकीका विभिन्न विषय सँगसँगै स्वास्थ्य शिक्षा एवं सेवाको सबलीकरणका विषयमा अध्यावधिक छलफल गर्नु यस कार्यक्रमको कर्तव्य झैँ बनिसकेको थियो। सन् २०१६ मा प्राडा गोविन्द केसी, तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, अमित ढकाल, कुलचन्द्र गौतम, किरणकृष्ण श्रेष्ठ, लीलामणि पौड्याल, डा सुरज बज्राचार्य, डा सञ्जीवकुमार शर्मा, राधा पौडेल, शान्ता चौधरी, नारायण वाग्ले, कुन्द दीक्षित, रुक्माङ्गद कटुवाल लगायत सबै जना एकै मञ्चमा उभिएर चिकित्सा र मानविकीका बृहत्तर आयामहरू बीचको तादात्म्यताबारे गरेको छलफल र त्यस छलफलबाट आएको निष्कर्ष निकै नै महत्वपूर्ण रह्यो।

त्यसैगरी, अर्को वर्षको संस्करणमा प्राडा अभि सुवेदी, सुनिल पोखरेल, डा नारायण विक्रम थापा, मदनकृष्ण श्रेष्ठ, झमक घिमिरे, उत्तम सञ्जेल, राजेश केसी, डा अरुणा उप्रेती, डा विशाल ढकाल, चिन्तामणि योगी लगायतका विद्वत व्यक्तिहरूसँगको २ दिने छलफल र विमर्श समेत निकै उत्प्रेरक र ज्ञानवर्द्धक भएको थियो।

‘जो चिकित्सकमा कला, साहित्य, सङ्गीत र परोपकारप्रति सम्मान हुन्छ, ती चिकित्सक सधैँ उत्कृष्ट हुन्छन्। मानव संवेदनालाई बुझेर उपचार गर्ने डाक्टरले सधैँ बिरामीलाई एक “सब्जेक्ट” नभएर एक मानव देख्छ र त्यही अनुसार उपचार गर्छ।’
प्राडा अभि सुवेदीले यी हरफ भनिरहँदा, खचाखच दर्शकले भरिएको अडिटोरियम हलमा एकाएक सन्नाटा छायो। भविष्यमा डाक्टर बन्ने शिक्षामा तल्लीन विद्यार्थीहरूमा चेतनाको आत्मबोध भएझैँ सबैका अनुहार सङ्कल्पित देखिन्थे। प्राध्यापक सुवेदीले अगाडि थपे, ‘यो गोष्ठीले चिकित्सामा मानविकीको महत्व मात्रै नभई अरु क्षेत्रका व्यक्तिहरूले चिकित्सक र उनीहरूको भावना बुझ्न पनि सहयोग गरेको छ। यदि यो अन्तर्सम्बन्ध सबैले बुझिदिने हो भने त डाक्टर र यस पेसामा आएको त्रास र “सेन्सिटिभिटी” मा पनि सुधार हुन्थ्यो।’

सन् २०१८, आनी छोइङ डोल्मा र अमर न्यौपानेका मर्मस्पर्शी विचारहरूसँग दर्शकदीर्घामा बसेकाहरु कनेक्ट भइरहेका थिए। उनीहरूको कनेक्सनमा महानायक राजेश हमाल, प्राडा रूपा राजभण्डारी सिंह, प्राडा शैलेश अधिकारी, डा रामेश कोइराला, दिनेश अधिकारी, सुजिव शाक्य, राधेश्याम अधिकारी लगायतले लय र चिन्तन थपे र छुट्टै मार्गदर्शन दिए, चिकित्साधर्म र यससँगै जोडिएका जीवनजगतका क्यानभासहरूको।

चिकित्सकमा हुनुपर्ने मुख्य विशेषता भनेको मानवता र करुणा हो। यी कुरा बिना कोरा ज्ञान मात्र भएर कहिल्यै पनि चिकित्सक हुन सकिँदैन। यो कार्यक्रमले मानवता र संवेदनालाई हरेक दर्शकसम्म पुर्याहयो र “सेल्फ रियलाइजेसन” र “सेल्फ रिफ्लेक्सन” गर्नका निम्ति बाध्य बनायो। प्राडा मोहनचन्द्र रेग्मी यो कुरामा सहमत हुँदै भन्छन्, “वास्तवमा यस्तो कार्यक्रम यहाँ मात्र होइन हरेक मेडिकल कलेजमा हुनु जरुरी छ।”

यही उद्देश्यलाई आत्मसात् गर्दै कार्यक्रमको पाचौँ संस्करण ल्याएर चिकित्सा र मानविकीको तादात्म्यतालाई पुनर्ताजगी गरिँदैछ।
यही पुस ४ र ५ गते प्रतिष्ठानको अडिटोरियम हल त्यही कार्यक्रमको साक्षी हुँदै छ, त्यही विचार र चिन्तनलाई पुनःस्थापित गर्न, नयाँ दर्शक र फरक विद्वज्जनहरूबाट। कुलमान घिसिङ, महावीर पुन, प्रदीप गिरि, बोनिता शर्मा, प्राडा सञ्जीवकुमार शर्मा, प्राडा मोहनचन्द्र रेग्मी, प्राडा अर्जुन कार्की, अमित ढकाल, प्राडा बद्री बडु, प्राडा शिवराज अधिकारी, सञ्जीव उप्रेती, भूषिता भट्टराई, कृष्ण राई, प्रवीण ढकाल, डा रुकीची इशिता, डा मङ्गल रावल, डा मधुर बस्नेत, डा सागर पौडेल, डा एलबी बस्नेत लगायतको उपस्थितिले छलफलको रूपरेखा कोर्नेछ।

अवकाशप्राप्त जापानी हाडजोर्नी विशेषज्ञ डा रुकीची इशिता विगतका कैयन् वर्षदेखि रोल्पाको थवाङमा जलजला सामुदायिक अस्पतालको स्थापना गरी निःस्वार्थ सेवा गरेर बसिरहनुभएको छ। उहाँको यो सेवितव्य भावना र त्याग धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्छ।

करिब २ वर्ष अगाडिको कार्यक्रममा, विगत ९ बर्ष देखि साहित्य महोत्सव आयोजना गर्दै आइरहनुभएका फाइन प्रिन्टका निरज भारीसँगको कुराकानीमा उहाँले सोध्नुभएको थियो, हाम्रो पो पेसा नै यही हो, व्यवसाय नै यस्तै हो, तर पनि यस्ता कार्यक्रम गर्न कति गाह्रो हुन्छ, तपाईँहरू विद्यार्थी, जो यति धेरै व्यस्त हुनुहुन्छ, बजेट पनि पर्याप्त हुँदैन, कसरी आँट्नुहुन्छ यति ठूलो कार्यक्रम गर्न?

हामीले भन्यौ “हामी पनि साहित्य र कलालाई यति धेरै माया गर्ने रहेछौँ भन्ने कुरा यहीँ आएपछि थाहा भयो। हाम्रो साहित्य र कलाप्रतिको मायाले होला, हामी अहोरात्र बसेर काम गर्छौँ, तर पनि थाक्दैनौँ।”swsthyakhabarpatrika

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button