सोच, संस्कार र चिन्तनको खडेरीमा सुखी नेपाली र समृद्ध नेपालीको सपना


जी एन शर्मा
केही कुराको अभाव र खडेरी छ भने अहिले नेपाली समाजमा सकारात्मक साँचो सोच, संस्कार र चिन्तनको छ । ब्यबस्थाको परिवर्तन र त्यसको नाम परिवर्तनले कुनै पनि देश बन्ने होइन । हरेक ब्यक्ति देखि उसको समाज र देशको बिकास हुनका लागि सोच, संस्कार र चिन्तनको मुख्य भुमिका रहेको हुन्छ । सतही रुपमा सबैले आफुमा सोच, संस्कार र चिन्तन रहेको कुरा भन्छन् तर यो कस्तो खालको छ भन्ने कुरानै मूल प्रश्न हो ।
हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने लामो राजनीतिक आन्दोलनको यात्राको यतिका वर्ष सम्म पनि आम नागरिकले प्रत्यक्ष रुपमा महशुष हुने गरि कुनै पनि ब्यबस्थाको सन्तुष्टिको सकारात्मक धारणा बनाउन नसक्नुको पछाडीको सत्यता भनेको सरकारमा बसेका र राजनीतिलाई नेतृत्व गरेकाछौँ भनेर डुक्रिनेहरुको सोच, संस्कार र चिन्तनमा भएको गलत मनशाय र नियतनै हो । कुनैपनि मूलकको राज्य ब्यबस्थाको नाम कस्तो छ भन्ने भन्दा पनि त्यो राज्य ब्यबस्थाका संचालकहरुको सोच र चिन्तन कस्तो छ भन्ने कुरानै महत्वको हुन्छ ।राज्य ब्यबस्था र प्रणलीको नाम स्वतन्त्रताको नामसँग जोडिको भएपनि त्यसलाई संचालन गर्ने तौर तरिका र त्यसको नेतृत्व गर्ने हर्ताकर्ताहरुको नियत कस्तो छ भन्ने कुरामानै कुनै पनि ब्यक्ति , समाज र त्यो देशको समृद्धिको यात्रा अगाडी बढेको हुन्छ ।
नेपाली राजनीति र यहाँका सरकार संचालकहरुको विषयमा संक्षिप्तमा भन्ने हो भने यहाँको मुख्य समस्या भनेको राजनीति र सरकारको बागडोरामा बसेकाहरुको सोच, संस्कार र चिन्तनमा भएको चरम स्वार्थलेनै अहिले सम्मका राजनीतिक परिवर्तनबाट भाषण गर्न छुट हुन बाहेक नागरिकका लागि कुनै सरकार धन्यवादको पात्र बन्न सकेको छैन । कुनैपनि मुलुकलाई सहि ढंङ्गले हाँक्ने भनेको त्यहाँको राजनीतिनै हो, राजनीतिको सर्वमान्य र सर्वस्विकार्य सिद्धान्त भनेको यसको बिकास , सुसाशन र समृद्धिसँग अन्यानोश्रित सम्बन्ध हुन्छ तर यहाँ ठिक त्यसको उल्टो यसलाई भाषण र भेलाको रुपमा बुझ्ने गराईन्छ र यसको अभिष्ट भनेको जे गरेर भए पनि सरकार बनाउने र कुम्ल्याउने भएको छ ।
कुनै नेता र सरकारले केही माखो मार्दैनन् भनेर नागरिकले निराशा बोल्नु भनेको राज्य संचालकहरुको सोच, सस्कार र चिन्तनमा भएको खडेरी हो । मेरो राजनीति जनसेवाका लागि हो , मेरो त्याग र समपर्णले म यो राष्ट्रलाई समृद्धिको बाटोमा बढाउँछु भन्ने त हाम्रा कुनै नेतामा शायद सोच छ जस्तो मैले पत्याउन सक्ने आधारनै भेटेको छैन । सरकार बनाउन भनेको सस्ता नारा नागरिकलाई सुनाउनु र आफु अनि आफ्ना धुपौरेहरुलाई कमाउने खेती गर्नु बाहेकको कर्म कसले पो गर्न भ्याएकाछैनन् र ? जब राज्य संचालन गर्नेहरुकै दिल र दिमागमा सोच,संस्कार र चिन्तनको खडेरी छ भने त्यहाँ कस्तो सुशासन र समृद्धिको कल्पाना र आशा गर्ने ? मैले यहाँ कुनै एक पार्टी र सरकारलाई भन्न खोजेको होइन र यो फेरि मेरो कसै माथि आरोप नभएर यो देखे भोगेको कुरा हो । कुनै पनि राजनीति पार्टीलाई त्यसको विचार , दर्शन र सिद्धान्तले निर्देशित गरको हुन्छ र त्यसको कार्यान्वयनको पक्ष भनेको सक्षम नेतृत्व र सोच , संस्कार र चिन्तन सहितको लक्ष्य बोकेको नेताकै नेतृत्व वा समूहले गर्ने गर्दछ तर नेपाली राजनीतिको पक्ष भनेको कथनी र करणी अर्थात भनाई र गराईमा आकाश जमिनको फरकमा हुने गर्दछ , प्रजातन्त्र ,समाजवाद र गणतन्त्रको कुरा भन्ने र लेख्ने गरिन्छ तर ब्यबहारमा त्यसको ठिक उल्टो हुन्छ । नारामा सुखी नेपाली र समृद्ध नेपालको रटाना गरिन्छ तर काम भनेको त्यो सँग ठिक उल्टो हुने गर्दछ ।
राम्रो र सक्षम भन्दा पनि हाम्रो र मेरोको गलत मानसिकताले आज राजनीति भन्ने शब्दबाट एउटा समूह सधै टाढा रहन खोज्दछ किनकी राजनीति भनेको भाषण र सरकार अनि जसरी पनि धन र शक्तिको आर्जन हो भन्ने आम चरित्रको बिकास यहाँको नेतृत्व र राज्य हाँक्नेहरुका प्रष्ट ब्यबहारबाट नयाँ पुस्ताले बुझेको छ । राजनीतिमा अहिले कसैले त्याग, समपर्णता र सत्कर्मको कुरा ग¥यो भने त्यसलाई बेकामे र उल्लुनै मान्ने गििर हाम्रो नेतृत्वले काम गरेको हुनाले बिशेष गरि आजको युवा पुस्तामा राजनीति प्रति लगभग आकर्षण घटेको छ भने राजनीति गर्नु र सरकारमा जानु भनेको मन्त्री बनेर कमाउनु भन्ने बुझाई परेको छ। यसको एउटै कारण के हो भने नेपालका राजनीतिक पार्टीका नेता र सरकार हाँक्नेहरुको निर्दिष्ट सोच, चिन्तन र संस्कारको शून्यतानै मान्न सकिन्छ । समाजको चरित्रको बिकासलाई हेर्दा पनि एउटा पुस्ताबाट अर्को पुस्ताले सिक्ने हो र त्यसलाई अनुसरण गर्ने हो तर यहाँ सिकाउने कामनै गलत भएको छ जुन पटके गलतले एउटा शब्दको शाब्दिक अर्थ जे हुने हो त्यो नभएर त्यसको ठिक बिपरित बन्न पुगेको छ ।
अहिलेको सरकारको मात्रै कुरा गर्ने हो भने यो सरकारलाई सोलोडोलो बुझ्दा यो कम्युनिष्टको सरकार हो भनिन्छ तर के यो सरकारको आम चरित्र ,संस्कार, सोच र चिन्तन कम्युनिष्ट पार्टीको घोषणा पत्रमा भए जस्तै जस्तै पनि छैन । पूजिवादीहरुले मान्छे भुल्याउन ल्याउने जस्ता आकर्षक नारा अघि सारेको छ भने काम नवधनाढ्य वर्गको जस्तो गरेको छ । यसले पनि के बताउँछ भने जे वस्तु हो त्यसको समग्र पक्ष त्यो जस्तो छैन र त्यो नारा वा बिज्ञापन जस्तो मात्र छ र काम ठिक त्यसको उल्टो छ । सरकार यस्तो हुनु भनेको पार्टीमा समेत देखिएको सोच, संस्कार र चिन्तनको अभाव वा खडेरीनै हो । कुनै कालो भन्ने वस्तुको रङ्ग हरियो र पहेलो जस्तो देखिनु भनेको त्यसको सत्यता घट्नु भए जस्तै कम्युनिष्ट सरकार भनेको तर त्यसको कार्यशैली भने अन्य कुनै पार्टीको जस्तो देखिनु भनेको दृष्किोणका आधारमा सोच र चिन्तनको खडेरी वा स्खलनतर्फ उन्मूख भनेर मान्न सकिन्छ ।
राजनीति भनेको जसरी पनि शक्ति र सत्तामा आउनु पर्छ भन्ने गलत सोच, चिन्तन र सस्कारका कारण आज हाम्रो देशलाई लोकतान्त्रिक गणतन्त्र भएको देश भनिएता पनि यसले लोकको हित भन्दा पनि केही मुठ्ीभर मानिसहरुको पक्षमा मात्र काम गरेको छ भनेर कसैले भनिरहँदा झनक्क हुने काम छैन । किनभने सरकारमा रहेकाहरु देखि सबै पार्टीमा रहेका नेताहरुमा शक्ति र स्वार्थको भूत भन्दा अरु केहीले बास गरेको पाईदैन । पवित्र नारा दिएर अपवित्र गठजोड गर्नु भनेकै नियतको खराबी हो नियत खराबको सोचले घेर्नु भनेको चिन्तन र संस्कारमा देखिएको चरम खडेरी हो ।
अहिलेको सरकारले ल्याएको सुन्दा आनन्द जस्तो लाग्ने नारा छ सुखी नेपाली र समृद्ध नेपाल । यसको बिरोध गर्नु भनेको स्वयम्मा अपराध चिताउनु जस्तो नारा छ । तर के यो सरकारले सुखी नेपाली र समृद्ध नेपालको निमार्णका लागि नागरिकका आधाारभूत आबाश्यकता र उनीहरुको दैनिकीमा थोरै भए पनि ख्याल गरेको छ ? साचै भन्ने हो भने कर्मचारीतन्त्र पञ्चायती भूतबाट मुक्त हुन सकेको जस्तो लाग्दैन । सरकारी कार्यालयमा गएर काम गर्नु भनेको नागरिकलाई एक प्रकारको यातना जस्तोनै भएको छ । सरकारले बाँडेको बिभिन्न सुविधा पाउनेमा सरकारकै वरिपरीका भाइभतिजा र गुटका कमरेड भनौदाहरुनै छन् । निम्नस्तरका नागरिकको अवस्थामा कुनै बदलाव भएको देखिदैन । हिजोकै चतुरा र चाकडीवाजको हालीमुहाली छ तर हाम्रो सरकार भन्छ फेरि पनि सुखी नेपाली र समृद्ध नेपाल यहाँनेर सोचनीय विषय यो छ कि भक्तपुर जाने भनेर चितवनको बाटो हिडयो भने भक्तपुर पुगिदैन सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरेर आफ्ना आज्ञाकारीहको मन बुझाउने मेलो गर्दा सबै नेपाली सुखी बन्ने होइनन् । पहिला त सरकारमा जो बसेकाछन् र आफुलाई ज जसले जुनजुन पार्टीका नेता हौँ भन्ने संझेकाछन् उनीहरुको सोच,संस्कार र चिन्तनमा स्पष्टताको खाँचो छ ।