वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रो


सरोज ढुङ्गेल

काठमाडौँ, पुस ४ गते । बिहीबार बिहान ९ बजेर ३० मिनेट जाँदा सिन्धुपाल्चोकका सज्जन तामाङ वीर अस्पतालको टिकट काउन्टरबाट टोकन लिएर बस्नुभएको थियो । उहाँले टोकन लिएको ४५ मिनेटपछि टिकट काट्ने पालो आयो । टिकट काटिसकेपछि पेटसम्बन्धी परीक्षणका लागि ग्यास्ट्रो ओपीडीमा जानुभएका तामाङले १५ मिनेटको फरकमा डाक्टरकहाँ परीक्षण गराउनुभयो ।
डाक्टरले सल्लाह दिएअनुसार उहाँले अन्य परीक्षणसमेत गराउनुभयो तर उहाँलाई डाक्टरले इन्डोस्कोपी गर्न सल्लाह दिए । इन्डोस्कोपी गर्न भने उहाँले १० दिनसम्म पालो कुर्नुपर्ने हुन्छ । यस्तै गत साता टिप्परले ठक्कर दिएर खुट्टा फ्याक्चर भई उपचार गराइरहनुभएका सोनालाल साह निरन्तर फलोअपका लागि वीर अस्पताल पुग्नुभएको थियो । टिकट काटेर चिकित्सकलाई देखाउँदा १२ बजेको थियो ।
नियमित फलोअपपछि १ बजे अस्पताल बाहिरको कुर्सीमा श्रीमतीसँगै बस्नुभएका साह कबाडीको काम गर्नुहुन्छ । कबाडीको काम गर्ने क्रममा उहाँलाई टिप्परले ठक्कर दिएपछि अस्पतालमा उपचार गराइरहनुभएको छ । भीडभाड भए पनि अस्पतालले दिने सेवाप्रति साह सन्तुष्ट हुनुहुन्छ ।
बिहान सवा ९ बजे गोरखापत्रको टिम वीर अस्पताल पुग्दा विगतभन्दा भीडभाड कम देखिन्थ्यो । अहिले वीर अस्पतालमा पहिलेजस्तो तीन सय मिटर लामो लाइन बसेर टिकट काट्नुपर्ने व्यवस्थाको अन्त्य भएको छ । बैङ्कमा जसरी टोकनको व्यवस्था हुन्छ, अस्पतालमा पनि टोकन प्रणाली लागू भएपछि उभिएर लाइन बस्नुपर्ने झन्झटबाट भने बिरामी मुक्त भएका छन् ।
टिकटमा टोकन प्रणालीले गर्दा टोकन लिएपछि निश्चित समयका लागि जहाँ गएर आए पनि पालो आउने भएकाले यो सुविधाले बिरामी हर्षित देखिन्थे । वीर अस्पतालमा सामान्य टोकन, ज्येष्ठ नागरिक तथा स्टाफ टोकन र अपाङ्गता तथा दृष्टिविहीन टोकन गरी तीन भागमा विभाजन गरिएको छ । लगभग केही मिनेट पर्खेपछि अपाङ्ग र ज्येष्ठ नागरिकको पालो आइहाल्छ ।
बिरामीले टिकट काटिसकेपछि डाक्टरकहाँ उपचार गराउन पनि पालो कुर्नुपर्छ । झन्डै ३० मिनेटदेखि एक घण्टा कुरेपछि बिरामीले डाक्टरसँग स्वास्थ्य परीक्षण गर्न सक्नेछन् । डाक्टरको प्रेस्किप्सनअनुसार ल्याब, रेडियोलोजिस्ट सेवा, एक्सरे लगायतका सेवा लिन फेरि पालो कुर्नुपर्ने हुन्छ ।
सिटिस्कान, एमआरआई, भिडियो एक्स–रेजस्ता सेवा लिन बिरामीले तीन दिनदेखि १० दिनसम्म कुर्नुपर्दछ । अन्य दिनको तुलनामा बिहीबार त्यति भीडभाड नदेखिएको वीरमा शुक्रबार, आइतबार र सार्वजनिक बिदाको भोलिपल्ट भने थामिनसक्नु भीडभाड हुने गरेको छ । बिरामीलाई विगतका वर्षको तुलनामा भने केही सहज देखिन्छ तर वीर अस्पताल नेपालकै सबैभन्दा पुरानो, ठूलो र ७७ वटै जिल्लाबाट उपचारका लागि आउने भएकाले बिरामीले निजी अस्पतालको भन्दा कठिन अवस्था झेल्नुपर्ने हुन्छ ।
वीरको आकस्मिक कक्षमा पुग्दा त्यहाँ कुनै पनि बेड खाली थिएन । आकस्मिक बेडमध्ये ३२ वटैमा बिरामी भरिभराउ देखिन्थे । मेडिकल अफिसर र पारामेडिक्सहरू बिरामीको उपचारमा व्यस्त देखिन्थे । कुनै बेडमा दुई जनासम्म बिरामीलाई एकै स्थानमा राखेर उपचार गरिएको थियो । वीर अस्पतालको आकस्मिक कक्षमा एउटा बेडमा दुई जना मात्र होइन, कहिलेकाहीँ र रातिको समयमा झन् तीनदेखि पाँच जनासम्म बिरामी एउटै बेडमा राखेर उपचार गराउनुपरेको छ ।
भीडभाडका कारणले वीर अस्पताल त्यति सफा देखिँदैन । आकस्मिक कक्षमा पनि अर्कै गन्ध आइरहेको थियो । सबैभन्दा समस्या वीर अस्पतालमा शौचालयको रहेको छ । हरेक तलामा महिला, पुरुषको छुट्टाछुट्टै शौचालय रहे पनि प्रायः शौचालयका ढोकामा चुकुल बिग्रिएका थिए । एउटा हातले ढोकालाई थामेर अर्को हातले शौच गर्नुपर्ने बाध्यता छ । शौचालयका झ्यालमा खैनी, चुरोटका बट्टा तथा पान खाएर थुकेको पाइन्छ । दुई वर्षअघि कलाकार धुर्मुस–सुन्तलीले वीर अस्पताल सरसफाइ गरिदिनुभएको थियो ।
वीर अस्पतालमा पाँच हजार बेड भए पनि हाल सञ्चालित ३८० बेड धान्न पनि मुस्किल परेको छ । अस्पतालका निर्देशक प्राडा केदार सेन्चुरी अस्पतालमा भइरहेको सुविधालाई समेत व्यवस्थितसँग सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुहुन्छ । अस्पतालमा सामान्य स्वास्थ्य सेवादेखि लिएर विशेषज्ञ स्वास्थ्य सेवासमेत लिन बिरामी आउने गर्दछन् । भौतिक रूपमा सम्पन्न भए पनि जनशक्ति अभावमा पर्याप्त सेवा उपलब्ध गराउन नसकिएको निर्देशक डा. सेन्चुरीको भनाइ छ ।
अस्पतालमा काम गर्ने प्रमुख हिस्सेदार नर्सिङ स्टाफ भएकाले नर्सको अभावमा प्रभावकारी सेवा दिन सकिएको छैन, डा. सेन्चुरीले भन्नुभयो, “थप जनशक्तिको कुरै नगराँै, भइरहेको दरबन्दीसमेत धेरै सङ्ख्यामा कटौती भएको छ ।”
कोही बिदा, कोही अध्ययन बिदा र केही अवकाश पाउँदा सेवा प्रभावकारी हुनसकेको छैन । वीरमा जापान सरकारले बनाइदिएको तीनतले भवनमा पूर्णरूपमा सञ्चालन गर्न सकिएको छैन । जाइकाले बनाइदिएको एक सय बेडमा ४० बेड सञ्चालनमा आएको उहाँ बताउनुहुन्छ ।
हाल वीरमा ३८० बेडमात्र निरन्तर रूपमा सञ्चालनमा छन् । भूकम्प अघिसम्म ४८० बेड सञ्चालित भूकम्पपछि प्रभावकारी रूपमा सेवा सञ्चालन दिन सकेको छैन । आकस्मिक कक्षमा अत्यधिक बिरामी रहे पनि सामान्य बहिरङ्ग, डेन्टल विभागमा त्यति बिरामीको चाप थिएन । देशभरिबाट ‘रिफर’ भई उपचारका लागि आउने बिरामीले भनेजस्तो सेवा पाउन भने सकिरहेका छैनन् ।
वीर अस्पतालमा जम्मा २० बेड आईसीयू रहेकोमा जहिले पनि ‘प्याक’ रहन्छ । यहाँ आईसीयूका लागि अन्य जिल्ला तथा अस्पतालबाट रिफर भएर आउने बिरामीलाई आईसीयू छैन भन्दै अन्य निजी अस्पतालमा पठाइने रहेछ । अस्पतालका अनुसार भइरहेका २० बेडसँगै २० बेड आईसीयू कक्ष थप्न लागिएको छ । निर्देशक डा. सेन्चुरीको भनाइमा आकस्मिक कक्ष ३२ बेड रहेकोमा यसलाई विस्तार गरेर दुई सय बेड बनाए बिरामीको चाप घट्ने सम्भावना कम छ । रेफरल र केन्द्रीय अस्पताल भएकाले यहाँ बिरामीको चाप धान्न मुस्किल छ ।
अन्य निजी अस्पतालभन्दा कैयौँ गुणा सस्तो भएकाले यस अस्पतालमा बिरामीको चाप बढेको हो । गरिब र असहायका लागि निःशुल्क उपचारको व्यवस्थासमेत छ । त्यसका लागि अस्पतालमा छुट्टै सामाजिक एकाइको व्यवस्था गरिएको छ । आकस्मिक कक्षमा रात्रिकालीन अवस्थामा नर्सले सेवा दिनसक्ने अवस्था छ तर आकस्मिक कक्षमा नर्सिङ कक्ष र बस्ने व्यवस्थासमेत छैन । त्यहाँ रात्रिकालीन अवस्थामा अहेब, एचएजस्ता पारामेडिक्सले उपचार सेवा दिइरहेका हुन्छन् ।
विशेषज्ञ चिकित्सकहरू केही घण्टा बसेपछि आफ्नै निजी अस्पताल तथा अन्यत्र क्लिनिकमा जाने गर्नाले यहाँ डाक्टरको उपस्थिति कम देखिन्छ । वीर अस्पतालमा कार्यरत कर्मचारीहरू नै विशेषज्ञ चिकित्सकहरू अस्पतालमा बस्ने नगरेको आरोप लगाउँछन् । यसबारे अस्पतालका निर्देशक डा. सेन्चुरी विशेषज्ञ सेवा सबै बिरामीलाई नचाहिने बताउनुहुन्छ । सधैँ भनेको समयमा विशेषज्ञ नहुन सक्छ, निर्देशक डा. सेन्चुरी भन्नुहुन्छ, “कहिले विशेषज्ञ चिकित्सक बिदामा गएको हुनसक्छ, कहिले ओटी तथा कहिले आफ्नै कामले बाहिर गएकाले बिरामीले चाहँदैमा भेट नहुनु स्वाभाविक हो ।”
वीरमा दैनिक एक हजार आठ सयदेखि दुई हजार पाँच सयसम्म बिरामी आउने गर्दछन् । यो चापलाई वीरले धान्न मुस्किल छ । अस्पतालमा गोरखापत्रको टिम पाँच घण्टासम्म रहँदा वीर अस्पताललाई सुधार गर्नुपर्ने विषय धेरै रहेको औँल्याएको छ ।
जस्तो शौचालयदेखि लामो समयसम्म बिरामीले शल्यक्रियाका लागि कुर्नुपर्ने हुन्छ । युरोलोजी विभाग, ग्यास्ट्रोलोजी र न्युरोसम्बन्धी शल्यक्रिया गर्दा तीन महिनादेखि छ महिनासम्म पालो कुर्नुपर्ने बाध्यात्मक अवस्था छ । गाउँबाट आएको बिरामी हुनाले होटल तथा गेस्ट हाउसमा बस्ने खर्चले निजी स्वास्थ्य संस्थामा उपचार गराउन पुग्छ भन्दै निजीमा गएर उपचार गराउने गरेका छन् ।
अस्पतालमा झन्डै दुई वर्ष लगाएर खरिद गरेको टोमोथेरापी (क्यान्सरको रेडियसन दिने मेसिन) र इन्ट्रा अपरेटिभ मेसिन करोडाँै रुपियाँमा खरिद गरे पनि हालसम्म सञ्चालनमा ल्याउन सकिएको छैन । राज्यको कानुनअनुसार हरेक सरकारी अस्पतालमा अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने बाध्यकारी नीति छ तर आजै वीर अस्पताल फार्मेसीमा २५ मिनेटसम्म लाइन बसेर औषधि किन्न बसेका बानेश्वर बस्ने आशिष लिम्बूले चिकित्सकले प्रेस्किप्सन गरेका पाँच औषधिमध्ये पाँचैवटा पाउनुभएन । उहाँ बाध्य भएर अस्पताल बाहिरका फार्मेसीमा गएर औषधि किन्नुभयो । यो समस्या पनि सेवाग्राहीले भोग्दै आइरहेका छन् ।गोरखापत्र अनलाइन