कला

‘दबंग ३’ को डरले हलमा छैनन् नेपाली फिल्म

फिल्मीखबर, काठमाण्डौ,

नेपालमा वर्षौदेखि विदेशी फिल्मको दबदबा कायम छ । नेपाली फिल्मले पोस्टरको पनि पैसा उठाउन नसक्दा बलिउड र हलिउड फिल्मले भने यही करोडौं छापिरहेका हुन्छन् । यसले के प्रस्ट्याउँछ भने नेपाली दर्शकको पहिलो रोजाइ घरेलु फिल्म नभइ विदेशी फिल्म बनिरहेको छ । नेपाली फिल्म स्तरिय बन्न नसक्नुले नै विदेशी फिल्मप्रति दर्शकको झुकाव बढेको कतिपयको ठम्याइ छ ।

नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने दर्शकको संख्या घट्न नसक्नुले वर्षेनी विदेशी फिल्मको डरमा नेपाली निर्माता बाँच्नु परेको अवस्था छ । वर्षौदेखि हलिउड र बलिउड फिल्मको रिलिज क्यालेन्डर हेरेर मात्र नेपाली फिल्मको प्रदर्शन मिति घोषणा हुनुले नै नेपाली निर्मातामा विदेशी फिल्मको भय प्रस्ट्याउँछ । ‘मै हुँ’ भन्ने निर्माता समेत विदेशी फिल्मसँग भिड्नु परे कुलेलाम ठोक्छन् ।

ठूला विदेशी फिल्मको अगाडि नेपाली फिल्म ‘हात्तीको मुखमा जिरा’ हुने डर नेपाली निर्मातामा छ । हुन पनि करोडौं, अर्बौंको लगानीमा बन्ने गरेका हलिउड र बलिउड फिल्मसँग समान हैसियतमा सीमित लगानीमा बन्ने नेपाली फिल्म भिड्नु भनेको जानी जानी बाघको मुखमा हात हाल्नु सरह नै हो । त्यसैले ठूला विदेशी फिल्म रिलिज हुँदा नेपाली हल नेपाली फिल्मविहीन हुन्छन् ।

तर, नेपाली निर्माता विदेशी फिल्मसँग एकै मितिमा भिड्न डराउने गरेको भएता पनि आफ्नै मुलुकमा बन्ने फिल्मसँग वारपारको खेल खेल्न भने ठूलो छाती देखाउँछन् । निर्माता-निर्माताबीचको इगोको भिडन्त प्रायः हप्तैपिच्छे हलमा देख्न पाइन्छ । निर्माताहरु एकअर्काको फिल्म डुबाउने खेलमा घुँडा धसेर लाग्दा नेपाली फिल्म क्षेत्र तंग्रिन सकेको छैन । जति उफ्रिए पनि भूईंको भूईं छ ।

नेपाली निर्मातामा विदेशी फिल्मको डर कुन हदसम्म छ भन्ने कुरा शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ सँग कुनै नेपाली फिल्म प्रदर्शनमा आउने आँट गर्न नसक्नुले नै छर्लङ्ग पार्छ । यो हप्ताका लागि नेपाली हल नेपाली फिल्मविहीन भएका छन् । त्यसैले मल्टीप्लेक्स र सिंगल थिएटर दुबैतर्फ ‘दबंग ३’ को एकलौटी राज छ ।

प्रदर्शनरत फिल्म नचल्नु र यो हप्ता कुनै नयाँ नेपाली फिल्म नआएपछि सिंगल थिएटरका सञ्चालक समेत बलिउड फिल्म लगाउन बाध्य भएका छन् । मल्टीप्लेक्सहरु विदेशी फिल्मको भरमा चल्ने हुँदा ‘दबंग ३’ ले सर्वाधिक सोज पाएको छ । नेपालको सबैभन्दा ठूलो क्यूएफएक्स चेनमा मात्र फिल्मले पहिलो दिन ८८ सोज पाएको छ । जुन यसअघि कुनै फिल्मले पाएका थिएनन् ।

‘दबंग ३’ ले नेपालको मल्टीप्लेक्समा पाएको सोज संख्या हेर्दा फिल्मले पहिलो दिन २ करोड छाप्ने अनुमान गरिएको छ । भारतमा मात्र पहिलो दिन ४५ करोडभन्दा बढी कमाउने विश्लेषण गरिएको यो फिल्म लामो समयदेखि नेपाली दर्शकमाझ प्रतिक्षीत थियो । नेपालमा सलमानलाई मन पराउने दर्शकको ठूलो संख्या छ । उनका अघिल्ला फिल्मले पनि नेपालमा राम्रो कमाइ गरेका थिए ।

‘दबंग ३’ सँग भिड्दा पानी पनि भन्न नपाउने डरले नेपाली निर्माताले फिल्म जुधाउने हिम्मत नगरेका हुन् । यो हप्ता मात्र होइन, माघ दोस्रो हप्तासम्म पनि दर्शक तान्न सक्ने सामथ्र्य बोकेका नेपाली फिल्म छैनन् । माघ २४ मा भने ‘सेल्फी किङ’ र ‘साङ्लो’ प्रदर्शनमा आउँदैछ । असोजपछि सुस्ताएको नेपाली फिल्मको बजार यी दुई फिल्मले चलायमान बनाउने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button