अर्टेटा आर्सनलको मुख्य प्रशिक्षक


एजेन्सी – इंग्लिस क्लब आर्सनलले आफ्ना पुर्व खेलाडी तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनिस प्रशिक्षक अर्टेटा आर्सनलकै पूर्व मिडफिल्डर पनि हुन् ।

आर्सनलले मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको तीन सातापछि ३७ वर्षीय अर्टेटालाई शुक्रबार ३ वर्ष ६ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि अर्टेटा २०१६ देखि अर्काे इंग्लिस क्लब म्यानचेस्टर सिटीका सहायक प्रशिक्षकका रुपमा रहेका थिए ।

अर्टेटा १८९७ देखि आर्सनलका २०औं प्रशिक्षक हुन् । आर्सेनी विंगरले सबैभन्दा लामो समय २२ वर्ष आर्सनलको (१९९६–२०१८) समम प्रशिक्षक बनेका थिए । गतवर्ष मात्रै युनाई इम्री आर्सनलको मुख्य प्रशिक्षक बनेका थिए । तर, उनको प्रशिक्षणमा आर्सनलले स्वभाविक गति लिन नसकेपछि इम्री तीन साताअघि बर्खास्तीमा परेका थिए ।

स्पेनिस क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर अर्टेटाले बार्सिलोनाको सिनियर टोलीबाट खेल्न नपाएपनि फ्रेन्च पेरिस सेन्ट जर्मेन (पीएसजी), रेन्जर्स, रियल सोसिडाड र एभर्टन हुदै आर्सनलबाटै व्यवसायिक फुटबल खेलेका थिए ।

आर्सनलमा पाँच वर्ष (२०११–२०१६) सम्म खेलेका उनले त्यहाँ रहँदा एफए कप र कम्युनिटी शिल्ड जितेका थिए । अर्टेटाको प्रशिक्षणमा आर्सनलले शनिबार (आजै) आफ्नो पुर्व क्लब एभर्टनसँग खेल्दैछ । खेल एभर्टनको मैदानमा साँझ ६ः१५ बजे हुनेछ ।hamrokhelkud