राजनीतिक विज्ञानमा नयाँ अन्वेषण


– अमर झाँक्री ‘सन्जिव’

राजनीतिक विज्ञान त्यस्तो विज्ञान हो, जसले सामाजिक जीवनका हरेक अन्तरविरोधको परिचालन गर्दछ र त्यसलाई हल गर्न एउटा सुस्पष्ट दृष्टिकोण अगाडि सार्दछ । यसले सही विचार र विधि अगाडि सार्दा सामाजिक जीवनका अन्तरविरोधको सही समाधान भई समाजको विकास द्रूत गतिमा अगाडि बढ्दछ तर जब यसले गलत विचार र विधि अगाडि सार्छ, तब त्यसले सामाजिक जीवनका अन्तरविरोध झन् बढ्न गई सामाजिक जीवन यथास्थिति र पश्चगामी दिशातर्फ धकेलिन पुग्दछ । आज विश्वका केही देश अति विकसित छन् । केही देश विकसित र केही देशहरू अल्पविकसित रूपमा रहेका छन् । त्यसका पछाडिको एउटा महत्वपूर्ण कारण भनेको सम्बन्धित देशका राजनीतिक पार्टीले अगाडि सारेका विचार, विधि तथा प्रणालीसँग अन्तर्सम्बन्धित रहेका छन् । जुन देश अतिविकसितको सूचाङ्कमा छन् ती देशमा अङ्गालिएका विचार, विधि र प्रणालीले राजनीतिलाई केही हदसम्म राज्यसत्ता, विचार र जनतासँग जोड्न सक्नु हो । हाम्राजस्ता देशहरू जो आज पनि अल्पविकसित मात्र होइन, पराधीन पनि छन्, यसको मूल कारण भनेको इतिहासदेखि वर्तमानसम्म देशका राजनेताले अगाडि सारेको गलत विचार, विधि र प्रणाली मूल रूपमा जिम्मेवार रहेको छ । जुन जनतासँग जोडिन सकेन र सीमित मुट्ठीभर व्यक्तिको नियन्त्रणमा रहेको परिणाम हुन् ।

आज विश्वव्यापी रूपमा संसदीय पुँजीवादी शासन व्यवस्था चलिरहेको छ । यस प्रकारको संसदीय पुँजीवादी व्यवस्थाले कैयौँ देशलाई उत्तर– साम्राज्यवादी राष्ट्रमा विकसित गर्न पुगेको छ भने अधिकांश राष्ट्र अल्पविकसित र पराधीन राष्ट्रका रूपमा रहन पुगेका छन् । अति विकसित राष्ट्र हुन् या अल्पविकसित राष्ट्र हुन्, संसदीय व्यवस्थाको सारतत्व भनेको सीमित पुँजीपतिवर्गले बहुसङ्ख्यक श्रमजीवीवर्गलाई श्रमशोषण गर्नुमा रहेको हुन्छ । र, त्यसका निम्ति यसले भ्रष्टाचार, कमिसनखोर, कालाबजारी, महङ्गी, तस्करीलगायतका जनविरोधी क्रियाकलाप अपनाइरहेको हुन्छ । संसदीय व्यवस्थाको मार्गदर्शक सिद्धान्त, विचार र सत्ता सञ्चालन एउटै भए पनि उत्तर–साम्राज्यवादमा पुगेको अति विकसित राष्ट्रले विकसित र अल्पविकसित राष्ट्रमाथि विभिन्न उत्पीडन थोपर्न पुगेका छन् । उनीहरूले त्यहाँ रहेका खनिजजन्य पदार्थ, जल, जमिन, जङ्गल, जडीबुटीको दोहनका लागि लुछाचुँडी र प्रतिस्पर्धालाई गुणात्मक रूपले बढाइरहेका छन् । एकातिर अतिविकसित राष्ट्रहरूले अल्पविकसित राष्ट्रमाथि शोषण, दमन र हस्तक्षेप बढाइरहेका छन् भने अर्कोतिर अल्पविकसित राष्ट्रमा त्यही शासन गरिरहेका दलाल पुँजीपतिवर्ग र त्यहाँका न्यायप्रेमी जनताका बीचमा पनि दुश्मनीपूर्ण अन्तरविरोध बढ्दै गइरहेका छन् । यस प्रकारको अन्तरविरोधका कारण आज अल्पविकसित राष्ट्रका जनताका अगाडि विद्रोह र सङ्घर्षको विकल्प छैन । आज विश्वव्यापी रूपमा उपर्युक्त अवस्था बढ्दै गइरहेका कारण सङ्कट चुलिंदै गइरहेका छन् ।

आज विश्वव्यापी रूपमा देखापरिरहेको यस प्रकारको अन्तरविरोधको एक मात्र समाधान भनेको विद्यमान संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माण गर्नु हो । जहाँ उत्पीडितवर्ग, जाति, लैङ्गिक, क्षेत्र र समुदायका बीचका अन्तरविरोध रहनेछैनन् । वर्गविहीन समाजको निर्माण हुनेछ । जहाँ मानवजातिलाई वैज्ञानिक साम्यवादमा लैजान प्रशिक्षित गर्ने विचार र कार्यविधिको प्रयोग गरिनेछ । आज समाजवादी व्यवस्था स्थापनार्थ संसारभरका जनसमुदायले साम्राज्यवाद तथा त्यसद्वारा निर्देशित शासन व्यवस्थाका विरुद्ध विभिन्न विद्रोह, युद्ध र क्रान्तिहरू सङ्गठित गर्दै आइरहेका छन् । तर, ती क्रान्तिले साम्राज्यवादी शासन व्यवस्थामाथि विजय हासिल गर्न सकेका छ्रैनन् । अझ महत्वपूर्ण विषय के छ भने विगतमा संसारका एकतिहाइ भू– भागमा स्थापना गरिएका समाजवादी सत्तामा प्रतिक्रान्ति हुन पुगेको छ । यो एउटा गम्भीर विषय बन्न पुगेको छ । विश्वमा समाजवादी सत्ताहरूमा भएका प्रतिक्रान्ति र माओको निधनपश्चात् विश्वव्यापी रूपमा सञ्चालन गरिएका क्रान्तिले आफ्नो विजय सुनिश्चित गर्न नसक्नुका कारणबारे विश्वव्यापी रूपमा गम्भीर समीक्षा र अध्ययन–अन्वेषण चलिरहेको छ ।

प्रचण्ड–बाबुरामहरूले जनयुद्धलाई बीचमै अलपत्र छोडेर जब संसद्वादका सामु आत्मसमर्पण गर्न पुगे तब पार्टीमा यसबारेमा मूर्त बहस अगाडि बढ्न थाल्यो । जनयुद्धकालमा पनि हामीले पार्टीमा क्रान्ति, प्रतिक्रान्ति र पुनः नयाँ क्रान्तिको बारेमा बहस सञ्चालन गरेका थियौँ । त्यस प्रकारको बहसमा सहभागी नेतृत्वले नै पुनःप्रतिक्रान्तिको सेवा गर्न पुगेको सन्दर्भमा यो बहसले पुनः विश्वव्यापी र नेपालमा पनि नयाँ रूप र आकार लिन थाल्यो । शान्तिप्रक्रियामा प्रवेश, पार्टीमा चलेका दुईलाईन सङ्घर्ष तथा एकता र फुटका घटनाक्रम, सहिद, बेपत्ता योद्धाहरूले देखाएको बाटो स्मरण गर्दै वर्तमान नेपाली समाजका अन्तरविरोधको पहिचान र समाधानका साथै, वैज्ञानिक समाज जहाँ समानता, स्वाधीनता, समृद्धि र शान्तिसहितको विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपालको निर्माणलगायतका विषयमा बहस केन्द्रित हुन पुगे । यसको निचोड हामीले के निकाल्यौँ भने क्रान्तिको पूर्ण सफलता र त्यसलाई प्रतिक्रान्तिबाट रक्षा गर्दै निरन्तर क्रान्तितर्फ जानका लागि हामीले दर्शन, राजनीति, सङ्गठन र अर्थप्रणालीका साथै, कार्यदिशा पनि विकास गर्न आवश्यक छ । उपर्युक्त निष्कर्षलाई पूर्णता दिनका लागि हाम्रो पार्टीले महासचिव विप्लवको नेतृत्वमा सामान्यतः शान्तिप्रक्रियाको झन्डै एक दशक र मुख्यतः दुई वर्षको बहसपश्चात् भएको आठौँ महाधिवेशनमा केही अन्वेषण गर्न सफल भएको छ । त्यसबारे यहाँ सङ्क्षिप्त चर्चा गरिनेछ :

दर्शन :

दर्शन भनेको समाजलाई हेर्ने बुझ्ने र बदल्ने दृष्टिकोण हो, जसलाई कार्ल माक्र्सले, “संसारलाई व्याख्या गर्ने दार्शनिकहरू त हजारौँ छन् तर मूल कुरा बदल्नु हो” भनेका छन् । दर्शनको यो प्रयोग लेनिन, स्टालिन, माओ हुँदै हामीले पनि प्रयोग गर्दै आयौँ । आठौँ महाधिवेशनको निष्कर्ष के रहेको छ भने अब बुझ्ने र बदल्नेले मात्रै पुग्दैन किनकि समाजवादी सत्ताहरू टिक्न सकेनन्, जो लाखौँ मानिसको त्याग, वीरता र बलिदानपश्चात् प्राप्त भएका थिए । त्यसकारण अब दर्शनमा विकास र रक्षा गर्नुपर्छ भन्ने कुरा थपेका छौँ । यसले विगतमा समाजवादी सत्तामा प्रतिक्रान्ति किन र कसरी भयो र आगामी दिनमा प्रतिक्रान्तिबाट समाजवादी सत्तालाई कसरी रक्षा गर्न सकिन्छ भन्ने कुराको विहङ्गम अध्ययन गर्न मद्दत पुग्नेछ, यो पहिलो प्रश्न हो । दर्शनकै क्षेत्रमा दोस्रो महत्वपूर्ण प्रश्न ‘ विपरीतहरूको एकत्व’ बारे पनि नयाँ अन्वेषण अगाडि बढाइएको छ । जसअनुसार संसारका हरेक वस्तु विपरीतहरूको एकत्वको सार्वभौम रूपमा चलिरहेका छन् तर त्यही कुरा एउटा पार्टी र त्यसमा चल्ने दुईलाईन सङ्घर्षमा हुबहु लागू हुन सक्दैन अर्थात् दुईलाईन सङ्घर्ष सजातीय हुनुपर्दछ । यो यसकारणले कि एउटा राजनीतिक पार्टी अझ त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी जसले समाज रूपान्तरणको तरिका मात्रात्मक गतिबाट होइन, गुणात्मक गति अर्थात् क्रान्तिद्वारा हुने कुराको आत्मसातीकरणसहित प्रयोगको तहमा पुर्याउँछ । त्यसका लागि सिङ्गो पार्टीमा एकता चाहिन्छ । त्यसले नेता–कार्यकर्ता र जनतालाई एकताबद्ध गर्न सक्नुपर्दछ । एउटै पार्टीमा बसेर विपरीत तर्क गर्नेजस्तो कि क्रान्ति हुन्छ कि हुँदैन ? गर्नुपर्छ र पर्दैन भन्नु गलत हुन पुग्दछ ।

पार्टीमा विपरीतहरूको एकत्वलाई अन्य वस्तुहरूमा झैँ प्रयोग गरिरहँदा एकातिर पार्टीमा निरन्तर फुट भइरहन्छ भने अर्कोतर्फ आफ्नो स्वार्थअनुसार मानिसहरू कहाँ पुग्छन् भन्ने कुरा प्रचण्ड–बाबुरामको व्यवहारले स्पष्ट गर्दछ । आज उनीहरू विपरीतहरूको एकत्वको गलत परिभाषाका कारण उत्पीडित श्रमजीवीवर्गको मुक्तिको वर्गदृष्टिबाट च्यूत भई संसद्वादीसँग घाँटी जोड्न पुगेका छन् । दर्शनको क्षेत्रमा तेस्रो प्रश्न भनेको ऐतिहासिक भौतिकवादको विकास गर्ने सवालसँग जोडिएको छ । आज मालेमावाद र ऐतिहासिक भौतिकवादविरोधीहरूले विज्ञान–प्रविधिको हवाला दिएर मालेमावाद र ऐतिहासीक भौतिकवादको खण्डन गर्ने कोसिस गरेका छन् । उनीहरूको जोडबल क्रान्तिकारी विचार र भौतिक जगत्लाई अलग गर्दै क्रान्ति असम्भव देखाउनु हो । उनीहरू क्वान्टम सिद्धान्त र एकीकृत भौतिक विज्ञान तथा सूचना प्रविधिको विकास र प्रयोगले गर्दा पदार्थ लोप भएको तर्क गर्छन् । त्यस प्रकारको क्रान्तिविरोधी विचारको चिरफारसहित ऐतिहासिक भौतिकवादको नयाँ उचाइमा विकास गर्नु आजको आवश्यकता बनेको छ ।

राजनीतिक प्रणाली :

विश्व समाजवादी आन्दोलनमा कम्युनिस्ट प्रतिनिधि जनताबाट प्रत्यक्ष रूपमा चुनिने सन्दर्भमा केही समस्या विद्यमान थिए । अहिले हामीले प्रत्यक्ष जनताबाट निर्वाचित हुने प्रणालीको प्रयोग गर्ने कुरा उठाएका छौँ । साँचो अर्थमा राष्ट्र र जनताको पक्षमा निरन्तर सङ्घर्षरत पार्टीका नेता तथा कार्यकर्ताले यो हिम्मत गर्नैपर्दछ कि उनीहरूसँग आफ्नो व्यक्तिगत स्वार्थ केही छैन । उनीहरू केवल राष्ट्र र जनताको भलाईका लागि समर्पित छन् । यो कुरा जनतालाई विचारधारात्मक रूपले बुझाउने, जनताको जीवनमा परिवर्तन आउने गरी अग्रगामी योजना तर्जुमा गर्ने कुरालाई सुनिश्चित गरियो भने कम्युनिस्टहरू जनतामा लोकप्रिय हुनेछन् । उनीहरू आफ्ना नीति कार्यक्रममार्फत जनताबाट निर्वाचित हुनेछन् । यसमा अझ महत्वपूर्ण कुरा के छ भने विगतमा वैज्ञानिक समाजवादको स्थापनालगत्तै जनताको सम्पूर्ण नीजि सम्पत्ति राज्यको स्वामित्वमा हुने कुरा गरिएको थियो । हामीले अहिले एउटा निश्चित अवधिसम्म जनताले आफ्नो निजी सम्पत्ति राख्न पाउने स्वतन्त्रता दिइनुपर्दछ भनेका छौँ । त्यहाँ नेताले कुनै व्यक्तिगत सम्पत्ति राख्नेछैनन् । कार्यकर्ताले आंशिक रूपमा राख्नेछन् भने जनता धनी र समृद्ध हुनेछन् । नेता/कार्यकर्ताको जीवन वैभव र विलासितापूर्ण हुनेछैन । सरल र पारदर्शी हुनेछ । राज्यले सम्पूर्ण कुराको ग्यारेन्टी गर्दै जाँदा व्यक्तिगत पुँजीको महत्व स्वतः घट्नेछ र जनता निश्चित समयपश्चात् समाजवादी प्रणालीमा प्रवेश गर्नेछन् । यस कुरालाई केन्द्रविन्दुमा राखेर समाजवादी व्यवस्थाले आफ्नो निर्देशक सिद्धान्त प्रतिपादन गर्नेछन । यसले भ्रष्टाचार रोकिनेछ भने नेता र जनताको सम्बन्धमा एक– अर्कामा नङ र मासुको सम्बन्धका रूपमा स्थापित हुनेछ ।

सङ्गठनात्मक सिद्धान्त :

क्रान्तिकारी विचार र राजनीतिलाई एउटा भौतिक शक्तिमा बदल्ने माध्यम वा प्रक्रिया भनेको सङ्गठनको प्रभावकारी निर्माण र परिचालन हो । यस प्रकारको प्रभावकारिताबिना कुनै पनि राजनीतिक आन्दोलन सफल हुन सक्दैन । त्यस्तो सङ्गठन जसले क्रान्तिकारी विचार र राजनीतिलाई पूर्णता दिन र आम जनसमुदायलाई एकताबद्ध गर्ने कुरामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् यस सिलसिलामा समाजवादी सत्ता प्राप्तिका लागि लडिरहेका पार्टीले विगतदेखि वर्तमानसम्म छलफलमा स्वतन्त्रता, काम–कारबाहीमा एकरूपता अर्थात् ‘सामूहिक निर्णय, व्यक्तिगत उत्तरदायित्व’ मा आधारित जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तको प्रयोग गर्दै आइरहेका छन् । जसमा व्यक्ति सङ्गठनको अधिनस्त, अल्पमत बहुमतको अधिनस्त, तल्लो समिति उपल्लो समितिको अधिनस्त र सिङ्गो समिति महाधिवेशन/राष्ट्रिय सम्मेलनको अधिनस्त रहने गर्दछ ।

हामीले त्यसमा आवधिक प्रणाली थप गरेका छौँ । अब सम्पूर्ण तहका समितिमा रहेका नेता/कार्यकर्ताले केवल दुई कार्यकाल आफू रहेको समितिमा कार्य गर्न पाउनेछन् । यसले सबै तहको र मुख्यतः केन्द्रीय नेतृत्वमा रही जीवनको अन्तिम क्षणसम्म पार्टी वा सरकारको नेतृत्वमा रहिरहने प्रक्रियालाई अन्त्य गर्नेछ र नयाँ पुस्ताका हजारौँ उत्तराधिकारीको निर्माण र परिचालनमार्फत सामाजिक क्रान्तिलाई गतिशील र जीवन्त तुल्याउन मद्दत गर्नेछ । नेपाली कम्युनिस्ट आन्दोलनको एउटा दुःखान्त पक्ष के रहिआएको छ भने मूल नेतृत्वले सचेतन प्रयत्नद्वारा आफ्नो उत्तराधिकारी निर्माण गरी पदीय जिम्मेवारी हस्तान्तरण गर्न नसक्ने र नयाँ पुस्ताले नेतृत्व लिनका लागि मूल नेतृत्वका विरुद्ध विभिन्न आरोपहरू थोपर्ने तथा गुटबन्दीका माध्यमबाट आफू त्यहाँ पुग्ने परिपाटी देखिएको छ । अबका दिनमा नेपाली कम्युनिस्ट आन्दोलनले त्यस प्रकारको खराब नियति व्यहोर्नुपर्नेछैन । पार्टी एउटा संस्थागत प्रणालीद्वारा परिचालित हुनेछ । पार्टी र क्रान्तिका लागि हजारौँ उत्तराधिकारी तयार हुनेछन् र उनीहरूले युगानुकूल पार्टी, क्रान्ति र समाजको कुशलतापूर्वक अगुवाई गर्नेछन् ।

कम्युनिस्ट संस्कृति :

हामी कम्युनिस्ट समाज निर्माणका लागि सङ्घर्षरत छौँ । करिब सात दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न वैधानिक– अवैधानिक सङ्घर्षहरू सञ्चालन गरिए । ती सङ्घर्षहरूमा ठुल–ठुला बलिदानहरू हुने गरेका छन् तर वर्गसङ्घर्षको सापेक्षतामा कम्युनिस्ट संस्कृति निर्माण गर्न हाम्रो चेतना अग्रगामी हुन सकेन । फलतः कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता विचारमा कम्युनिस्ट हुने तर व्यावहारिक वा सांस्कृतिक रूपमा आध्यात्मिक हुने समस्या देखा पर्दै आएका छन् । यी समस्या सारतः विचारकै समस्या हुन् । व्यवहारतः आफू कम्युनिस्ट हुने आफ्ना परिवार विभिन्न धर्ममा आबद्ध हुने गरेका छन् । त्यस प्रकारको अन्तरविरोधी समस्याले गर्दा सिङ्गो समाजलाई विकेन्द्रित गर्न पुगेको छ । त्यस प्रकारको समस्यालाई हल गर्न आठौँ महाधिवेशनले कम्युनिस्ट संस्कृतिबारे तीनवटा निर्णय गरेको छ :

पहिलो : जिन्दगीभर पार्टी, क्रान्ति, राष्ट्र र जनताका लागि समर्पित भई उमेर अवस्थाले पाका भएका कमरेडलाई व्यवस्थापन गर्ने निर्णय, उनीहरूको भरणपोषण, औषधी–उपचारलगायतका समस्यालाई पार्टीले हल गरिदिनुपर्दछ । दोस्रो ः समग्र परिचालनलाई संस्थागत गर्नुपर्दछ। सम्पूर्ण तहका समितिको आर्थिक परिचालन विभागीय प्रणालीद्वारा गर्नुपर्दछ । नेता–कार्यकर्ताको जीवन सरल र जनतासँग एकाकार हुने गरी अगाडि बढ्नुपर्दछ । तेस्रो : हरेक गाउँमा सहिद स्मृति भवनहरू निर्माण गरिनुपर्दछ, जहाँ कम्युनिस्ट आन्दोलनमा वीरतापूर्ण सहादत प्राप्त गर्ने सहिदहरूलाई स्मरण गर्न सकियोस् । त्यति मात्र होइन, आम जनसमुदायले आफ्ना दिवङ्गत पिता–पुर्खाहरूको स्मरण पनि त्यहाँ गर्न सकिने व्यवस्था गरिनुपर्दछ । यसरी सिङ्गो समाजलाई अग्रगामी कम्युनिस्ट संस्कृतिद्वारा अगाडि बढाएर कम्युनिस्ट सत्तालाई दिगो र स्थायित्व प्रदान गर्न सकिन्छ ।

पार्टी नाम परिवर्तन :

पार्टीको आठौँ महाधिवेशनबाट हामीले पार्टीको नाम नेकपा (माओवादी) बाट नेपाल कम्युनिस्ट पार्टी राख्न पुग्यो । यसबारे बाहिर अनेकथरी टीकाटिप्पणी पनि हुने गरेका छन् । खासगरी माओवादी पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताले यो प्रश्न उठाउने गरेका छन् । उनीहरूले माओवादी नाम फेरेकोमा वास्तविक दुःख–मनाउ पनि गरेका छन् भने अर्कोतर्फ आफ्नो निहित उद्देश्य पूरा गर्नका लागि जनता, कार्यकर्ता भत्काउने कुत्सित मनसायले पनि यस प्रकारको प्रचार गर्ने गरेका छन् । साँचो अर्थमा हामीले पार्टी नाम फेर्नुका पछाडि तीनवटा कारण रहेका छन्, पहिलो ः हामी अन्तर्र ाष्ट्रिय सर्वहारावर्गको अभिन्न अङ्गका रूपमा कम्युनिस्ट पार्टीमा आबद्ध छौँ । यसको तात्पर्य मूल कुरा कम्युनिस्ट हुनु हो । पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण गर्दा जुन उद्देश्य लिनुभएको थियो, हामी त्यसको मूल प्रवाहमा आफूलाई अगाडि बढाउन चाहन्छौँ।

आज नेपालमा धेरै कम्युनिस्ट पार्टी छन् । उनीहरू कम्युनिस्ट पार्टीभन्दा पनि कोष्ठमा राखिएको पुच्छरबाट स्थापित हुन पुगेका छन् र कम्युनिस्ट शब्द विस्तारै हराउँदै जाने अवस्था देखिएको छ । हामी यसलाई हल गर्न चाहन्छौँ । दोस्रो : पार्टीको कार्यदिशाअनुसार रूप र सारको संयोजन गर्नु । हाम्रो पार्टी कार्यदिशा एकीकृत जनक्रान्ति हो । यसले सर्वहारावर्ग, मध्यमवर्गलगायतको शक्तिलाई क्रान्तिको वरिपरि केन्द्रित गर्ने अभीष्ट राख्दछ । हामीले आजको नेपाली समाजको आवश्यकतालाई मध्यनजर गरी यसलाई फराकिलो दायरामा विकास गर्न चाहन्छौँ । तेस्रो : आज माओवादी नाम राष्ट्र जनतासामु बद्नाम हुन पुगेको छ । ठूलो त्याग र तपस्या एवम् बलिदानबाट स्थापित गरिएको माओवादी शब्द आज चौतर्फी रूपमा बद्नाम हुन पुगेको छ । माओको नाम बेचेर आज एकथरी मानिस अकल्पनीय विचलनमा पुगेका छन् । यो स्थितिमा पार्टीलाई अझ सशक्त र बलियो बनाउँदै सच्चा राष्ट्रवादी देशभक्त तथा वामपन्थी शक्तिलाई एकताबद्ध गर्नु आवश्यक बन्न गएको छ । यिनै मूलभूत कारणले गर्दा हामीले पार्टी नाम परिवर्तन गर्न आवश्यक ठान्यौँ, जुन वस्तुवादी र सही छ ।

क्रान्तिकारी कार्यदिशाको थप समृद्धि :

प्रचण्ड–बाबुरामसँगको सङ्घर्ष र मुख्यतः किरणसँग एउटै पार्टीमा रहँदा नै छलफल र बहसका लागि तत्कालीन पार्टीका सचिव विप्लवद्वारा ‘ एकीकृत जनक्रान्तिको कार्यदिशा’ को प्रस्ताव तयार गर्नुभएको थियो । पार्टीमा छलफल चल्दै गर्दा पार्टी विभाजन हुन पुग्यो । पार्टी विभाजनपश्चात् दाङमा पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले उक्त कार्यदिशालाई सर्वसम्मत रूपमा पारित गर्न पुग्यो । जसले आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विशद् व्याख्यासहित क्रान्तिको कार्यनीति र रणनीतिको तर्जुमा गर्न पुगेको छ । । आजको उत्तर–साम्राज्यवादी भूमण्डलीकरण, सूचना–सञ्चारको विकास तथा समाजको आजको यथार्थलाई अध्ययन गर्दा अब विगतमा गरिएका क्रान्तिका मोडेलबाट मात्र क्रान्ति सम्भव छैन । अल्पकालीन सशस्त्र विद्रोह र दीर्घकालीन जनयुद्धको कार्यदिशा आजको परिवेशमा अपर्याप्त मात्र होइन, त्यसको यान्त्रिकीकरण मात्र हुन पुग्दछ ।

सामाज विज्ञानले पुष्टि गरेको कुरा यो रहेको छ कि एउटा देशमा प्रयोग गरिएको कार्यदिशा अर्को देशमा हुबहु लागू हुन सक्दैन । इतिहासमा सम्पन्न क्रान्ति र प्रतिक्रान्तिका गहन शिक्षा एवम् नेपाली क्रान्तिका तत्कालीन नायकहरूमा देखा परेको अकल्पनीय विश्वासघातले पनि मौलिक कार्यदिशा निर्माणमा महत्वपूर्ण आधारको काम गरेको छ । एकीकृत जनक्रान्ति जसलाई हामीले आजको युगको एउटा वैज्ञानिक र वस्तुवादी कार्यदिशाका रूपमा परिभाषित गरेका छौँ, जसका विशेषताहरू निम्न रहेका छन् : (क) भू–परिवेष्ठित अवस्था (ख) गाउँ र सहरको निकट सम्बन्ध (ग) मध्यमवर्गको विकास (घ) जाति, जनजाति र दलित जातिको बसोबास (ङ) दलाल पुँजीवादको प्रभुत्व (च) देशभक्त शक्तिको प्रभाव (छ) विज्ञान–प्रविधिको विकास । यी विशेषताको तथ्यमा टेकेर निर्माण गरिने कार्यदिशाले मात्र अबको क्रान्ति सम्पन्न गर्न सकिन्छ । आजको उत्तर–साम्राज्यवादले विकास गरेका क्रान्तिविरोधी रणनीति तथा कार्यनीतिको सही ढङ्गले अध्ययन र संश्लेषण एवम् हाम्रो आफ्नै सामाजिक परिवेशका आधारहरूमा टेकेर गरिएका नयाँ अन्वेषण जसले समाजवादी क्रान्तिको सफलता, त्यसलाई प्रतिक्रान्तिबाट रक्षा गर्दै निरन्तर मावनजातिलाई साम्यवादी बाटोमा पुर्याउन मद्दत गर्नेछ । यसर्थ, नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ खोज र अन्वेषणका दृष्टिले आठौँ महाधिवेशन दूरगामी महत्वको हुने कुरा निश्चित छ ।

(लेखकको प्रकाशित पुस्तक : ‘नेपाली कम्युनिस्ट आन्दोदन र एकीकृत जनक्रान्ति’ बाट साभार)२०७६, ६ पुष आईतवार ०६:५४ ई-रातो खबर