सुकुमबासी बन्दै कमलाखुँजका भूमिपति


बाबुराम देवकोटा

दुधौली (सिन्धुली), पुस ७ गते । दुधौली नगरपालिका–३ का कृषक चोक्ता दनुवारलाई अहिले कमलाखुँज फा“टमा अरूको धान फल्ने खेत देख्दा मन लोभिएर आउ“छ । कुनै बेला उहाँ आफ्नो भएको एक बिघा खेत हेरेर दङ्ग पर्नुहुन्थ्यो । उहाँको त्यो खेत अहिले कमला नदीको बगर बनेको छ ।
कमलाखुँज क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वर भूमि कटान गरेपछि सयौँ भूमिपति कृषक उहाँजस्तै सुकुमबासी हुनुभएको छ । स्थानीय कृषकका अनुसार कमलाखँुज क्षेत्रको फाँटमा रहेका बाँकी खेत पनि नदी कटानबाट सुरक्षित छैनन् । कमला नदीको कटानको समस्याबाट दुधौली नगरपालिकाअन्तर्गत हत्पते, निपाने, हर्षाही, टा“डी, सिर्थौलीलगायतका ठाउँका कृषक प्रभावित हुँदै आएका छन् ।
कमला नदी कटानको समस्या बढ्दो रूपमा देखा परेको दुई दशकभन्दा बढी भए पनि त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा भूमिपतिका कृषकहरू सुकुमबासीमा परिणत हुने क्रम बढ्दै गएको छ ।
तत्कालीन भूमिपति कृषक दुधौली नगरपालिका–९ का रामप्रसाद दनुवार आफ्नो दुई बिघा खेत २०४१ र २०५० सालमा कमला नदीमा आएको बाढीले बगाएपछि आफू सुकुमबासी भएको बताउनुहुन्छ । अहिले १२ जनाको परिवार मजदुरी गरेर पालिँदै आएको उहाँले गुनासो गर्नुभयो । “जीवन निर्वाहका लागि यतिखेर मजदुरी गर्नुको विकल्प छैन”, उहाँले थप्नुभयो । कमला नदीले गाउँका झन्डै दुई सय परिवारको चार सय बिघा जति खेत बगाएको र सबैको अवस्था एउटै रहेको उहाँले जानकारी दिनुभयो ।
कमला नदीको पीडा सहेर बस्न बाध्य कृषकहरू यहाँ सयौँ छन् । कृषक चोक्ताले भन्नुभयो, “नदी नियन्त्रण नहु“दा बर्सेनि सुकुमबासीको सङ्ख्या बढ्दै गएको छ । सात जनाको परिवार भए पनि खान लाउनको कुनै समस्या थिएन । अहिले अरूको खेतमा ज्याला मजदुरी गरेर परिवारको पेट पाल्ने गरेको छु । ”
स्थानीय कृषकहरूका अनुसार कमला नदीको कटानबाट यस क्षेत्रका हजारौँ बिघा उर्वर जमिन बगरमा परिणत भएको छ । हालसम्म यस क्षेत्रमा कमला नदीले पु¥याएको क्षतिको विवरण कुनै पनि निकायले सङ्कलन नगरेकाले निश्चित क्षेत्रफल भन्न कठिन छ । दुई/तीन लाख रुपियाँ खर्च गरी तटबन्ध निर्माण गरेर कमला नदीको कटानलाई नियन्त्रण गर्ने गरिएको छ । तर, न्यून बजेटका कारण उक्त प्रयास प्रभावकारी हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् ।
कमला नदी नियन्त्रण गर्न ठूलै योजना आवश्यक रहेको दुधौली नगरपालिका–१ का वडाध्यक्ष गोविन्द पहाडी बताउनुहुन्छ । “एकातिर तटबन्ध बनायो, अर्कोतिरबाट बाढीले भत्काउँछ”, उहाँले थप्नुभयो, “कमला नदी नियन्त्रणका लागि नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम सुरु गरेको छ । ” कमला नदीमा २०४१ र २०५० सालमा आएको बाढीले सबैभन्दा बढी क्षति पु¥याएको उहाँको भनाइ छ । नदी कटानले वर्षाको मौसममा दुधौली नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० प्रभावित पार्दै आएको उक्त नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रवक्ता रितेश राउतका अनुसार दुधौली नगरपालिकाले गुरुयोजना नै बनाएर तीनवटा प्राथमिकताका क्षेत्र तयार गरी काम गर्दै आएको र त्यसमध्ये पहिलो प्राथमिकता कमला नदी नियन्त्रण छ । दोस्रोमा सामूहिक कृषि प्रणाली खेती र तेस्रोमा विद्युतीकरण छ । गुरुयोजनाअनुसार आर्थिक वर्ष २०७५÷७६ मा दुई करोड रुपियाँको टेन्डर गरी कमला नदीको दुवै किनार वडा नं. २ र ३ बाट करिडोर निर्माणको काम सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदी किनारमा आठ मिटरको टप रहने गरी २० मिटर चौडाइको बेस निर्माण गरेर तटबन्ध हुने छ । त्यही आठ मिटरमा सडक निर्माण गर्ने काम सुरु भएको छ । ”
नगरपालिका र प्रदेश ३ सरकारको समपूरक कोषबाट उक्त कार्य सुरु गरिएकोले कमला नदी नियन्त्रण कहिले सकिने ठेगान नभएको उहाँको भनाइ छ । “अर्बौं रुपियाँ बजेट चाहिन्छ, एक÷दुई करोड रुपियाँले दुई सय मिटर काम गरेर के प्रगति देखिन्छ”, प्रवक्ता राउतले भन्नुभयो, “अर्बाैं रुपियाँ चाहिन्छ, राज्यले ध्यान दिन सकेको छैन । सङ्घीय सरकारले सम्बोधन गरे मात्रै समस्या समाधान हुन्छ । ” यो वर्ष पनि दुई करोड रुपियाँ कमला नदी नियन्त्रणका लागि नगरपालिकाले छुट्याएको र बोलपत्र गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले तत्कालीन अवस्थामा कमला नदी नियन्त्रणमा सानोतिनो तटबन्ध निर्माण गरी काम भए पनि सरकारी कार्यालय समायोजनपछि जिल्लाबाट भू–संरक्षण कार्यालय हटाएर सिन्धुपाल्चोक पु¥याएसँगै पछिल्लो समय केही काम नभएको नगरपालिकाले जनाएको छ ।
“जल उत्पन्न कार्यालयले पटक–पटक आएर काम ग¥यो तर जहाँ पायो त्यहीँ तटबन्ध ग¥यो”, प्रवक्ता राउतले भन्नुभयो, “त्यसले गर्दा झन् विनाश बढ्यो, वैज्ञानिक रूपमा काम नगर्दा समस्या बढेको हो ।गोरखापत्र अनलाइन