भद्रपुर । पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीहरुलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुहरुलाई सास्ती हुने गरेको, फोहोर मैला बढेको कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए ।
मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजस्व गस्ती टोली काँकडभिट्टाको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० वटा गाडीलाई हटाइएको छ । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडीहरु पार्किङ हुँदै आएका थिए ।
यस अघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीहरुले यात्रु झार्ने वित्तिकै नाकाबाटै फर्किनु पर्ने र अटेर गरेमा कारवाही गरिने उनको भनाई छ । पर्यटन बर्ष नजिकिरहेको अवस्थामा नाकामा सवारी साधानको पार्किङलाई व्यवस्थित गर्न र अनाधिकृत रुपमा नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न यो अभियानको सुरुवात गरेको मेची भन्सार कार्यालयका प्रमुख धुव्रराज विश्वकर्माले बताए ।
उनका अनुसार ती सवारी साधानले भन्सारमा राजस्व तिरेर वा सुविधा लिएर दिनभर नेपाली भूभागतिर घुमे पनि साँझ भारत नै फर्कनुपर्नेछ ।loktantrapost