जाडोमा भक्का व्यापार फस्टाउँदै


गोविन ल्वागुन

झापा / वर्षेनी जाडो मौसम सुरु भए सँगसँगै भक्काको व्यापार पनि सुरु हुनेगर्छ । विशेषगरी तराईका जिल्लामा मात्र हुँदै आएको यो व्यवसाय केही वर्षयता पहाडी जिल्लामा समेत सुरु भएको छ । जाडो मौसममा बिहानीपखको खाजाका रुपमा लिइने भक्काको व्यापार पछिल्लोसमय जाडो अवधिभर साँझ पनि हुन थालेको छ । प्रत्येक वर्षको कात्तिक अन्ततिरबाट मध्य फागुनसम्म भक्का व्यवसाय फस्टाउने गरेको छ । चामलको पिठोबाट बनेको यो परिकार चिसो मौसममा सबैको रोजाईमा पर्न थालेपछि अहिले प्रायः ठाउँमा भक्का खानेहरुको घुईँचो देखिन्छ । गौरीगञ्ज घर भई हाल दमक ५ मा डेरा गरी बस्दै आएकी ममता राजवंशी बिहान उज्यालो नभई घरबाट बाहिर निस्किन्छिन् । हिउँदको कठ्यांग्रिने चिसोको पर्वाह नगरी ढाकीभरी चामलको पिठो टाउकामाथि राखेर दमक बजारका सडकको किनार खोज्दै उनको दिनचर्या सुरु हुन्छ । बजारमा भएमध्येको कुनै एक सडकको किनारमा उनले भक्काको व्यापार सुरु गर्छिन् । यहि व्यापारबाट आफ्नो दैनिक गुजारा चलाउँदै आएको उनी बताउँछिन् । भक्का बेचेरै राजवंशीले दैनिक करिब १ हजारदेखि २ हजार रुपैयाँसम्म कमाउने गरेको सुनाइन् ।

दमक मात्र नभई झापाका काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुङगालगायत मुख्य शहर बजारमा नभई गाउँबस्तीका चौक, गल्ली र बजारमा समेत भक्काको व्यापार दिनानुदिन बढ्दै गएको छ । पहिले–पहिले भक्का तराई समुदायका नागरिकले आफ्नो साँस्कृतिक परिकारको रुपमा खाने प्रचलन रहेपनि पछिल्लोसमय सबैको रोजाईँमा पर्न थालेको छ । पछिल्लोसमय विभिन्न चोक, बजारमा पाइने भक्काको व्यापार पनि फस्टाएको छ । भक्का खानकै लागि मानिसहरुको घुईँचो लाग्ने गर्छ । तुरुन्तै र तातो भक्का खान पाइने र खाएपछि शरीरमा स्फूर्ति मिल्ने भएकाले जाडोमा नियमित भक्का खाने गरेको स्थानीयहरु बताउँछन् ।

भक्का मिसावटरहित शुद्ध धानको चामलबाट मात्र बन्ने भएकाले पनि स्वास्थ्यका लागि लाभदायक भएको चिकित्सकहरु बताउँछन् । तर, अव्यवस्थित रुपमा सडकको पेटीमा बिक्री वितरण गर्दा बाहिरी फोहोरका कारण त्यसतर्फ ध्यान दिनुपर्ने भक्काका पारखीहरु बताउँछन् । यसबारे डा. शेखर कट्टेल भन्छन्–‘सके आफंै घरमा पकाएर खाउँ, नसके सफा स्थानमा भएको भक्का खाउँ ।’

भक्का तराईको पहिचान बनिसकेको छ । तर, यो व्यवयाय गर्नेहरुको अवस्था भने अझै पनि उस्तै छ । पछिल्लोसमय भक्काको व्यवसाय सडकको किनारमा मात्र नभई सुविधा सम्पन्न होटल तथा रेष्टुरेट एवं खाजाघरको थप परिकारमा पर्नाले भक्का अब कुनै जाति र समुदाय विशेषले मात्र गर्ने व्यापारमा सीमित छैन । तराईवासीले मात्र बनाउने र खाने यो खाजाको केही वर्षयता पहाडी मूलका समुदायले पनि व्यवसाय गर्न थालेका छन् ।janasamsadonline